दमक– एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् ।


ADVERTISEMENT


स्थानीय दलालमार्फत गत चैत २० गते दुबई पुगेका ती युवाले भनेअनुसार काम नपाएपछि कमल–७ गेउरियाका निकेश मगर, निरज मगर, सुमन सुवेदी र हरि खड्का अलपत्र बन्न पुगेका हुन् ।


ADVERTISEMENT

# # #


काम नपाएपछि त्यहाँ खान र बस्न नै समस्या भएको पीडित युवाको भनाइ छ । ती सबै युवालाई झापा, गौरादह–१ का विक्रम राई र लालबहादुर गजमेरले दुबईको चकलेट फ्याक्ट्रीमा काम दिने भन्दै जनही रु. एक लाख ७० हजार असुलेर भ्रमण प्रवेशाज्ञामा विदेश पठाएका थिए । भनेअनुसार काम पाउन नसक्दा भोकै बस्नुपर्ने अवस्था आएको पीडित युवा निरज मगरले जनाएका छन् ।

सामाजिक सञ्जालमा आफ्ना पीडा राख्दै पीडित युवा निरजले जति छिटो उद्धार गरिदिन सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन्। उनले भनेका छन्, ‘यहाँ हामी एकै ठाउँमा कोचिएर भोकै बस्नु परेको छ । विदेशको सपना देखाएर हामीलाई यहाँ बिजोग बनाए । हामीलाई जतिसक्दो छिटो घर पठाउने व्यवस्था गरिदिनुपर्‍यो ।’

विदेश पठाउने प्रतिनिधिलाई भने पनि आलटाल गरिआएको सुमनकी आमा सविता सुवेदीको भनाई छ । उनले विदेशमा गएर मासिक कम्तीमा रु. एक हजार ड्राम्स पाउने भन्ने आश देखाई विदेश पठाएका हुन् । यता विदेश पठाउने दलालमध्येका विक्रम राईले भने अहिले तोकिए अनुसार काम दिलाउन नसकिएको तर अन्यत्र काम गर्न नमानेका कारण समस्या आएको तर्क दिएका छन् । रासस