काठमाडौँ– टिम्बर कर्पोरेशन लिमिटेडले काठमाडौँ उपत्यकामा १४ हजार १९१ क्युफिट काठ वितरण गरेको छ ।


ADVERTISEMENT


भूकम्पले क्षति पुर्याएका घर, सम्पदा तथा सार्वजनिक संघसंस्थाको भवन निर्माणका लागि उक्त परिमाणमा काठ वितरण गरेको हो । हालसम्म काठमाडौँमा चार हजार ८६४, भक्तपुरमा आठ हजार १८४ र ललितपुरमा ६९८ क्युफिट काठ उपलब्ध गराएको कर्पोरेशनका महाप्रबन्धक राजु लौडारीले जानकारी दिनुए ।


ADVERTISEMENT

# # #


तीनवटै जिल्लामा सम्पदा निर्माणका लागि ४४४ क्युफिट काठ वितरण गरेको छ । कर्पोरेशनले गत जेठ २९ गतेदेखि उपत्यकाका भूकम्पपीडित तथा सम्पदा निर्माणका लागि काठ वितरण कार्य शुरु गरेको हो । विसं २०७२ माघ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्पपीडितका लागि काठ उत्पादन र व्यवस्थापन निर्देशिका–२०७२ लाई स्वीकृत गरेको थियो । तर काठ वितरणमा भने ढिलाइ भएको थियो ।

निर्देशिकाको परिच्छेद ५ को दफा ११ मा भूकम्पप्रभावित संरचनाका लागि काठ उपलब्ध गराउन, लगत तयार गर्न, आवश्यक काठ वन विभागसँग माग गर्न, काठ वितरण र सुरक्षाको व्यवस्था मिलाउन तथा काठ वितरणको अनुगमन गर्न भूकम्पप्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति रहने व्यवस्था गरेको थियो ।

कर्पोरेशनका महाप्रबन्धक लौडारी टिम्बर कर्पोरेशनले सबै जिल्लामा उपलब्ध गराउन नसक्ने अवस्था आएकाले काठ वितरण प्रक्रियामा ढिलाइ भएको बताउँछन्। “उपत्यका बाहेकका अरू जिल्लामा जिल्ला वन कार्यालयले भूकम्पपीडितलाई काठ उपलब्ध गराउनेछ,” उहाँले भन्नुभयो । टिम्बरले भूकम्पपीडितलाई प्रतिक्युफिट रु दुई हजार ७४० मा काठ उपलब्ध गराउँदै आएको छ ।

कर्पोरेशनले भूकम्पपीडितलाई भूकम्पको रातो कार्ड, नागरिकता, पुनःनिर्माण प्राधिकरणसँग भएको सम्झौता, जग्गाधनी प्रमाणपुर्जा र घर निर्माणको नक्सा हेरेर मात्र काठ उपलब्ध गराउँदै आएको छ । कर्पोरेशनले चालु आवमा एक लाख १५ हजार क्युफिट काठ भूकम्पपीडितलाई उपलब्ध गराउनेछ । अहिले कर्पोरेशनसँग भएको काठ भूकम्पपीडितलाई अपुग हुने लौडारीको भनाइ छ । कर्पोरेशनले कैलाली, कञ्चनपुर, नवलपरासी, चितवन, बारा, पर्सा, रौतहट, मोरङ, सुनसरी र उदयपुरबाट काठ ल्याउने गरेको छ ।