हजार वर्ष अगाडिको इतिहास दोहोर्‍याउँदै २७ अक्टोबरमा स्पेनको उत्तर पूर्वी राज्य क्यातालानका प्रमुख कार्लोस पुजिमोनले संसदको बहुमतको आधारमा गणतन्त्र क्यातालन देशको घोषणा गरेका छन्।


ADVERTISEMENT


क्यातालान संसदले प्रान्तलाई स्वतन्त्र देशको रूपमा परिभाषित गरिरहँदा केन्द्रीय सरकारले मेडरिडमा सँसद बैठक डाकेको थियो। प्रधानमन्त्री मारियानो राजोयले संसदको बहुमत निर्णयका आधारमा क्यातालान संसदलाई भँग गर्दै आगामी डिसेम्बरमा चुनाव गर्ने, प्रान्तीय सुरक्षा प्रमुखलाई निलम्बन गर्ने र संवैधानिक अदालतको व्याख्या बमोजिम स्पेनको एउटा अंगको रुपमा क्यातालानलाई सुरक्षित गरिरहन सबै किसिमका आवश्यक कदमहरु चाल्ने निर्णय गरेपछि स्थिति थप मूठभेड तर्फ गएको हो ।


ADVERTISEMENT

# # #


मध्यरातसम्म क्यातालानको मुख्य शहर बार्सिलोनामा स्वतन्त्रता समर्थकहरुले नाराबाजी गरेर खुशीयाली मनाइरहेका छन् भने स्पेनको केन्द्रीय सरकारका सुरक्षाकर्मीको संख्या बढ्दै गइरहेको छ। कुनै पनि बेला क्यातालान राज्यका प्रमुख र शीर्षस्थ नेताहरु पक्राउ पर्न सक्ने आशंका बढेको छ।

हजार वर्षअघि क्यातालान स्वायत्त राज्य थियो। त्यतिबेला अहिलेको जस्तो नक्शा थिएन। बलियाहरुले संसार जित्ने होड थियो। त्यसै क्रममा आफ्नो भाषा, सँस्कृति, लिपी, भौगोलिक सीमाना, मुद्रा र सरकार चलाएको क्यातालान देशका प्रमुख रामोन बेर्गुएर चौथो र देशकी रानी पेत्रोनिलियाको बीचमा सन् ११५० मा बिहा भएपछि दुबै राज्य गाभिने निर्णय भयो ।

त्यस बेलादेखि रोपिएको झगडाको बिउ क्यातालानमा आज पर्यन्त छ । पटक पटक क्यातालानले स्वतन्त्र राज्यको निर्णय गर्ने र केन्द्रले दमन गर्ने नीति उसबेलादेखि लिँदै आएको छ । सन् १९३८मा जनरल फ्रान्सिस्को फ्रान्कोले तानाशाही शासन शुरु गरेपछि क्यातालानमा बम खसाल्ने, स्वतन्त्रताको माग गर्नेलाई चरम यातना दिने काम गरे । झण्डै पैँतिस सय जति क्यातालानहरु राज्यको बर्बरतामा मारिए ।

सन् १९७७ मा फ्रान्कोको अवसान पछि कातालान राज्यले थोरै स्वायत्तता प्राप्त गर्‍यो। बिस्तारै स्वायत्तताको माग बढ्दै गएपछि केन्द्र सरकार बाध्य हुँदै स्वायत्त राज्यको रुपमा आफ्नो सरकार, झण्डा र राष्टिय गीत बनाउन पाउने गरी स्पेनले क्यातालानलाई मान्यता दियो । २०१२सम्म आइपुग्दा क्यातालान सशक्त प्रान्तीय राज्यको रुपमा विकास भइसकेको थियो ।

२०१५ मा भएको चुनावमा अलग राज्यको माग गर्नेहरुको बहुमत संसदमा भएपछि स्वतन्त्र राज्यको माग गर्नेहरुको आवाज झन् चर्को हुँदै गयो । गएको अक्टोबर १ मा केन्द्रीय सुरक्षा फौजको कडा हस्तक्षेपका बाबजुद क्यातालान प्रान्तले गरेको स्वतन्त्रता सम्बन्धी जनमत संग्रहमा बहुमतले स्वतन्त्र राज्यको पक्षमा मतदान गरेपछि प्रान्तीय सरकार स्वतन्त्र देशको घोषणा गर्ने निर्णयमा पुगेको हो ।

क्यातालानवासीहरु हजारौँ वर्ष अघिदेखि चतुरा जातिको रुपमा मानिन्छन् । बेपारमा अब्बल यिनीहरु साँस्कृतिक, भाषिक रुपमा उत्तिकै सशक्त छन् । उनीहरुको आफ्नै परम्परागत रहनसहन छ जो अरु राज्य भन्दा भिन्न छ । सामुद्रिक किनारले घेरिएको बार्सिलोना युरोपदेखि सँसारभरको महत्वपूर्ण ब्यापारिक केन्द्र हो । क्यातालानले १९ प्रतिशत कूल ग्राहस्थ उत्पादनको हिस्सा ओगट्छ ।

चर्चित फूटबल स्टार लियोनेल मेसी खेल्ने बार्सिलोना फूटबल क्लब जहाँ अर्बौँको कारोबार हुन्छ, त्यो पनि यही राज्यमा छ ।

यस राज्यका ब्यापारीहरुले संसारैभरी आफ्नो ब्यापारिक कारोबार चलाएका छन् । सँगीत,कला,साहित्य र सँस्कृतिमा क्यातालानको आफ्नै वर्चश्व छ । त्यही भएरै हजार वर्ष अघिदेखि क्यातालानको स्वतन्त्रता अभियानमा केन्द्रले सधै हस्तक्षेप गरिरहेको हुन्छ। नेपोलियन बोनापार्टले समेत क्यातालानको विजयमा आफूलाई गौरव भएको बताएका थिए ।

क्यातालान राज्यले स्वतन्त्र देशको निर्णय गरेर केन्द्रले प्रान्तीय सरकारलाई नै निलम्बन गरेको केही समयमै अमेरिका र युरोपेली युनियनले सिंगो स्पेन बाहेक अर्को कुरा सोँच्न नसकिने बताएर क्यातालानको निर्णयलाई अस्वीकृत गरिदिएका छन्। लामो सैनिक शासनपछि फर्काइएको राजतन्त्र छ स्पेनमा। जहाँ राजा सँवैधानिक छन्। १७ वटा प्रान्तीय सरकारहरु छन् । केन्द्रीय सरकारको नेतृत्व जनताले नै गर्छन् निर्वाचन मार्फत् आर्थिक र साँस्कृतिक रुपमा धनी क्तालानलाई मारियानो राजोयको सरकार कुनै पनि हालतमा टुक्रिन नदिने पक्षमा छ । त्यसको निम्ति ऊ हरेक कदम चाल्न तयार छ।

क्यातालान सरकारका बहुमत साँसद, राज्यका प्रमुखहरु, सुरक्षा निकायका प्रमुख र जनताहरु स्वतन्त्रताको पक्षमा छन् । तर, अन्तिम मूठभेडमा उनीहरुको भूमिका के हुने भन्ने रणनीति गुपचूप नै छ । जनताहरु पूर्ण रुपमा विद्रोहमा उत्रिए भने केन्द्रलाई हम्मेहम्मे पर्ने देखिन्छ भन्ने मत राख्नेहरु पनि छन् भने केन्द्रीय सरकारको दमनको अगाडि उनीहरुको केही चल्दैन भन्नेहरु पनि छन्।

केन्द्रीय शासन चलाएर डिसेम्बरमा चुनाव गराए पनि केन्द्रलाई कातालान चलाउन उति सजिलो छैन । आफ्नो पहिचान र पुरानो विरासत फर्काउन ज्यानको बाजी लगाएका क्यातालानवासीहरुको भविष्य के हुने होरु उनीहरुको रणनीति मै भरपर्ने देखिन्छ