काठमाडौँ – सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा आएको बाढीका कारण पीडामा परेका नागरिकलाई तत्काल राहत वितरणलगायतका कार्य गर्न ‘इन्द्रावती मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समिति’ गठन गरिएको छ ।


ADVERTISEMENT


बुधबार सभामुख अग्निप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा नगरपालिकामा भएको सर्वपक्षीय छलफलबाट जिसस प्रमुख कृष्ण गोपाल तामाङको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिले बाढी पीडितका लागि प्राप्त भएका र आगामी दिनमा प्राप्त हुने सबैखाले राहत सामग्री एकद्वार प्रणालीबाट वितरण गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT

# # #


सभामुखद्वारा बाढी प्रधावित क्षेत्रको प्रत्यक्ष अवलोकन

सभामुख अग्नि सापकोटाले आज सिन्धुपाल्चोक जिल्लाको बाढीग्रस्त मेलम्ची क्षेत्रमा पुगेर स्थलगत रुपमा जानकारी लिएका छन् । हिजो साँझदेखि मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीले पुर्याएको क्षतिबारे स्थलमार्गबाट इन्द्रावती करिडोरको अवलोकन गर्दै मेलम्ची पुगेका थिए ।

उनले मेलम्ची नगरपालिका प्रमुख र सम्बद्ध पक्षसंग विस्तृत बकाढीग्रस्त क्षेत्रका बारेमा जानकारी लिए । नगर प्रमुख डम्बर अर्यालले अहिले सम्मका उद्धार, राहत र भए गरेका कामबारे संक्षिप्त जानकारी दिए।

मेलम्ची नगरपालिकामा भएको छलफलमा सभामुख सापकोटाले बाढीपछि अवरुद्ध फोन, इन्टरनेटलगायतका सूचना तथा सञ्चार क्षेत्र, विद्युत र सडकहरु तत्काल सुचारु गर्न संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा कार्य अघि बढाउनु पर्ने बताए । उनले उद्धार कार्य र बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिंदै आफ्नो तर्फबाट आवश्यक पहलकदमी लिने प्रतिवद्धता व्यक्त गरे ।

सभामुख सापकोटाले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर उद्धार, राहत, विस्थापितहरुको अस्थायी बसोवास एवं पुनस्र्थापनाको काम अघि बढाउन सबैमा अपिल गरे ।

बाढीबाट विस्थापितहरुलाई तत्काल राहतका लागि सभामुख सापकोटाको पहलमा उपलब्ध भएका खाद्यान्ह्लगायतका राहत सामग्री उनको उपस्थितिमा आजै नवगठित ‘इन्द्रावती मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समिति’ लाई हस्तारन्तरण गरिएको छ ।