काठमाडौं । काठमाडौं महानगरपालिकाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउनका लागि १२ ओटा स्थान तय गरेको छ ।


ADVERTISEMENT


गत जेठ २५ गतेदेखि कोरोनाविरुद्धको उक्त खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई कामपाले मंगलवारदेखि यही असार २४ गतेसम्म दोस्रो मात्रा लगाउनका लागि १२ ओटा स्थान तय गरेको हो ।


ADVERTISEMENT

# # #


खोप केन्द्रहरुमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, शङ्करमपुर अस्पताल, हिमाल अस्पताल, ओम अस्पताल एवं रिसर्ज सेन्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय र जनमैत्री अस्पताल बालाजु रहेको कामपाले बताएको छ ।

कामपाका शहरी स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकले आफूलाई पायक पर्ने अस्पतालमा पुगेर खोप लगाउन पर्नेछ । त्यसका लागि पहिलो मात्रा लगाएको खोप काड अनिवार्य लानुपर्ने छ ।

पहिलो मात्र लगाउने बेला कामपाले ३२ ओटा खोप केन्द्रबाट कार्यक्रम सञ्चालन गरेको थियो । भीड कम गर्नका लागि भन्दै प्रत्येक दिन एक उमेर समूहलाई मात्र खोप लगाएको थियो ।

यसअघि स्वास्थ्य विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै जेठ २६ गते ६३ वर्षका लागि, जेठ २७ गते ६२ वर्षका लागि, जेठ २८ गते ६१ वर्षका लागि र जेठ २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउन नजिकको केन्द्रमा जान आग्रह गरेको थियो । रासस