काठमाडौं – अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी कतार एयरवेजले नेपालस्थित कार्यालयको नेतृत्व पहिलोपटक नेपाली नागरिकलाई दिने भएको छ।

कम्पनीमा करिब एक दशकदेखि कार्यरत सरिक बोगटी कन्ट्री म्यानेजरमा बढुवा भएका हुन्। बोगटीले आगामी नोभेम्बरदेखि पूर्ण अधिकारसहित नेपालको व्यावसायिक तथा सञ्चालनसम्बन्धी जिम्मेवारी सम्हाल्नेछन्। यससँगै लामो समयदेखि विदेशी कर्मचारीको नेतृत्वमा सञ्चालन हुँदै आएको कतार एयरवेजको नेपाल कार्यालयले पहिलोपटक नेपाली नेतृत्व पाउने भएको छ।


ADVERTISEMENT

# #


कलंकी निवासी ४० वर्षीय बोगटीले कतार एयरवेजमा आबद्ध हुनुअघि सवारीसाधनसम्बन्धी कम्पनीमा मार्केटिङ तथा बिक्रीको अनुभव हासिल गरेका थिए। उनले नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) मा समेत दुई वर्ष काम गरेका थिए।

कतार एयरवेजमा सुरुवातमा टिकट बिक्री र बजार प्रवर्द्धनमा केन्द्रित बोगटीको जिम्मेवारी अब विस्तार हुने भएको छ। कन्ट्री म्यानेजरका रूपमा उनले बजार विस्तार, व्यावसायिक योजना, सरकारी निकाय तथा विभिन्न दूतावाससँगको समन्वय र नयाँ व्यावसायिक अवसर पहिचान गर्ने जिम्मेवारी पाउनेछन्।


ADVERTISEMENT

#
#


कोभिड महामारीपछि नेपालमा कन्ट्री म्यानेजरको पद रिक्त रहँदै आएको थियो। यस अवधिमा नेपालको कार्यालय बंगलादेशस्थित कार्यालयको मातहतमा सञ्चालन हुँदै आएको थियो। बोगटीको पदोन्नति प्रक्रिया भने गत अप्रिलदेखि सुरु भएको थियो।

कतार एयरवेजले सन् १९९७ मा नेपालमा सातामा एउटा उडानबाट सेवा सुरु गरेको थियो। अहिले कम्पनीले काठमाडौंमा दैनिक चार वटासम्म उडान सञ्चालन गर्दै आएको छ। दोहालाई प्रमुख ट्रान्जिट केन्द्र बनाएर नेपाली यात्रुलाई अमेरिका, युरोपलगायत विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यसम्म सेवा प्रदान गर्दै आएको छ।

बोगटीका अनुसार नेपालसँग सम्बन्धित टिकट कारोबार दैनिक ९ देखि १० करोड रुपैयाँसम्म पुग्ने गरेको छ। नेपालमा हुने टिकट बिक्रीसँगै विदेशका विभिन्न बजारबाट पनि नेपाल आवतजावत गर्ने यात्रुका टिकट बिक्री हुने गरेका छन्।

कतार एयरवेजको नेपाल कार्यालयको नेतृत्व नेपाली नागरिकले सम्हाल्ने भएपछि कम्पनीको स्थानीय बजार व्यवस्थापन, सेवा विस्तार र नेपाली सरोकारवालासँगको समन्वयमा थप प्रभावकारी भूमिका निर्वाह हुने अपेक्षा गरिएको छ।