धनुषा– पोखरीमा डुबेर पाँच बालिकाको एकैपटक मृत्यु भएका परिवारलाई प्रदेश नं २ सरकारले राहतस्वरूप रु एक/एक लाख दिने घोषणा गरेको छ ।


ADVERTISEMENT


सरकारका तर्फबाट प्रदेश नं २ सरकारले मृत्यु भएका पाँच बालिकाका परिवारलाई राहतस्वरूप प्रतिपरिवार रु एक लाख दिने घोषणा गरेको नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री रामसरोज यादवले जनाएका हुन् ।


ADVERTISEMENT

# # #


मन्त्री यादव निर्वाचित धनुषाको क्षेत्र नं ३ भित्रै घटना भएको पालिका हो । उनले प्रादेशिक अस्पतालमा मृतक बालिकाको शव परीक्षणपश्चात परिवारलाई जिम्मा लगाउने समयमा अस्पताल पुगी पिडित परिवारजनलाई शनिबार भेटेर समवेदना प्रकट गर्दै राहत रकमको घोषणा गरेका थिए ।

त्यसैगरी क्षेत्र नं ३ कै सङ्घीय सरकारमा नेकपा एमालेको तर्फबाट समानुपातिक सांसद तथा निर्वतमान महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीसमेत रहेका जुली महतोले गाउँमै पुगेर पीडित परिवारहरुसँग भेटघाट गर्दै व्यक्तिगत तर्फबाट पाँच परिवारलाई प्रतिपरिवार किरिया खर्चस्वरूप रु १० हजारसहयोग गरेकी छन् ।

महतोले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै पीडित तथा शोकाकुल परिवारजन र गाउँवासीप्रति समवेदना प्रकट गर्दै भनिन्, ‘मैले यहाँका जनप्रतिनिधि, प्रहरी प्रशासनसहित प्रदेश सरकारसँगसमेत क्षतिपूर्तिका लागि आग्रह गरेकी छु ।’

यसअघि उक्त क्षेत्रबाट निर्वाचित सांसद तथा नेपाल सरकारका उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतो, नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले विज्ञप्ति तथा समाजिक सञ्जालमार्फत शोक सन्देश जारी गरी घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि तथा शोकाकुल परिवारजन र गाउँवासीप्रति समवेदना प्रकट गरेका थिए ।

धनुषाको दक्षिणी सीमावर्ती मुखियापट्टि मुसहरनिया गाउँपालिका–६ स्थित पोखरीमा डुबेर स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पूर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी र उतिम साह तेलीकी १२ वर्षीया नातिनी ललिताको मृत्यु भएको थियो ।

मृतक पाँचै जनाको शव परीक्षणपश्चात गाउँ लगेर अन्तिम संस्कार गरिएको छ । गरिब विपन्न परिवारका बालिकाहरुको एकै ठाउँमा एकैपटक मृत्यु हुँदा अहिले गाउँ शोकमा डुबेको छ । रासस