काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले ओलम्पिक्समा नेपालले पदक लक्ष्य अवस्था सिर्जना गर्नुपर्ने जनाएका छन् ।


ADVERTISEMENT


नेपाल ओलम्पिक कमिटीद्वारा आयोजित ‘ओलम्पिक डे २०२१’ को मुख्य कार्यक्रममा बोल्दै उनले यसका लागि नेपाली खेलकुद क्षेत्रले पनि त्यसै अनुरुपको योजना बनाउनु पर्नेतर्फ जोड दिएका हुन् ।


ADVERTISEMENT

# # #


यस्तै, उनले ओलम्पिक्समा नेपाली खेलाडीको अहिलेसम्मको प्रदर्शनको समीक्षा हुनुपर्ने आवश्यकतातर्फ समेत औल्याएका छन् । बुधवार आयोजित सो कार्यक्रम आयोजनाका कारणतर्फ संकेत गर्दै उनले भने, ‘विश्व खेलकुद क्षेत्रका लागि यो महान दिन हो । ओलम्पिकको इतिहास भनेको समग्र मानव सभ्यताको उचाइ पनि हो ।’

कार्यक्रममा उपराष्ट्रपति पुनसंगै कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले संयुक्त रुपमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको झण्डा पनि भण्डोत्तोलन गरेका थिए । प्रमुख अतिथिका रुपमा कार्यक्रममा सहभागि भएका पुनलाई ओलम्पियन मुकुन्द श्रेष्ठको नेतृत्वमा रहेको ओलम्पिक खेलाडीको समूहले ओलम्पिक टर्च समेत हस्तान्तरण गरेका छन् ।

कार्यक्रम नेपाल ओलम्पिक कमिटीको आयोजनामा स्पोर्टस फर अल कमिसनको संयोजन भएको हो । कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले कार्यक्रमका अवसरमा ओलम्पिक डेको महत्त्वबारे प्रकाश पारे । यस्तै, युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले ओलम्पिक डेका अवसर सबै खेलाडीलाई बधाइ दिंदै देशका लागि उच्च प्रदर्शनको अपेक्षा रहेको जनाएका थिए । यसैगरि, कार्यक्रममा बोल्दै कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले भने खेलकुदले समाजमा सकारात्मक असर पर्ने र यसले शान्ति, समृद्धि, सद्भावना र विकासका लागि सहयोग गर्ने प्रतिबद्वता जनाए । कार्यक्रममा अघि बोल्दै उनले भनेका छन्, ‘कोरोना महामारीको विषम परिस्थितिमा खेलकुदले दिन चाहेको नारा सबै सुरक्षित, स्वस्थ्य र सचेत रहोस भन्ने हो ।’

सोहि अवसरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेका संघ तथा ओलम्पिक डे २०२१ मा उत्कृष्ट योगदान दिने संघलाई कदरपत्र समेत प्रदान गरिएको छ । काठमाडौंमा भएको दक्षिण एसियाली खेलकुदमा नेपालले १३ खेलमा स्वर्ण जितेको थियो ।

कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले सञ्चालन गरेको सो कार्यक्रममा कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले नेपाली खेलकुद विकासका लागि दिर्घकालीन योजना र लगानी आवश्यक रहेकोमा जोड दिएका छन् ।

कमिटीको दराजसँग सम्झौता

नेपाल ओलम्पिक कमिटीले अलिबाबा ग्रुपअन्तर्गतको कम्पनी दराजले टोकियो ओलम्पिक २०२० का क्रममा नेपालमा ओलम्पिक गतिविधिको प्रवद्र्धनका लागि बुधबार एक अनुबन्धमा हस्ताक्षर गरेका छन् ।

त्यसमा कमिटीका तर्फबाट अध्यक्ष जीवनराम श्रेष्ठ र दराजका कार्यकारी निर्देशक लिनो अहलेरिङले हस्ताक्षर गरेका छन् । त्यस अनुबन्ध अन्तर्गत दराजले अब कमिटीलाई ओलम्पिक भावना, कार्यक्रम र खेलाडीको प्रवर्धनका लागि विभिन्न कार्यक्रम गरेर सहयोग गर्ने जनाइएको छ ।