राजविराज– लक्ष्मी पूजा र भाइटीका सकिएपछि सप्तरीसहित मिथिलाञ्चल र पहाड, हिमाल तथा तराई मधेशमा आजदेखि विधिवत्रुपमा छठपर्व शुरु भएको छ ।


ADVERTISEMENT


सप्तरीमा छठपर्व मनाउनका लागि धमाधम तयारी भइरहेको छ भने पूजा सामग्री किनमेलका लागि अहिले बजारमा निकै चहलपहल बढेको पाइएको छ ।


ADVERTISEMENT

# # #


चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन अर्थात् आज अरबा–अरबाइन, दोस्रो दिन खरना, तेस्रो दिन बेलुकी अस्ताउन लागेको सूर्य र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिई पूजा गरी छठ सम्पन्न हुने परम्परा छ ।

छठ पूजाका लागि आवश्यक पर्ने सामानलाई चोखो राख्न व्रतालुले विशेष रूपमा रेखदेख गर्छन् भने यस पर्वमा फलफूल, अदुवाको बोट, उखु, सुठुनी, पानी फल, नरिबल, बोडी, नाङ्लो, कन्या, ढकी, माटोको दियो र कराइ आवश्यक पर्ने भएकाले अहिले सदरमुकाम राजविराजलगायत विभिन्न बजारमा समान किनमेलको काम बजारमा भइरहेको पाइएको छ ।

जिल्लाको कञ्चनपुर, भारदह, हनुमाननगर, कल्याणपुर, रुपनी, वीरेन्द्र बजार, विसनपुर, बोदेवरसाइन, कदमहालगायतका बजारमा छठपर्वका लागि सामान किनमेल गर्ने व्रतालु महिलाको चहलपहल बढेको छ ।

पूर्णरूपमा शाकाहारी हुने यो पर्वमा ठकुवा, भुसुना, फलफूल र अन्य सामग्रीले विशेष महत्व राख्दछ । यस्तै, छठपर्व मनाउनका लागि विभिन्न जलाशय सजाउने कार्यसमेत शुरु भइसकेको छ ।

राजविराज नगरपालिका–१ स्थित भगवती पोखरी, वडा नं ३ का कल्टु दास पोखरी, सकलदेव दास पोखरी, तुरन्ती पोखरी तथा जिल्लाको कञ्चनपुर, भारदह, हनुमाननगर, जोगीनीया, सकरदही, रुपनी, कल्याणपुर र सप्तकोशी ब्यारेजसहित दर्जनौँ ठाउँमा घाट बनाएर भव्यतापूर्वक पूजापाठ गर्ने तयारी भइरहेको सकरदहीका प्रवेशकुमार यादवले बताए ।

हनुमाननगर कंकालनी नगरपालिका–१ भारदहस्थित कोशी ब्यारेजमा सप्तरी, सुनसरी, सिरहासहित सीमावर्ती भारतको विहार र सुपोल जिल्लाबाट समेत श्रद्धालु यहाँ छठपर्व मनाउन आउने गरेको र अहिले कोशी ब्यारेजमा घाट बनाउने र सजाउने कामसमेत भइरहेको यादवले जानकारी दिए ।

शुरुमा तराइवासीले मात्र मनाउने यो पर्व हिजोआज अन्य जाति एवं राजधानीलगायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएपछि सरकारले छठपर्वको अवसरमा सार्वजनिक बिदासमेत दिने गरेको छ ।

निर्धनता र निःसन्तान हुनुबाट मुक्ति पाउन एवं मानव जातिको उत्थान गर्न र आरोग्यका लागि यो पर्व मनाउने गरिन्छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ । आरोग्य र दीर्घायुसँग जोडिएको छठपर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्य पनि पाइन्छ ।

पर्वको पहिलो दिन चतुर्थीमा व्रतालु महिला एवं पुरुष नित्यकर्मपछि शुद्ध शाकाहारी खाना खान्छन् । यसलाई ‘नहाय खाय’ अर्थात् नुहाएर खानु भनिन्छ । यो दिन नुहाइ, धुवाइ, चोखो भई व्रतालु महिला एवं पुरुषले लसुन, प्याज नहाली कालो नून प्रयोग गरी खाना खाने गर्छन् ।

यस्तै, दोस्रो दिन पञ्चमीमा दिनभरि उपवास बसिन्छ, यस दिनलाई ‘खरना’ भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रती यो दिन दिनभरि उपवास बस्ने गर्छन् ।

खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । यो दिन बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलोमा र माटोकै नयाँ भाँडोमा सख्खर, दूध र चामलको खीर पकाइन्छ । सो खीर केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र चढाइसकेपछि व्रतीले प्रसादका रूपमा ग्रहण गर्छन् । परिवारका अन्य सदस्यले पनि यसलाई प्रसादको रूपमा ग्रहण गर्ने चलन रहेको छ ।

पर्वको तेस्रो दिन षष्ठी उपवास बसेका व्रतालु साँझपख जलाशयमा गई अस्ताउँदो सूर्यको पूजा गर्ने गर्छन् र चौथो दिन बिहान पुनः जलाशयमा गई उदाउँदो सूर्यको पूजा गरी छठ पर्व समाप्त हुन्छ ।

छठका लागि केराको किनवेचमा वृद्धि
आजदेखि शुरु भएको छठ पर्वका अवसरमा स्थानीय बजारमा केराको कारोबारमा वृद्धि भएको छ ।

छठपर्वमा केराको घरी अनिवार्य मानिएकाले केराको बिक्रीवितरणमा वृद्धि भएको हो । सदरमुकाम राजविराज, भारदह, बोदेबर्साइन, कञ्चनपुर, फत्तेपुर, हनुमानगरलगायतका बजारमा केराको कारोबार बढेको पाइएको छ ।

छठमा हरेकले केराको घरी किन्ने भएकाले व्यापारमा वृद्धि भएको केरा व्यापारी शिवचरण मण्डलले बताउनुभयो । बजारमा केरा किन्नेको भीड लागेको छ । प्रति केरा घरी रु दुई सयदेखि रु ५०० सम्ममा बिक्री भइरहेको छ । सप्तरीमा छठमा करिब रु एक करोडको केरा बिक्रीवितरण हुने गरेको व्यापारीको भनाइ छ ।

डोम समुदाय चोया बनाउन व्यस्त

यसैगरी, हिन्दू धर्मावलम्बीको महान् छठपर्व आजबाट शुरु भएसँगै सप्तरीको डोम समुदाय बाँस र बेतका चोया बनाउनमा व्यस्त रहेको छ ।

अहिले डोमसमुदायले भाँडाकुँडा बेचेर मनग्य आम्दानी गर्ने समय हो । छठपर्वमा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पु¥याउन डोम जातिलाई सकस भएको छ । ती सामग्री बनाउन भ्याईनभ्याई भएकोे छ ।

छठपर्वमा छठमाता तथा सूर्यदेवतालाई बाँस र बेतबाटै बनाइएका डालो, नाङ्लो र टालु टपरीमा अद्र्य दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच÷सातवटा बाँसका भाँडाकुँडा किन्नुपर्ने हुन्छ । राजविराजलगायतका विभिन्न ठाउँमा अहिले डालो, नाङ्लो र टालुटपरीलगायतका समान डोमसमुदाय विक्रीबितरण गर्नमा व्यस्त छन् । अरुणकुमार यादव/रासस