काठमाडौं- प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरीको सफलता कानुन कार्यान्वयनमा मात्र सीमित नभई नागरिकको विश्वास जित्न सक्ने क्षमतामा समेत निर्भर रहने बताएका छन्।

उनले प्रहरी कर्मचारीलाई आफ्नो व्यवहार र कार्यशैलीबाट नागरिकमा विश्वासको वातावरण निर्माण गर्न निर्देशन दिएका छन्। सोमबार प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले प्रहरी सेवा निष्पक्ष, पारदर्शी र नागरिकप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिएका हुन्।


ADVERTISEMENT

# #


उनले बदलिँदो समय र अपराधका नयाँ स्वरूपअनुसार प्रहरी संगठनलाई प्रविधिमैत्री, दक्ष र व्यावसायिक बनाउँदै लैजानुपर्ने बताए। साइबर तथा डिजिटल अपराध, अन्तरदेशीय अपराध र विपद् व्यवस्थापनका चुनौती बढ्दै गएकाले प्रहरीको कार्यशैली र सेवा प्रवाहमा सुधार आवश्यक रहेको उनको भनाइ थियो।

आधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग गर्दा मानवअधिकार, कानुनी प्रक्रिया र व्यावसायिक विवेकलाई प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिए। प्रविधिको प्रयोगले प्रहरी सेवालाई प्रभावकारी र पारदर्शी बनाउनुपर्ने भन्दै उनले कानुन कार्यान्वयनका क्रममा बाह्य प्रभाव, व्यक्तिगत आग्रह र अनुचित दबाबबाट मुक्त रहन प्रहरी कर्मचारीलाई निर्देशन दिए।


ADVERTISEMENT

#
#


आईजीपी कार्कीले कानुनको पालना गराउनु मात्र प्रहरीको जिम्मेवारी नभएको उल्लेख गर्दै त्यसको कार्यान्वयन प्रक्रिया पनि निष्पक्ष, सम्मानजनक र जवाफदेही हुनुपर्ने बताए। प्रहरी संविधान र प्रचलित कानुनप्रति प्रतिबद्ध रहँदै व्यावसायिक रूपमा प्रस्तुत हुनुपर्ने उनको भनाइ थियो।

महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य संवेदनशील समूहसँग सम्बन्धित घटनामा विशेष संवेदनशीलता अपनाउनुपर्ने उनले बताए। नागरिकले प्रहरीको निर्णयप्रति असहमति जनाए पनि प्रहरीको व्यवहार निष्पक्ष र सम्मानजनक रहेको अनुभूति गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए।

‘नागरिकले प्रहरीको निर्णयसँग असहमति जनाए पनि प्रहरीको व्यवहार निष्पक्ष रहेको अनुभूति गर्ने वातावरण निर्माण गर्नुपर्छ,’ कार्कीले भने। उनका अनुसार प्रहरीको शक्ति कानुनले दिएको अधिकारमा मात्र नभई नागरिकले गर्ने विश्वासमा पनि निहित हुन्छ।