काठमाडौं – फलफूल तथा तरकारीको स्वच्छता, सन्तुलित आहार र स्वस्थ जीवनशैलीबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले स्वास्थ्य तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ।
शुक्रबार कम्पनीको आयोजनामा काठमाडौंको नक्सालस्थित होटल होलिडे इनमा ‘ओजोनयुक्त पानीले धोएका फलफूल तथा तरकारीको महत्त्व’ विषयक कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्य प्रमुख अतिथि तथा समाजसेवी एवं व्यवसायी सुरबहादुर श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी भएका थिए । कम्पनीका अध्यक्ष विशाल हुमागाईंको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वास्थ्य क्षेत्रका चार जना विशेषज्ञले जनस्वास्थ्य, खाद्य स्वच्छता र स्वस्थ जीवनशैलीका विभिन्न पक्षबारे प्रस्तुति दिइएको थियो।
कार्यक्रममा छाला रोग विशेषज्ञ डा. मोहन भुसाल, मेडिकल अंकोलोजिस्ट तथा सहायक प्राध्यापक डा. समिम अख्तर, कन्सल्टेन्ट फिजिसियन तथा क्लिनिकल कार्डियोलोजिस्ट डा. रोशन कुमार झा र नर्सिङ इन्चार्ज आर.एन. रेणुका क्षेत्रीले आ–आफ्नो विशेषज्ञताका आधारमा स्वास्थ्यसम्बन्धी जानकारी प्रदान गरेका थिए ।
विशेषज्ञहरूले फलफूल तथा तरकारीको स्वच्छता कायम गर्ने उपाय, छालाको स्वास्थ्य, क्यान्सरको जोखिम न्यूनीकरण, मुटुको स्वास्थ्य र सन्तुलित आहारको महत्त्वबारे प्रकाश पारिएको थियो। साथै, फलफूल तथा तरकारीलाई उचित तरिकाले सफा गर्ने, स्वच्छ खाद्य उपभोगका अभ्यास अपनाउने र स्वस्थ जीवनशैलीलाई दैनिक व्यवहारमा उतार्ने विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार हरिवंश आचार्यले युवापुस्तामा कृषि क्षेत्रप्रति आकर्षण बढ्दै गएको देख्दा खुसी लागेको बताए। कृषि पेसामा युवाहरूको सक्रिय सहभागिताले यस क्षेत्रको विकास, आधुनिकीकरण र प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याउने उहाँको विश्वास थियो।
आचार्यले जनचेतनामूलक कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडसँग सहकार्य गर्न र कम्पनीका भावी कार्यक्रममा सहभागी हुन इच्छुक रहेको बताए ।
कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत ४० जना सञ्चारकर्मी तथा मिडिया प्रतिनिधिहरूको सहभागिता थियो। स्वास्थ्य विशेषज्ञसँग प्रत्यक्ष रूपमा अन्तरक्रिया तथा जानकारी आदानप्रदान गर्ने अवसरले कार्यक्रमलाई थप प्रभावकारी बनाएको आयोजकको विश्वास छ। सञ्चारकर्मीको सहभागितामार्फत खाद्य स्वच्छता, फलफूल तथा तरकारीको उचित सरसफाइ र स्वस्थ जीवनशैलीसम्बन्धी सन्देश व्यापक रूपमा नागरिकसम्म पुर्याउने अपेक्षा गरिएको छ।
कृषि क्षेत्रको विकास, कृषकको हित तथा स्वस्थ र गुणस्तरीय फलफूल तथा तरकारीको उपभोगसम्बन्धी जनचेतना अभिवृद्धिलाई प्राथमिकतामा राख्दै आएको कम्पनीले यस कार्यक्रममार्फत कृषि र जनस्वास्थ्यबीचको सम्बन्धलाई उजागर गर्ने प्रयास गरेको जनाएको छ।
कार्यक्रमले फलफूल तथा तरकारीको स्वच्छताबारे जनचेतना विस्तार गर्नुका साथै स्वास्थ्य विशेषज्ञ र सञ्चारकर्मीबीच ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गरेको छ। यस्ता कार्यक्रमले खाद्य स्वच्छताप्रति नागरिकको ध्यान आकर्षित गर्न, स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न र युवापुस्तालाई कृषि क्षेत्रप्रति प्रेरित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।



























