कैलाली – कैलालीको टीकापुर क्षेत्रमा कर्णाली नदी कटानले बर्सेनि सयौँ बिघा जमीन कटान गर्दछ । बर्खा लाग्न शुरु भएपछि यहाँका नागरिकलाई हरेक वर्ष नदी कटान तथा डुबानको त्रासले सताउँछ । यस वर्ष पनि तीव्र नदी कटानपछि कैलालीको टीकापुर नगरपालिकाका तटीय क्षेत्रका नागरिक त्रसित छन् । नदीमा पानीको बहाव बढ्न थालेपछि यहाँ कर्णाली नदीको कटान तीव्र हुँदा बस्ती तथा जमीन जोखिममा पर्ने गर्दछ ।


ADVERTISEMENT


कर्णाली नदीको कटानले टीकापुर–७ स्थित सत्ती कर्णाली सामुदायिक वनक्षेत्रमा २० बिघा जमीन कटान गरेको छ । नदीले बर्सेनि सामुदायिक वनको जमीन कटान गर्दै आएको छ । नदी कटान नियन्त्रणका लागि वनको उत्तरपूर्वी भागमा तटबन्ध निर्माणको काम भइरहेको छ । तटबन्ध निर्माण भइरहेकै क्षेत्रमा नदीले कटान तीव्र पारेको छ । “सामुदायिक वनको २० बिघा बढी जमीन कटान भइसकेको छ । यतिखेर नदीले कटान झन तीव्र पारेको छ”, वन समितिका अध्यक्ष धनसिंह साउदले भने, “जङ्गल तहसनहस भइसकेको छ । कर्णाली नदीमा तटबन्ध शुरु भएको छ वर्ष भइसक्यो, अहिलेसम्म सकिएको छैन । यसले झन कटान बढेको छ ।”


ADVERTISEMENT

# # #


अध्यक्ष साउद बर्सेनि तटबन्धका नाममा हुने उत्खननको काम सम्पन्न नगर्दा नदीले धार परिवर्तन गर्दै वन तहसनहस गर्न थालेको बताउँछन् । “तटबन्ध निर्माण कार्यमा दैनिक पाँच/छ जनामात्र कामदार काममा खटेका छन्”, उनले भने, “काम धमाधम गरे पो सकिन्थ्यो । तटबन्ध निर्माण कार्यले झन कटान बढाएको छ । जङ्गलको एउटा प्लट पूरै कटान भइसकेको छ । बेत जङ्गल नोक्सान भएको छ ।”

उनले तटबन्ध निर्माणका नाममा भइरहेको ढुङ्गा उत्खननले नदी कटान तीव्र पार्दा झन जोखिम बढेको आरोप लगाए । सामुदायिक वन क्षेत्रमा तटबन्ध कार्यको ठेक्का सिद्धि साइ कन्स्ट्रसनले लिएको छ । टीकापुर नगरपालिकाका प्रवक्ता तथा वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला वन क्षेत्रमात्र नभई नगरपालिकाको दौलतपुर, श्रीलङ्का, धनसिंहपुर क्षेत्र, सत्ती पुलसमेत जोखिममा रहेको बताए । “श्रीलङ्का बस्ती बर्सेनि दर्जनौँ विघा कटान हुँदै आएको छ । यस वर्ष त अझ हिउँदमा पनि कटान भएको छ । त्यहाँ नदीमा पानीको बहाव घट्दा बढी कटान भएको छ”, वडाध्यक्ष ठकुल्ला भन्छन्, “यस वर्ष बर्दियातर्फ तटबन्धको काम शुरु भएको थियो । बर्खा लागेपछि त्यो काम पनि शुरु हुन सकेको छैन । यस वर्ष बर्सातमा थप जोखिम बढ्ने देखिएको छ ।”

कैलाली जिल्लामा रानी जमरा कुलरिया सिँचाइ आयोजनाले कर्णाली नदी नियन्त्रणका लागि दर्जनभन्दा बढी ठाउँमा तटबन्ध निर्माणको काम गरिरहेको छ । निर्माण भइरहेका तटबन्ध कार्य ठेकेदार कम्पनीले समयमै निर्माण नगर्दा थप जोखिम बढेको वडाध्यक्ष ठकुल्लाको भनाइ छ ।

सात वर्षअघि कैलाली र बर्दिया जोड्न कर्णाली नदीमा निर्माण भएको सत्ती पुलसमेत नदी कटानका कारण जोखिममा छ । पुलको बर्दियातर्फ कटान तीव्र भएपछि पुल जोखिममा परेको हो । “बर्दियातर्फ कटान हुँदा छेउमा प्वाल परेको पुल बर्सेनि मर्मत गरेर टालटुल मात्र पारिएको छ । यो पुल भत्केमा बर्दिया र कैलालीको सम्पर्क टुट्ने अवस्था आउनेछ”, स्थानीयवासी शेरबहादुर साउदले भने, “हरेक वर्ष बर्खामा यहाँका नागरिकले नदी बस्तीमा पस्नबाट जोगाउन जैविक तटबन्ध गर्ने गरेका छन् । यसरी त्रासमा कति दिन यहाँ बस्न सकिएला रु”

हुलाकी राजमार्गअन्तर्गत पर्ने सत्तीघाट पुल निर्माण भएको पाँच वर्षसम्म निर्माण कम्पनीले मर्मत गर्ने गरेको थियो । अब निर्माण कम्पनीको सम्झौता म्यादसमेत सकिएको छ । “यही पुल पार गरेर हामी श्रीलङ्का ओहोरदोहोर गर्नुपर्छ”, स्थानीयवासी ललित बुढाले भने, “टीकापुर–८ र बर्दियाको राजापुर नगरपालिका जोड्ने पुलले बर्दिया र कैलाली मात्र नभई सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलाई जोड्ने गर्दछ, पुल जोखिममा रहेकाले अब आवतजावतमा समस्या हुने भएको छ ।”

तेह्र स्पानको ५३१ मिटर लामो पुलको किनारमा बर्सेनि तारजाली भासिदै गएको छ । बर्सातको समयमा नदीमा पानीको बहाव बढेलगत्तै तारजाली भासिने गरेको छ । रसुवा कन्स्ट्रक्सनले २०७१ सालमा निर्माण सम्पन्न गरेको पुल भासिदै जाँदा यहाँका नागरिकलाई बर्सातमा सधैँ तनाव हुने गरेको छ । रासस