ताप्लेजुङ – बुधबार दिउँसो जिल्ला अस्पताल ताप्लेजुङको परिसरमा कोरोना विरुद्धको खोप लगाएर निस्किएका वृद्धवृद्धाहरु हँसिलो अनुहारमा देखिए । मास्कले अनुहार ढाकिए पनि हँसिलो अनुहार परैबाट प्रष्ट देखिन्थ्यो । कोही बसेरै हाँसीखुसीका साथ एकआपसमा भलाकुसारी गरिरहेका थिए त कोही घर फर्किने तरखरमा देखिन्थे ।


ADVERTISEMENT


“खोप लगाइसकेपछि कस्तो लागिरहेको छ रु” भनेर सोध्दा फुङलिङ नगरपालिका–२ का ८० वर्षीय टीकाराम गुरुङको जवाफ थियो, “कस्तो लाग्छ र, अब बाँचिन्छ होला नि, खोप लगाइहालियो, राम्रै त होला ।” यतिकैमा उाीसँगै बसेका ८१ वर्षीय डम्बर गुरुङले भने, “खोप लगाउन पाइयो, मनमा सन्तोक भयो, अब बिरामले भेट्दैन होला ।”


ADVERTISEMENT

# # #


फुङलिङ–४ की ८४ वर्षीया सुकरानी लिम्बूले पनि खोप लगाएपछि आफूलाई ढुक्क लागेको बताए । “खोप लगाएपछि ढुक्क लागिरहेको छ, अब त बाँचिएला नि त, खोप लाएपछि कोरोना आउँदैन भन्छन्”, उनले भने । यसरी उनीहरु मात्रै नभई खोप लगाएका सबै वृद्धवृद्धाले ढुक्क लागेको भन्दै सङ्क्रमणले नभेट्ने विश्वास भएको बताए ।

ताप्लेजुङमा बुधबार वृद्धवृद्धासहित २८६ जनाले कोभिड–१९ विरुद्धको भेरोसेल पहिलो खोप लगाएका छन् । वृद्धवृद्धा, सुरक्षाकर्मी, पहिलो चरणमा छुटेका सञ्चारकर्मीलगायतले खोप लगाएको जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले जानकारी दिए । आज पनि जिल्ला अस्पतालको खोप केन्द्रबाट खोप लगाइने उनको भनाइ छ ।

खरेलका अनुसार आइतबार फुङलिङ नगरपालिकाअन्तरगतका दोखु, फुरुम्बू, हाङ्देवा र फावाखोलामा रहेका स्वास्थ्य संस्थाबाट खोप लगाउने कार्यक्रम छ । यो पटक ताप्लेजुङमा एक हजार ८५१ जनालाई कोरोना विरुद्धको भेरोसेल खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

चीनसँगको सीमा जोडिएका क्षेत्रका बासिन्दालाई समेत भेरोसेल खोप लगाउने भनिए पनि तत्कालका लागि त्यहाँका सबैलाई नपुग्ने देखिएको जनाइएको छ । खोपको मात्रा नपुग्ने भएपछि कोरोना खोप व्यवस्थापन तथा अनुगमन समितिको बैठकले प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयमा थप मात्रा माग गर्ने निर्णय गरेको बताइएको छ । यहाँ १४ हजार २०४ ले पहिलो कोभिडसिल्डको खोप लगाएका छन् । पहिलो र दोस्रो दुवै मात्रा लगाउने ९७८ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । रासस