– बिपी बडाल

श्रेयान स्वधर्मो विगुण: पर धर्म्यात्स्वनुष्ठितात
स्वधर्मे निधनम श्रेय: परधर्मो भयावह: (३.३५ )


ADVERTISEMENT

# # #


मेरो धर्म मेरो देशप्रेम हो । मेरो प्रेम संसारकै उच्च प्रेम हो । मेरो देश, मेरी आमा हुन् । मेरो देश, मेरी प्रियसी हुन् । कसैले मेरो देशमाथि गिद्दे नजरले हेर्यो भने पनि ती नजर झिकिदिन्छु । मेरो देशलाई म असीम माया गर्छु । मेरो देश प्रतिको निष्ठा, विश्वास, र अगाध प्रेम नै मेरो राष्ट्रियता हो । म जस्तै तीन करोड नेपालीको भावनाको एकीकृत समग्र प्रेम नै  नेपाली राष्ट्रियता हो ।

पौराणिक कालमा वाल्मिकी ऋषिले चितवन त्रिवेणीमा बसेर वाल्मिकीय राममायणको सिर्जना गरेका थिए । उक्त वाल्मिकीय रामायणमा लेखिएको छ, “जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी” – जन्मभूमि स्वर्ग भन्दा पनि उच्च हुन्छ । मलाई मारेर स्वर्ग देख्नु छैन तर मेरो मातृभूमि स्वर्ग झैं भएको देख्नु छ । उक्त रामायणकी प्रमुख पात्र, राजा शिरध्वज – जनककी पुत्री जानकीको त्याग, देशप्रेमको एउटा सुन्दर नमूना थियो । सम्पूर्ण दक्षिण भरतमा, नेपाली ज्ञान र सभ्यताको प्रचार-प्रशार गर्नु नै उनको राष्ट्रप्रेम – राष्ट्रियता हो । कृष्णद्वैपायन व्यास द्वारा तनहुँ जिल्लाको व्यास नगरपालिकाबाट निर्मित वेद, पुराण, र उपनिषदको ज्ञान फैलाउनु नै उनको राष्ट्रिय धर्म थियो । हरिततारा भृकुटीले नेपालमा उत्पन्न भएको, भगवान बुद्धले प्रतिपादन गरेको विश्व शान्ति र करुणाको प्रतिक बुद्धमार्गको प्रचारप्रसार गर्नु उनको राष्ट्रिय धर्म थियो । दक्षिण लंका भारत, उत्तर चीन तिब्बतमा नेपालको नाम र यश फैलाउने महान देवीहरु हाम्रा विभूति हुन् । वेदमार्ग र बुद्धमार्ग, कर्म र प्रेम नै सम्पूर्ण धर्मको सार हो। वेद र बुद्ध नै हाम्रो राष्ट्रियता हो । व्यास ऋषि र गौतम बुद्ध नै हाम्रा राष्ट्रियताका पौराणिक अधार हुन् । मुक्ति, भातृत्व, मृत्यु र आस्था नै राष्ट्रियता हो । वेदमा राष्ट्र र राज्य वीच कुनै भिन्नता छैन, सुसंस्कृत र सुशासित राष्ट्र नै राष्ट्रियता हो । त्यसैले नेपाल वैदिक देश हो ।

सामाजिक र सांस्कृतिक रुपमा, नेपाल भन्नाले पूर्वमा कामाख्या, दक्षिणमा ब्रह्मपुत्र, गंगा, र सतलज नदी, पश्चिममा काश्मिर, र उत्तरमा कैलाश मानशरोवर – कुत्तिसम्म फैलिएको भूभाग र यस भूभागभित्र अवस्थित संस्कृति र सभ्यता नेपाली हुन् । यो भूगोल भित्रको राष्ट्रियता सामाजिक र सांस्कृतिक रुपमा नेपाली राष्ट्रियता हो ।  सम्राट समुंद्रगुप्तको इलाहावाद स्थित शिलालेखमा नेपालको पूर्वी सिमाना कामरु, कामक्ष, दक्षिणी सिमाना पाटलीपुत्र, कतूर र पश्चिममा उधमपुर भनेर व्यख्या गरेको छ। आशाम, दार्जिलिङ, सिक्किम, हिमान्चल प्रदेश, उत्तरा खण्ड गंगा सतलज उत्तरतिर नेपाली भाषा, लवज, संस्कार र संस्कृति पाइन्छ । तत्कालीन नेपालको भूभागभित्र पर्ने पश्चिमको हालको उत्तराखण्ड, हिमाचल प्रदेश राज्यका साथै साना, साना पञ्जाबी पहाडी राज्यहरूका सतलज नदी र त्यसको पारी सम्मका भूभाग कांगडासम्म, पूर्वतर्फ सिक्किम, दार्जिलिङ, समेटने भूभाग जसको क्षेत्रफल ३,३४,२५० वर्ग किमी थियो । हाल नेपालको क्षेत्रफ़ल् १,४७,१८१ वर्ग किमी छ । राजनैतिक भूगोल राजनैतिक विषय हो भने राष्ट्रियता सिमा र भूगोल भन्दा धेरै अगाडी हुन्छ । धर्म र संस्कृति हाम्रो सम्बन्धका सूत्रहरु हुन् । राजनैतिक रुपमा राष्ट्रवाद र बहुराष्ट्रवादले हाम्रो राष्ट्रियतालाई जोड्न सकिन्छ । राष्ट्रवाद भनेको राज्य संचालन गर्ने नीति नियम पद्धति तथा सिद्धान्त हो भने राष्ट्रियता, राष्ट्रिय एकता हो । वीरभद्र, बलभद्र, भक्ति थापा, अमरसिंह थापाका वीरताका गाथा, योगदान पनि राष्ट्रियता नै हो ।

आधुनिक नेपालको कुरा गर्दा नेपालको एकीकरण र पृथ्वीनारायण शाहको योगदानको चर्चा आवश्यक छ । कुनैपनि ऐतिहासिक शासकको चर्चा गर्दा तत्कालीन समयको आर्थिक, सामाजिक, र राजनैतिक अवस्थाको पनि चर्चा गर्नु जरुरी हुन्छ । उक्त समयमा हामी सबै हालका राउटे जस्तै (जंगलमा, कविला-कविलामा बस्ने ) मान्छे मात्रै थियौं । जसले युद्ध जिथ्यो उसैको राज्य हुन्थ्यो । नियम, कानुन, शिक्षा, जागरण, केहि पनि थिएन । जनसंख्या पनि थिएन । यी सबै राजा रजौटालाई जितेर गोर्खा साम्राज्य निर्माण गर्नु चानचुन कार्य थिएन । भौगोलिक राष्ट्रिय एकता, नेपालको  एकीकरण, संस्कृतिलाई आत्मसाथ गर्नु, खस भाषा र गोर्खा साम्राज्यको निर्माण, विभिन्न जात-जाति,भाषा-भाषी,धर्म-धर्मालम्बी,समुदाय र सम्प्रदायलाई एकताको शूत्रमा आवद्ध गर्नु, नै उनको समयको उत्कृष्ट राष्ट्रियता थियो । चार जात छत्तीस वर्णको साझा फुलबारी बनाउन खोजेको हो । चीन र भारत संग सम दूरीमा आफ्नो देश स्थापित गराउनु उनको ठुलो राष्ट्रिय योगदान हो । त्यसपछि भीमसेन थापा र जंग बहादुरको राष्ट्रियताको योगदान पनि उल्लेखनीय नै छन् ।

नेपालमा राजनैतिक राष्ट्रियतामा समस्या राणाकाल देखि नै शुरु भएको पाइन्छ । राणाहरु नेपाललाई नेपाल भन्न चाहन्थे भने साहहरु आफ्नो गोर्खा साम्राज्यको गौरव गाथा देखाउने गर्दथे । जंगबहादुर पछी राणाहरुमा धेरै विचलन आएको पाइन्छ । राणा शासनको अन्त्य गर्न त्रिभुवनले भारतसंग (नेहरु) धेरै वार्तालाप गरे, बिपी कोइरालाहरुलाई आर्थिक सहयोग गरे, ६ महिनासम्म सपरिवार दिल्ली गएर बसे । उक्त अवसरमा नेहरुले भारतको सिमाना हिमालय सम्म भन्न पनि भ्याए । २००७ सालमा प्रजातन्त्र त आयो तर आन्तरिक सत्ता गिराउन बाह्य शक्ति प्रयोग गरियो । उनले गरेको  जनताको शासन -प्रजातन्त्रको लागि गरेको योगदान, बिपी तथा पुष्पलालको मेहेनत राष्ट्रियताको उच्चतम नमूना मान्न सकिन्छ ।

दलहरुमा आजसम्म पनि अनुशासन देखिएन । अनुशासन हिनता, घमण्ड, ईर्ष्या, दादागिरी, तुच्छ बोली, गैर-जिम्मेवारी नै हरेक दलका समस्या हुन् । त्यसैले २०१७ सालमा प्रजातन्त्र गुम्न पुग्यो । पञ्चायती प्रजातन्त्रको उदय भयो । विकासको लागि पञ्चायती व्यवस्था उत्कृष्ट नमूना नै थियो तर राष्ट्रियता भूगोलमा मात्र सीमित थियो । वीरता गाउनु, एक भाषा र एक भेष, एक  भूगोल, नै पञ्चायती राष्ट्रियता थियो । यसका विरुद्ध  “राष्ट्र भनेको भूगोल होइन जनता हो, राष्ट्रियता माटो होइन, जनताको सामूहिक भावना (विचार) हो।” – वी.पी. कोइराला । गलत कोहि थिएन तर दुवै एक अर्कालाई कम्जोर देखाउने होडबाजीमा थिए । बिपीको विचारमा  जनताको सामूहिक विचार, जनता,  र विदेशी षड्यन्त्रहरूलाई विफल तुल्याउनु, नै समग्रमा  राष्ट्रियता थियो । २००७ सालको प्रजातन्त्रसंगै क्याबिनेट सम्म पुगेको भारतीय हस्तक्षेपको शृङ्खला र सुरक्षा संवेदनसिलताको नाउँमा नेहरु डक्टरिनलाई आधार बनाइ हिमालको काखसम्म पुगेका  भारतीय सैनिक हटाउने कार्य गरी राजा महेन्द्रले राष्ट्रियताको मुद्दा गम्भीर रूपमा उठाएको देखिन्छ ।

राजा विरेन्द्रको नेपाललाई विश्वको शान्ति क्षेत्र बनाउने प्रस्ताव उत्कृष्ट राष्ट्रियताको नमूना थियो । शान्तिका आग्रदुत गौतम बुद्धलाई भारतले नेपालको हो भनेर खुलम खुल्ला भन्न सकेको थिएन । यो प्रस्ताव भारतलाई मन परेको थिएन । पञ्चायत फाल्न भारतले फेरी कांग्रेस र वामपन्थीलाई सहयोग गर्ने वचन दियो र मरिचमान शिंहको पालामा नाकाबन्दी लगाइयो । १९९० को समय पूँजीवादी र साम्यवादीहरुको आस्थाको लडाईंको समय थियो । बर्लिनको पर्खाल ढलेको थियो र सोभियत संघ २० टुक्रा भएको थियो । नेपालमा खाँटी कांग्रेस र खाँटी कम्युनिष्टको विगविगी थियो । भारतको सहयोगमा २०७४ सालको संविधान पनि लागू गरियो । अमेरिकामा ट्रम्पको विजय देखी बेलायतको इयुदेखि अलगिने निर्णय सम्म र भारतमा मोदीको उदयदेखि चीनमा सि जिन्पिङले अर्को कार्यकालको नेतृत्व प्राप्त गर्ने घटना सम्ममा त्याहाका जनताको राष्ट्रियताको भावना प्रतिबिम्बित भएको पाइछ। केपी ओलीको जित पनि भारतको नाकाबन्दी विरुद्ध देखाएको चट्टानी राष्ट्रियता नै थियो तर अहिले …। नेपालको विविध विविधता र विविधतालाई एकतामा जोड्ने सबै संयन्त्रहरु नेपाली राष्ट्रियताका आधार हुन। तर कांग्रेस र कम्युनिष्टको निर्देशनात्मक शिद्धान्त नै राष्ट्रियता विरोधि छन् ।

डेजमन्ड एमपिलो टुटुले भने झैँ , “युरोपियन मस्नरिज बाइबल बोकेर अफ्रिका छिरे । अफ्रिकीलाई बाइबल थमाए । भने, ‘आँखा चिम्लेर प्रार्थना गर, ईश्वरले कल्याण गर्नेछन् ।’ आँखा खोल्दा उनीहरूको हातमा बाइबल थियो, देश थिएन ।“ १९९० को कांग्रेस भनेको पूँजीवाद स्वीकार गरेको पार्टी हो । पूँजीवादले पूँजीको सुरक्षा, विकास, र फैलावटमा विश्वास राख्दछ । व्यक्तिगत स्वतन्त्रता, मानव अधिकार, वाक स्वतन्त्रता, भयमुक्ति पूँजीवादको प्रमुख मार्ग दर्शन हो । राष्ट्रियताको कुरा नै हुँदैन । खुल्ला बजार अर्थतन्त्रमा राज्यको उपस्थिति सुन्य हुनु पर्दछ । तर, कांग्रेसले राष्ट्रियता र प्रजातन्त्र भनेर राष्ट्रियता माथि राजनीति गर्यो । राष्ट्रियता भन्दै निजीकरण गर्दै गयो । अर्को तिर झस्किएका कम्युनिष्टलाई आफ्नो वर्चस्व देखाउनु थियो । कम्युनिज्ममा राष्ट्रवाद र राष्ट्रियता  हुनु हुँदैन । कम्युनिस्टहरु त सैधान्तिक रुपमै राष्ट्रियता भन्दा वर्गसंघर्ष लाई महत्त्व दिन्छन। राज्य विहिन समाजको परिकल्पना गर्ने कम्युनिस्टहरुको अन्तिम लक्ष्य साम्यवाद हो । विश्वका कम्युनिष्ट एक हौँ भन्ने कम्युनिष्टहरु नेपाली राजनीतिमा राष्ट्रियताको वकालत गर्न थाले । विश्वका मजदुर एक हुन राष्ट्रियताको भावनाविरुद्ध मजदुरहरू एक हुनुपर्ने धारणा, विश्व व्यवस्था नै कम्युनिस्टको मार्ग हो । तर वर्गीय राजनीति गर्ने कम्युनिस्टहरुले नेपालमा जातीय राजनीति मात्रै गरेनन भारतकै प्रत्येक्ष परोक्ष संरक्षणमा राष्ट्रिय स्वाधीनता र जनताको मुक्तिको लागी भन्दै जनयुद्ध नै संचालन गरे जसवट हजारौं सर्वसाधारण नेपालीले ज्यान गुमाउन पर्‍यो। अमेरिकी रास्ट्रपति जोन एफ. केनेडी ले भनेका थिए – “जसले बाघ चड्ने रहर गर्छ, त्यसको अन्त्य बाघको पेटमा हुन्छ ।” समृद्ध नेपाल सुखी नेपाली भन्दै देशलाई यो अवस्थामा पुर्याए । न धर्म छ, न सीता छिन्, न बुद्ध छन्, न भृकुटी नै । छ त धर्म निरपेक्षता छ, सात टुक्रामा विभाजित मुलुक छ । नेपालमा भने राजनीतिक दल र तिनका नेताहरूको लागि राष्ट्रियता जोगिको मागिखाने कमण्डलु बनेको छ। गिरमिटियाहरू जसरी भारतबाट फिजी पुगे त्यस्तै गरी नेपालमा नागरिकता विधेयक र बहुमत मधेशीमूलको मन्त्रिमण्डल सरकारमा पुगेको छ ।

असार ५, २०७७को कान्तिपुरमा उमेशप्रसाद मैनाली लेख्छन्- देशप्रेम, भौगोलिक अखण्डता, भावना, यथार्थ , गौरव, स्वाभिमान, सांस्कृतिक सम्मिश्रण, सामाजिक एकीकरण, साझा सरोकार, स्व-चेतन, पंचशील, र गौतम बुद्ध, नै  समग्रमा  नेपाली राष्ट्रियता हो । यसैगरी, गोपाल शिवाकोटी, मङ्सिर १८ २०७६मा यार्सा निउजमा  लेख्छन्, बहुराष्ट्रवाद, एकत्वको भावना, सामाजिक एकता, राष्ट्र र समाज जोड्ने काँचो धागो, जन्म र जातिबाट बनेको मानिसहरूको समुदायको एकता नै राष्ट्रियता हो । आखिरीमा एक अर्कोको भावना बुझ्ने प्रेमभाव नै राष्ट्रियता हो । वेणुप्रसाद अधिकारी, पूर्वाञ्चल. कम मा  १९ आश्विन २०७७, सोमबार, लेख्छन्-विश्वास वा भावना, आत्मिक र आन्तरिक, राष्ट्रप्रतिको समर्पित भावना, एकानुभूतिको बोध नै राष्ट्रियता हो । केशव सिलवाल, मूल्यांकन अनलाईन २०१५ अक्टोबर ८ मा लेख्छन् दिमागमा सीमाबद्ध, सार्वभौम र आत्मीय समुदाय, सामूहिक स्वत्वसँग जोडिएको अहम्, उच्चतम एकताको भावना, समुदायको मुक्ति, र  आन्तरिक रूपमा हामी सबै एकजुट हुनु नै राष्ट्रियता हो । राजनैतिक प्रणाली राष्ट्रवाद हो । नेताहरु चुनाव जित्छन् आउँछन् फेरी जान्छन्, अर्को सत्ता आउँछ । सामूहिक एकतामा जोडिएको स्थाई प्रेम नै राष्ट्रियता हो ।

विनोद पौडेल, २०७२ साउन ७ गते अनलाइनमा लेख्छन्, सुन्दर नेपालको कल्पना गर्दै नेपाल एक हुनुपर्छ भन्नु नै नेपाली राष्ट्रियता हो । यसैगरी ओम प्रकाश निरौला, चिनारी पोष्ट भाद्र १४,२०७५मा लेख्छन कि भूगोल र जनताको एकता, बाह्यशक्तिको विरुद्ध आन्तरिक मुकाबिला नै नेपाली राष्ट्रियता हो । आखिर जात धर्म वर्ण लिंग जे भएपनि आन्तरिक एकता जरुरी छ । यहि आन्तरिक एकता नै राष्ट्रियता हो । जात जाति, भाषाभासी बिचको अटुट प्रेम नै राष्ट्रियता हो । नेपालको संविधानको धारा -३ अनुसार नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रियहित तथा सम्वृद्धिप्रति आस्थावान रही एकताको शूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भने यो भावना नै राष्ट्रियता हो । राष्ट्रियता राजनैतिक खिचातानी होइन । राजनीति भन्दा धेरै उच्च पवित्र एकता र प्रेमको भावनात्मक सम्बन्ध नै राष्ट्रियता हो ।

नेपालको धर्म त छैन । तर, नेपाली राष्ट्रियता मेरो धर्म हो । अरुको राष्ट्रियता जस्तो सुकै होस् मेरो लागि भयावह नै हुन्छ । मेरो देश, मेरो सभ्यता, मेरो संस्कृति, मेरा दाजुभाई, मेची, कोशी, गण्डकी, कर्णाली, महाकाली, अझै पारिका नेपाली, मेरो वेद, मेरो बुद्ध, मन्दिरै मन्दिरको देश, हिमाल, पहाड तराईका सयौं थुंगाफुलका, नेपाली मनका अर्थपूर्ण हार्दिक एकता नै नेपाली राष्ट्रियता हो । नेपाली राष्ट्रियता नै मेरो धर्म हो ।

जय जय नेपाल !

प्रतिकृया

प्रतिकृया