श्रद्धा, भक्ति र सम्पूर्ण तराई मधेसको साझा सांस्कृतिक धरोहरका रुपमा रहेको छठ पर्व बिहीबार सूर्य भगवान र छठी माताको पूजा आरधना गरी मनाइदै छ । कात्तिक शुक्ल पक्षको चौठी तिथीदेखि विधिीवत रुपमा सुरु हुने छठ पूजा सप्तमी तिथिसम्म चार दिन मनाइन्छ ।


ADVERTISEMENT


मंगलबारदेखि विधिवत रुपमा सुरु भएको छठ पूजाको दोश्रो दिन पन्चमी अर्थात् बुधबारका दिनदेखि ब्रतालुले निर्जला ब्रत सुरु गरेका छन् । छठको दोश्रो दिन पञ्चमी तिथिको दिनलाई ‘खरना’ भनिन्छ । खरना परेको बुधबार ब्रतालु गाईको गोबरले लिपपोत गरी चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी दिनभर उपवास बसेका थिए । बुधबार साँझ नुहाएर चोखो भई आफ्नो कुल देवताको पूजा कोठामा माटोको नयाँ चुलो बनाएर त्यसैमा चामल र भेलीको खीर रसीआव तथा गहुँको रोटी प्रसादका रुपमा पकाएका थिए । उक्त प्रसाद अर्थात् रसीआव रोटी चन्द्रोदयपछि चन्द्रमालाई चढाएर पूजापाठ गरेपछि ब्रतालुहरुले प्रसाद ग्रहण गरेर बुधबार साँझदेखि निर्जला ब्रत सुरु गरेका हुन् ।


ADVERTISEMENT

# # #


खरनाको भोलि पल्ट अर्थात् बिहिबार परेको षष्ठी तिथिको दिन छठ पर्वको मुख्य दिन हो । यस दिनलाई सँझिया घाटे भनिन्छ । ब्रतालु बिहीबार दिउँसो नुहाइ धुवाइ गरी चोखो वस्त्र पहिरेर छठ पूजाका लागि नदी, पोखरी, ताल इत्यादि जलाशयमा तयार पारिएको छठीघाटमा जान्छन् ।
छठीघाटमा चोखो माटोले बनाइएको पूजास्थल सिरसोता छेउमा बसेर ब्रतालुले छठी माता र सुर्य भगवानसँग जोडिएका पारम्परिक गीत गाउँछन् । त्यसपछि बिहीबार साँझ पख अस्ताउदै गरेका सूर्य भगवान र छठी मातालाई ब्रतालुले जलशायमा पसी बाँसको चोयाबाट बनाइएको सुपली र माटोको ढकनीमा उखु, काँचो केरा, कागती, ठेकुवा, बोडी, अदुवाको बोट, स्याउ, जटा भएको नरिवल, भिजाएको केराउ, चामलको अक्षता, पातसहितको मूला लगायतका फलफुल र प्रसाद राखेर अर्घ (पूजा) दिन्छन् । सूर्य अस्तपछि ब्रतालुहरु छठी माताको पारम्परिक गीत गाँउदै आ-आफनो घर फर्किन्छन् ।

षष्ठीको भोलि पल्ट सप्तमी तिथिका दिन अर्थात् शुक्रबार बिहान झिमिसेमै ब्रतालु फेरि नुहाई धुवाइ गरी चोखो भइ पुजन सामाग्री र प्रसाद लिएर सूर्य नउदाउदै छठ घाटमा पुग्छन् । सिरसोता वरिपरि बसेर छठी माताको गीत गाउँदै उनीहरुले श्रीमान्, छोरा-छोरी र परिवारका सदस्यहरुको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको लागि छठी मातासंग अनुनय विनय गर्छन् ।
सप्तमी तिथिका दिन बिहान सूर्य उदाउनु भन्दा पहिले नै ब्रतालुहरु सुपली र ढकनीमा सजाएर राखिएको प्रसाद , फलफुल लिएर छठघाटको जलशायमा पस्छन् र सुर्य उदाउने क्रममा उनीहरुले सूर्य र छठीमातालाइ अर्घ दिन्छन् । सूर्यलाइ अर्घ दिएपछि छठघाटमै ब्रतालु महिलाले एक अर्काको नाकको टुप्पादेखि सिउँदो सम्ममा सिन्दुर लगाई दिन्छन् । त्यसपछि उनीहरु आ आफनो घर फर्किन्छन् । उदाउदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत रुपमा समापन हुन्छ । – आजको अन्नपूर्णबाट