काठमाडौँ – कोरोनाविरुद्धको खोप उपलब्ध गराउनुपर्ने भन्दै नेपाल पेट्रोलियम ट्यांकर चालक संघ लगाएत मजदुरहरु आन्दोलित हुँदा उपत्यकामा पेट्रोलियम पदार्थको अभाव भएको छ ।


ADVERTISEMENT


मंगलबार पेट्रोलियम पदार्थ ढुवानी नभएको भन्दै अधिकांश पेट्रोल पम्पहरु बन्द गरिएका छन् । पटक–पटक सम्बन्धित निकायमा माग गर्दा खोप उपलब्ध नभएको भन्दै चालक लगाएत मजदुरहरु आन्दोलित भएका हुन् । आइतबारदेखि ढुवानी बन्द गरेका उनीहरुले मंगलबार पनि आयल निगमको थानकोट डिपोमा ट्याङ्कर तेर्साएर नारावाजी गरेका छन् ।


ADVERTISEMENT

# # #


उनीहरुले छिटो भन्दा छिटो कोरोना बिरुद्धको खोप दिनुपर्ने आफूहरुको माग गरेको बताए । सम्बन्धित निकायमा पटक पटक ध्यानाकर्षण गराउदा पनि आफूहरुको माग पुरा नभएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको अखिल नेपाल पेट्रोलियम मजदुर संघका अध्यक्ष शिव पोखरेलले बताए ।

त्यस्तै नेपाल पेट्रोलियम मजदुर संघका अध्यक्ष ईश्वर लामाले आइतबारदेखि बरौनी, अमलेखगञ्ज क्षेत्र तथा आन्तरिक ढुवानी रोकिएको बताए । उनले अत्यावश्यक क्षेत्रमा काम गर्ने आफुहरुलाई खोप दिन सरकारले आनाकानी गरिरहेको आरोप लगाए । उनले आफुहरुको स्वास्थ्य जोखिममा परेकाले बाध्य भएर आन्दोलन गर्नुपर्ने धारणा राखे ।

ढुवानीकर्ताको अवरोधका कारण मंगलबार पनि प्रदेशभरको आपूर्ति प्रभावित भएको आयल निगमको बागमती प्रादेशिक डिपो थानकोटले जनाएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) मा १७६ वटा निजी पेट्रोल पम्प सञ्चालनमा छन् ।

यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक वस्तु तथा सेवा प्रवाह गर्ने व्यवसायीलाई खोप उपलब्ध गराउन माग गर्दै कोभिड संकट व्यवस्थापन केन्द्रलाई पत्र पठाएको थियो ।