काठमाडौं – चीनका लागि नेपालका प्रस्तावित राजदूत कल्याण राज शर्माले चीनबाट व्यावहारिक लाभ लिन सक्ने वातावरण बनाउन आफुले भूमिका खेल्ने बताएका छन् ।
सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समिति बैठकमा सुनुवाईका क्रममा शर्माले राजदूत पदको जिम्मेवारी पाएमा राजनीतिक विश्वास कायम राख्दै नेपाली नागरिक र नेपाल सरकारले व्यावहारिक लाभ लिन सक्ने वातावरण बनाउने मुख्य उद्देश्य रहने बताएका हुन् ।
उनले सार्वभौमिक समानता, पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व, आन्तरिक मामिलामा अहस्तक्षेप र नेपालको ’एक चीन’ सिद्धान्तप्रतिको प्रतिबद्धता दुईदेशबीचको सम्बन्धका मुख्य आधारहरू भएको धारणा राखे । उनले यसअघि भएका सम्झौताहरूको कार्यान्वयनमा निरन्तर ध्यान दिँदै नेपालको उत्पादन र पर्यटन विकासका लागि चिनियाँ बजारमा पहुँच विस्तार गर्ने र उत्पादनशील लगानी आकर्षित गर्न सहजीकरण गरिने उल्लेख गरे ।
सीमा तथा पारवहन व्यवस्थालाई भरपर्दो बनाउने, विपत् उत्थानशीलतामा सहकार्य प्रवद्र्धन गर्ने र नेपाली नागरिकलाई प्रभावकारी कन्सुलर सेवा उपलब्ध गराउने काममा प्रयासहरू लक्षित हुने उनको भनाइ छ ।
उहाले पारवहन सम्झौता अन्तर्गत चीनका चार समुद्र र तीन स्थल बन्दरगाहहरूलाई प्राप्त पहुँचमार्ग छिटो सुचारु गराएर नेपाललाई अन्तर्राष्ट्रिय ट्रेडमा जोड्नप्रयत्न गरिने समेत उल्लेख गरे ।



























