गलेश्वर – बेनी अस्पतालमा उपचाररत जटिल समस्या भएका कोभिड सङ्क्रमितहरू निको हुने क्रम बढ्दै गएपछि अस्पतालमा बिरामीको चाप घट्दै गएको छ । एकसाता अघिसम्म सङ्क्रमितको चाप रहेको अस्पतालमा पछिल्लो दुई दिनयता बिरामीको सङ्ख्या विस्तारै घट्न थालेको अस्पताल विकास समितिले जनाएको छ ।


ADVERTISEMENT


चारदिन अघि १७ जना सङ्क्रमित भर्ना भएको आइसोलेसन कक्षबाट शुक्रबार पाँच डिस्चार्ज भएको स्वास्थ्यकर्मी दीपा खड्काले जानकारी दिइन् । ‘हाइफ्लो दिइरहेको एक जनाको अवस्था अलि गम्भीर छ, बाँकीको अवस्था सामान्य छु,’ खड्काले भभिन् ।


ADVERTISEMENT

# # #


अस्पतालमा केहीदिन अघिसम्म हाइफ्लो अक्सिजन दिनुपर्ने बिरामी बढेका थिए । आइसोलेसन कक्षमा उपचाररत सबै सङ्क्रमितमा श्वासप्रश्वासको समस्या थियो ।

होम आइसोलेसनमा बसेकामा शरीरमा अक्सिजन मात्रा कम भएपछि अस्पताल आएका बिरामीमध्ये जटिललाई मात्रै पोखरा रिफर गरिएको र धेरै बिरामी बेनी अस्पतालबाट नै उपचारपछि घर फर्र्किएका अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । जिल्लामा दैनिक सयको हाराहारीमा सङ्क्रमित थपिँदा बेनी अस्पतालमा पनि उपचारका लागि आउनेको चाप बढेको थियो ।

होम आइसोलेसनमै परामर्श सेवा

म्याग्दीमा कोरोना सङ्क्रमितलाई होम आइसोलेसनमै परामर्श सेवा दिन थालिएको छ । स्थानीय तहले सङ्क्रमितको मनोवल बढाउन नियमित भेट, परामर्श र औषधि वितरण गर्न थालेका हुन् ।

स्वास्थ्यकर्मीले नियमित रूपमा स्वास्थ्य सम्बन्धी परामर्श दिन थालेपछि सङ्क्रमण जित्न सहज भएको सङ्क्रमितहरूले बताएका छन् । जिल्लाका ६ वटै स्थानीय तहमा कोरोना सङ्क्रमितकै घरदैलोमा स्वास्थ्यकर्मीसहित जनप्रतिनिधि पुग्ने र परामर्श तथा औषधि वितरण गर्ने काम शुरु गरिएको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाका अनुसार सङ्क्रमितलाई घरदैलोमा पुगेर औषधि वितरण गर्ने, पल्स अक्सिमिटरबाट अक्सिजन नाप्न लगाउने, मनोवल उच्च राख्न परामर्श दिने लगायतका सेवा सञ्चालन गरिएको छ । गाउँपालिकाले अक्सिजनको लेबल कम भएकालाई कोभिड अस्पतालमा भर्ना गर्ने गरेको छ ।

घरदैलोमा पुगेर परामर्श, सल्लाह र औषधी वितरण गर्दा उनीहरुमा हौसला बढेको बेनी नगरपालिका १ का वडाअध्यक्ष टेकबहादुर रावलले बताए । ‘सङ्क्रमण पुष्टि भएपछि मानिसहरू धेरै आत्तिदा रहेछन्, यस्तो बेलामा मनोसामाजिक परामर्शले सङ्क्रमितलाई हौसला प्रदान गर्दो रहेछु,’ अध्यक्ष रावलले भने, ‘हामी नियमित सल्लाह र परामर्श प्रदान गर्ने कार्यमा लागेका छौं ।’

सङ्क्रमितको घरमा अरु सदस्यलाई रोग नफैलियोस् भनेर मास्क, सेनिटाइजरसँगै अक्सिजनको मात्रा जाँच्न अक्सिमिटर र ज्वरो नाप्न थर्मलगन लगायत स्वास्थ्य सामग्री पुर्‍याउने गरिएको बेनी नगरपालिका ३ भकिम्लीका वडाअध्यक्ष पदम पुनले बताए ।

मंगला गाउँपालिकाले सबै जनप्रतिनिधीहरुलाई क्षेत्र छुट्याएर सङ्क्रमितहरुको घरदैलोमा खटाएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए । ‘कसैलाई अस्पताल लैजानुपर्ने भएमा डाक्टरसँग परामर्श गर्छौँ,’ भुसालले भने, ‘दिनरात नभनी हामी घरदैलोमा छौँ ।’ उता उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकामा पनि सङ्क्रमितको अवस्था बुझ्दै आएको गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारीले बताए ।

उनले सबै स्वास्थ्य संस्था र वडा कार्यालयमा स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइएको बताउँदै वडा मार्फत सङ्क्रमितको घरसम्म स्वास्थ्य सामग्री पुर्‍याउने गरिएको जानकारी दिए । ‘सङ्क्रमितको घरमा हामी पुगेर टाढैबाट भेट्छौँ’, भण्डारीले भने, ‘औषधि र स्वास्थ्य सामग्री पनि दिन्छौँ ।’ भेटघाटले सङ्क्रमितलाई केही भए सरकार छ भन्ने हौसला हुने गरेको भण्डारीले बताए । कोरोना सङ्क्रमण जित्न मनोवल घटाउन नहुने, नियमित परामर्श लिनुपर्ने, व्यायाम र सन्तुलित भोजन गर्नुपर्ने स्वाथ्यकर्मीहरुले बताउने गरेका छन् । रासस