काठमाडौं – नबिल बैंकले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लाई अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने भएको छ ।


ADVERTISEMENT


बैंकले अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गर्न वीर अस्पतालसंग सम्झौता गरेको छ । विर अस्पतालमा अक्सिजन प्लान्ट संगै केहि अस्पतालहरूलाई अक्सिजन कन्सन्ट्रेटर प्रदान गर्नलाई बैकले थप प्रकिया अगाडि बढाइसकेको छ । यो सबै गरेर बैंकले कोरोना रोकथाम र नियन्त्रणमा लगभग रु ८ करोडको सहयोग प्रदान गर्ने भएको छ ।


ADVERTISEMENT

# # #


यस बारेमा मंगलवार नबिल बैंक र वीर अस्पतालवीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी अनुसार नबिल बैंकले ५० क्युबिक लिटर÷प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गर्ने छ भने अस्पतालले आवश्यक स्थान उपलब्ध गराउने छ । कोरोनाको दोस्रो लहर तिब्र गतिमा फैलिदै जाँदा अस्पतालमा विरामीले अक्सिजन नपाएर ज्यान गुमाउनु परिरहेको अहिलेको विषम परिस्थितिमा नबिल बैंकले सरकारलाई सहयोग गरेको हो । यो प्लान्ट स्थापनाले अस्पताललाई आवश्यक अक्सिजन उपलब्ध गराउने र यसबाट धेरै विरामीको ज्यान बचाउन सकिने विश्वास बैंकको छ ।

बैंकले यसअघि चालु आर्थिक वर्षमा कोभिड–१९ नियन्त्रण एवं रोकथामका लागि सरकारलाई रु. ६ करोड नगद सहयोग गरेको छ । त्यसै गरी नबिल बैंकले सरकारी तथा विपद्मा काम गरेका विभिन्न संस्थासंग समेत साझेदारी शुरु गरेको थियो । जसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग सहकार्य गरी नेपालका सातै वटा प्रदेशमा स्वास्थ्यकर्मीका लागि स्वास्थ्य आपत्कालिन पूर्व तयारी सम्बन्धी अभिमुखिकरण सम्पन्न भएको छ । यस अन्तर्गत चालु आर्थिक वर्षमा सरकारी, गैरसरकारी र मानवीय कार्यमा संलग्न संस्थाका ३ सय ३० जना स्वास्थ्यकर्मीहरुलाई एक दिने अभिमुखिकरण दिइएको छ ।