राँझा– बाँकेमा तीव्रगतिमा फैलिएको कोरोना भाइरस महामारीको सङ्क्रमण केही दिनयता घट्दै गएको छ ।


ADVERTISEMENT


यसअघि प्रयोगशाला रिपोर्टमा कोरोना सङ्क्रमण दर दैनिक रुपमा ७० देखि ८५ प्रतिशतसम्म पुग्ने गरेकोमा सोमबार शिक्षण अस्पताल कोहलपुर र बागेश्वरी ल्याबमा कूल ३६३ जनाको पिसिआर परीक्षण गर्दा १४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति तेज वलीले जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


कुल १४९ सङ्क्रमितमध्ये बाँकेका ४० पुरुष र ३५ महिला गरी ७५ जनामा सङ्क्रमण देखिएको उनले जनाएका छन् ।

सोमबार सङ्क्रमित हुनेभन्दा कोरोना जित्नेको सङ्ख्या धेरै भएको छ । ७५ जना सङ्क्रमित थपिँदा सोमबार १७५ पुरुष र १९० महिला गरी ३६५ जनाले कोरोना निको भएको स्रोतव्यक्ति वलीले बताए ।

उनका अनुसार, जिल्लामा संक्रमितको दर घट्ने क्रम देखिए पनि मृत्युदरमा भने यो लागु भएको देखिदैन । कोरोना सङ्क्रमणबाट बाँकेमा सोमबार मात्र १३ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाका १० र बाँकेका तीन जनाको मृत्यु भएको हो । बाँकेमा कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि जारी निषेधाज्ञा जेठ १० गतेसम्म थप गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको भनाई छ ।

गत वैशाख ९ गतेदेखि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको थियो । बाँकेमा कोरोना सङ्क्रमणका कारण २२५ जनाको अकालमै ज्यान गएको स्रोतव्यक्ति वलीले जानकारी दिए । उनका अनुसार, बितेको वैशाख महिनामा मात्रै १७२ जनाको मृत्यु भएको छ । यो अवधिमा दश हजार ११४ जना सङ्क्रमित भएका छन् भने छ हजार ४७० जना निको भएका छन् ।

बाँकेमा शुरुदेखि वैशाख मसान्तसम्ममा १५ हजार ७२ जना सङ्क्रमित भएकामा ११ हजार १७२ जना निको भएर घर फर्किसकेका छन् । रासस