इन्डोनेसियाको एउटा पटाका कारखानामा बिहीबार विस्फोटन हुँदा करिब छयालिस जना व्यक्तिको ज्यान गएको र सोही संख्या बराबरको व्यक्ति घाइते हुनपुगेको तथा अन्य १० जना हराइरहेको स्थानीय सञ्चार माध्यमले जनाएको छ।


ADVERTISEMENT


राजधानी जाकार्ताको पश्चिममा पर्ने तान्जेरांगस्थित एउटा औद्योगिक परिसरमा स्थानीय समयअनुसार बिहान नौ बजे आगलागी शुरू भएको थियो। तान्जेरांग कोटाका प्रहरी प्रमुख ह्यारी कुर्नियावानले आगो नियन्त्रणमा आइसकेको र भग्नावशेषबाट शव निकाल्ने काम भइरहेको तथा छयालिसवटा लाश निकालिसकेको एएफपीलाई बताएका छन्। फोरेन्सिक अधिकारीहरु घटनास्थलमा पुगिसकेका छन् भने घाइतेहरुलाई तीनवटा अस्पतालमा लगिएको छ। प्रहरीले अधिकांश लाश कारखानाको पछाडिको भागमा थुप्रिएको अवस्थामा भेटिएको र तिनीहरु भाग्ने क्रममा रहेको हुनसक्ने अनुमान गरिएको छ।


ADVERTISEMENT

# # #


अग्निनियन्त्रक ओनी साहरोनीले नराम्ररी जलेका कुनै पनि लाश सनाखत हुनसक्ने स्थितिमा नरहेको इन्डोनेसियाको मेट्रो टेलिभिजनलाई जानकारी गराएका छन्। प्रत्यक्षदर्शीहरुले तीन घन्टाको अन्तरालमा पटका भण्डार गरिएको स्थानमा दुई पटक विस्फोटन भएको बताइएको छ।

पहिलो विस्फोटको कारण भीषण आगलागी हुँदा कारखानाको छत खसेको थियो। एकजना स्थानीय सरकारी अधिकारीले उक्त पटका कारखाना छ साताअघिदेखि मात्र सञ्चालनमा आएको बताएका छन्।