काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विप्लव नेतृत्वको नेकपा काठमाडौँले आइतबार रक्तदान कार्यक्रम आयोजना गरेको हो ।


ADVERTISEMENT


नेपाल रेडक्रसको केन्द्रीय रक्तसंचार केन्द्रमा आयोजना गरिएको कार्यक्रममा करिब २ सय पार्टीका नेता कार्यकर्ता र समर्थक तथा शुभचिन्तकले रक्तदान गरेका थिए । नेकपाका केन्द्रीय सदस्य माइला लामाले कोरोनाका कारण राष्ट्र र नागरिकलाई परेको समस्यामा पार्टी पनि सहभागी भएको बताए । उनले केन्द्रीय रक्तसंचार केन्द्रमै रगतमा अभाव हुँदै गएको भन्ने जानकारी पाएपछि रक्तदान आयोजना गरिएको बताए ।


ADVERTISEMENT

# # #


“कोरोनाका कारण रगत अभावका कारण नागरिकको ज्यान गइरहेको सुन्नमा आएको छ । राष्ट्र र नागरिकलाई आएको संकटमा सहभागीमा हुन्छौं भनेर पार्टीका नेता, कार्यकर्ता, तथा युवायुवतीहरुको उत्साहजनक सहभागी हुनुभएको छ । कोरोनासँगको लडाइँमा रक्तदानले सहयोग हुनेछ” माइला लामाले भने ।

आफ्नो पार्टी जनताप्रति उत्तरदायी भएको हुनाले रक्तदान आयोजना गरिएको लामाले बताए । उनले रक्तदानले नागरिकको ज्यान जोगाउन सहयोग पुग्ने विश्वास गरे । “कोभिड–१९ जो विपत्ति खडा गरेको छ, यो विपत्तिसँग लड्न भावनात्मक रुपमा एकता रक्तदानले सहयोग गर्ने विश्वास लिएका छौं” लामाले भने ।

नेकपाका काठमाडौँ इन्चार्ज समेत रहेका लामाले अहिले नेपालका राजनीतिक पार्टी र सरकार जनताको स्वास्थ्यप्रति गम्भीर हुने बताए । उनले संसदभित्र रहेका पार्टीहरुलाई जनताको स्वास्थ्यभन्दा सत्ताको लुछाचुडी गरिरहेको बताउँदै अहिलेको व्यवस्थाप्रति निरासा र चिन्ता बढेको बताए । उनले आफ्नो पार्टीले वैज्ञानिक समाजवादमार्फ जनताका सबै खाले समस्या समाधान गर्न खोजेको बताए ।

लामाले आफ्नो पार्टी र सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयन नभएको बताए । “सरकार र हाम्रो पार्टीबीच भएको तीन बुँदे कार्यान्वयन नहुँदा हाम्रा धेरै नेता कार्यकर्ता जेलमै हुनुहुन्छ । तीन बुँदामा हाम्रो पार्टीले गरेको प्रतिवद्धताअनुसार हाम्रो पार्टी गइरहेकै छ । तर, सरकारले आफ्नो प्रतिवद्धता पूरा नगरेकोले आक्रोस बढेको छ” लामाले भने ।

त्यसैगरी नेकपाका काठमाडौँ सेक्रेटरी तुलसीनारायणले रक्तदानमा सहभागी हुने र समन्वय गर्ने रेडक्रसलाई धन्यवाद दिए । त्यस्तै, नेकपाका जिल्ला सचिवालय सदस्य अबिरल चन्दले कोरोना संकटमा आफ्नो पार्टीले जनतासँगै रहेको बताए ।

नेकपा निकट अखिल क्रान्तिकारीका काठमाडौँ अध्यक्ष गोविन्द विष्टले रक्तदानमा सहभागी विद्यार्थीलाई धन्यवाद दिए ।

रक्तदानमा सहभागी भएकामध्ये लोकेन्द्र सार्की, शुसिल पौडेल, रामप्रसाद श्रेष्ठ, नारायण तोलंगु, तिर्थराज तामाङ, इन्दिरा महर्जन, मन्दिरा श्रेष्ठ, राजाराम आलेले आफूहरुले रगत दिन पाउँदा खुशी लागेको बताए । कोरोना संकटमा रगतको अभाग हुँदै गइरहेको पार्टीले रक्तदान आयोजना गरेको भन्दै खुशी व्यक्त गरे ।