काठमाडौं – संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चारजनाबिरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्यायपरिषद्बाट सिफारिस चार जना बिरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।
सुनुवाइको कार्यविधि अनुसार १० दिनको सूचना जारी गर्ने निर्णय गरेको र सार्वजनिक माध्यमबाट आगामी कार्तिक ९ गते सूचना सार्वजनिक गर्न समिति सचिवालयलाई निर्देशन दिइएको समिति सभापति बोध नारायण श्रेष्ठले जानकारी दिए ।
केहि दिन अघि बसेको न्यायपरिषद् बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र उच्च अदालतका अन्य न्यायाधीशहरु चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।



























