नेपाली कांग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामा


ADVERTISEMENT


बिकास जी, सिन्धुपाल्चोकमा चुनावी माहोल कस्तो छ ? बताइदिनुस् न ।
उम्मेद्वारीको दिनबाट हामीले राजनीतिक रणनीति बनाउने, त्यसपछि प्रचारप्रसार समितिहरु बनाएर हामी अगाडी क्रममा छौँ । हामीले प्रदेश, जिल्ला, नगर वा गाउँ पालिका स्तरको समिति बनाउने क्रम जारी नै छ । गाउँपालिका देखि वडासम्ममा हाम्रो प्रचार समिति बन्छ । भातृ संस्थादेखि लिएर अन्य संस्थाको सहयोगमा चुनाव प्रचार प्रसारको तयारीमा छौँ ।


ADVERTISEMENT

# # #


सिन्धुपाल्चोकलाई नेपाली कांग्रेसको राम्रै पकट भएको ठाउँ मानिन्छ । तर स्थानीय चुनावमा ११ स्थानीय तहमध्ये ७ ठाउँमा एमालेले जितेको छ । प्रदेश र संसदको निर्वाचनमा कांग्रेसले विजय हासिल गर्नका लागि के कस्ता रणनीति बनाएको छ ?

हामीले दुई वटा कुरा सोचेका छौँ । हामीले विगतमा २०६४ संविधानसभाको निर्वाचन र ७० को निर्वाचन भन्दा अलि शसक्तरुपमा सिन्धुपाल्चोकमा उपस्थित भएका छौँ । स्थानीय चुनावमा पनि सिट धेरै जित्न नसके पनि हामीले ३८ वटा वडा जितेका छौँ । एमाले पनि धेरै माथि छैन । उनीहरुले पनि जम्मा ४५ वटा वडा जितेका छन् । माओवादीले पनि २० वटा जति वडा जितेका छन् । स्थानीय निर्वाचन पछि हामीले अझैँ मिहिनेत गरेका छौँ । त्यस कारण सिन्धेपाल्चोकमा नेपाली कांग्रेस कमजोर छैनौँ भन्ने लागेको छ । त्यसैले ‘ओभरअल’ हाम्रो रणनीति के हुन्छ भन्दा ४८ सालदेखि नेपाली कांग्रेसको नेतृत्वमा भएका जनमुखी कामहरुलाई जनतासामू बुझ्ने गरी लैजान सकेका छैनौँ । तर यसपाली जनता सामू गएर हामीले यति जनपक्षीय कार्यक्रम गयौँ र यसको तपाईँहरुले मुल्याङ्कन गरिदिनुस् भनेर भन्ने अभियान अब हाम्रो सुरु हुन्छ । पहिले हामीले ती कार्य बुझाउन सकेनौँ । उहाँहरुले चलाख भएर हामीले गरेका कामहरु पनि आफूले गरेको भनेर जनतासामू भ्रम छर्ने काम गर्नु भयो । त्यस कारण अब हामी विगतभन्दा फरक ढंगले प्रस्तुत हुने तयारीमा छौँ ।

उम्मेद्वारीको छनोटको अवस्था कहाँ पुगेको छ ? कसरी टुङ्ग्याउनु हुन्छ ?
उम्मेद्वारीको छनोट भएर प्रत्यक्ष तर्फ पनि उम्मेद्वारी दर्ता भइसकेको छ । समानुपातिकको पनि चाडैँ टुङ्ग्याउने कुरा भएको छ । समानुपातिकको लागि छलफल चलिरहेको हुँदा करिबकरिब अन्त्यतिर आइपुगेका छौँ ।

अहिले विभिन्न थठबन्धनका पनि कुरा उठिरहेका छन् । सिन्धुपाल्चोकमा गठबन्धनको हिसाबले नेपाली कांग्रेसले के कस्तो योजना बनाएको छ ?

अहिले देशको राजनीति लोकतन्त्रवादी र कम्युनिस्ट गरी दुई धारमा ध्रुविकरण भएको छ । त्यस कारण निश्चित रुपमा लोकतन्त्रवादी धारहरुको समिकरण गरिएको भन्ने अभियानका साथ हामी हिमालदेखि तराईसम्म हिँड्दैछौ । बाम पन्थी गठबन्धनलाई पनि हामी शुभकामना दिन्छौँ । तर एउटा भनाई छ नि ‘फुटेको हाँडी जोडिदैन’ भन्ने । त्यही भनाई बामपन्थी गठबन्धनमा लागू हुन्छ । जति जोडे पनि चिरा देखिरहने  । त्यस कारण लोकतान्त्रिक धार निश्चित रुपमा बलियो छ ।

२०४८ सालको संविधान जारी हुँदा प्रधानमन्त्री अहिलेको अवस्थामा नेपाली कांग्रेसलाई जनताले किन भोट दिने ?

यसका धेरै कारणहरु छन् । हामीले गरेका कामको सूचि हामी जनताका सामू लैजान्छौ । यो मुलूकमा नेपाली कांग्रेस मात्र एउटा यस्तो पार्टी हो, जसले गरेका सबै आन्दोलनहरु सफल भएका छन् । नेपाली कांग्रेस मात्र त्यस्तो पार्टी हो, जसको नेतृत्वमा मात्रै देशमा संविधान जारी भएको छन् । यो संविधान पनि नेपाली कांग्रेसकै नेतृत्वमा बनेको हो र यसको कार्यान्वयन पनि नेपाली कांग्रेसले नै गर्छ । त्यस कारण यसपाली जनताले नेपाली कांग्रेसको उच्च मुल्याङ्कन गर्छन् भन्ने हामीलाई लागेको छ ।

यो निर्वाचनमा तपाईको भूमिका कस्तो रहन्छ ?

निश्चय पनि । मेरो नाम प्रतिनिधि सभामा सिफारिस भएको थियो । लोकतान्त्रिक गठबन्धनकै कारण राप्रपा प्रजातान्त्रिकका पशुपति शमशेरजीलाई पार्टीले सघाउने कुरा भयो । त्यसै कारण मेरो उम्मेद्वारी हुन सकेन । त्यो स्वभाविक पनि थियो । पशुपति शमशेरजी जस्ता व्यक्ति संसद्मा उपस्थित हुनु पनि राम्रो कुरा हो । मभन्दा पनि राजनीतिमा धेरै खारिएको तथा पाको उपस्थिति मेरो भन्दा उपयुक्त हो भन्ने मैले ठानेको छु । म एउटा कार्यकारी पदमा भएकाले पनि म हुनै पर्छ भन्ने छैन । मैले भन्ने गरेको छु कि म एउटा ड्राइभर भएको छु । एउटा यात्रीलाई लक्ष्यसम्म पुर्याउने कर्तव्य मेरो काँधमा छ । त्यो यात्री पशुपति शमशेरजी हुनुहुन्छ । त्यो दायित्व म पूरा गर्छु ।

अन्त्यमा आम जनतालाई के भन्नुहुन्छ ?

देशमा लोकतन्त्रलाई संस्थागन गर्नका लागि लोकतान्त्रिक धारलाई विजयी गराउनु आवश्यक छ । यो निर्वाचनमा नेपाली कांग्रेसलाई भोट दिएर संविधानको सफल कार्यान्वयन गरेर देशलाई समृद्धिको बाटोमा लैजाने अवसर प्रदान गर्नुहुनेछ भन्ने लागेको छ । म भन्न चाहान्छु, यो मुलूकलाई अधिनायकवादतिर लैजाने कि लोकतान्त्रिक प्रक्रियामा देशलाई राखिराख्ने भन्ने निर्णय नेपाली जनताको हातमा छ । यो लूकलाई कुन दिशातिर लैजाने भन्नेकुराको निर्धारण मंसिर १० र २१ को निर्वाचनको परिणामले गर्छ । त्यसैले म हार्दिक अपील गर्न चाहन्छु कि लोकतान्त्रिक व्यवस्थालाई स्थापित गर्न, संविधानलाई कार्यान्वयन गर्नका लागि पनि लोकतान्त्रिक धारलाई विजयी गराउनुस् ।