काठमाडौँ– अत्रात समूहद्वारा लगाइएको आगोबाट घाइते महिलालाई उपचारका लागि काठमाडौँ ल्याउन आज हेलिकप्टर डोटीतर्फ जाने भएको छ ।


ADVERTISEMENT


वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेको पहलमा आगोले जलेकी डोटीको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँ बस्ने २८ वर्षीया लक्ष्मी भाटको थप उपचार गर्न काठमाडौँ ल्याउनका लागि हेलिकप्टर जाने भएको हो ।


ADVERTISEMENT

# # #


घाइते भाट यही जेठ १२ गते बुधबार राति आफ्नै घरमा सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिले प्रज्वलनशील पदार्थ छर्केर आगो लगाउँदा जलेर गम्भीर घाइते भएकी थिइन् । उनको जिल्लामा उपचार गर्न सम्भव नभएपछि मन्त्री आलेको पहल तथा अर्थमन्त्री विष्णु पौडेल तथा गृहसचिव महेश्वर न्यौपानेको समन्वयमा निजलाई थप उपचारका लागि काठमाडौँ ल्याउन लागिएको हो ।

आगोले जलेर गम्भीर घाइते भएकी निज महिलाको सरकारी क्षेत्रबाट नै उपचार गर्ने गरी उद्दार गरिन लागेको मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिएका छन् । यसबारे विस्तृत जानकारी दिने क्रममा उनले भने, मन्त्रीज्यूले उपचारका लागि रु २५ हजार पनि प्रदान गर्नुभएको छ, अन्य उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।’

घाइते महिलाको थप उपचार गर्नका लागि काठमाडौँ ल्याउनका लागि अहिले काठमाडौँबाट मन्त्री आलेसहितको टोली नेपाली सेनाको हेलिकप्टरमा डोटी जाँदै तयारीमा रहेको छ । आगोले जलेकी निज महिलाको दिपायल राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

निज महिलाको कम्तिमा पनि ६० प्रतिशत शरीरको भाग आगोले जलेको उपचारमा संलग्न सुजङ अस्पतालका चिकित्सकहरुले जानकारी दिएका छन् । घटना घटे लगत्तै लक्ष्मीका श्रीमान् सन्तोष भाट भने फरार रहेको प्रहरीले जनाएको छ । श्रीमान् फरार रहेकाले उनले नै घटना घटाएको हुन सक्ने प्रहरीको अनुमान छ । रासस