चितवन – जिल्लाको राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव मृतावस्थामा फेला परेको छ । आइतबार साँझ स्थानीय ब्रह्मस्थाानी सामुदायिक वनमा शव फेला परेको हो । उनी असार ११ गतेदेखि हराइरहेकी थिईन् । असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन् । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।


ADVERTISEMENT


जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गलेको अवस्थामा फेला परेको छ । वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले शव नजिकै बोतलमा सेतो पदार्थ भेटिएको र शव नउठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको बताए । घटनाको अध्ययनकै लागि शव नउठाइएको उनको भनाइ छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले युवती हराए लगत्तैदेखि केन्द्रीय अनुसन्धान ब्यूरोले घटनाबारे अनुसन्धान गरिरहेको बताउँदै भने, “सूक्ष्मरूपमा त्रुटिरहित ढङ्गले सजगता अपनाउँदै प्रहरीले काम गरिरहेको छ ।” रासस