काठमाडौँ – नेकपा एमालेमा आवद्ध पूर्वमाओवादी नेताहरुले नेकपा माओवादी केन्द्रको दल दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् ।


ADVERTISEMENT


पूर्वमाओवादी नेता लीलाबहादुर थापाको नेतृत्वमा रामचन्द्र मण्डल लगाएतका पूर्व माओवादी नेताहरुले माओवादी केन्द्रको दल दर्ता खारेज गर्न माग गर्दै आयोगमा निवेदन दर्ता गराएका हुन् ।


ADVERTISEMENT

# # #


लामो समयसम्म महाधिवेशन नगरेर माओवादी केन्द्र पार्टी नै अवैधानिक भएको उनीहरुको भनाइ छ । अवैधानिक पार्टीले माओवादी केन्द्रको तर्फबाट ४ जना संघीय सांसद, प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिमाथि कारबाही गर्नु मान्य नहुने सो समूहले जनाएको छ ।

पूर्वमाओवादी नेता लीलाबहादुर थापाले निर्वाचन आयोगमा ०७३ सालभित्र महाधिवेशन गरिन्छ भनेर जानकारी गराएपनि महाधिवेशन नभएकाले सो पार्टीलाई कानूनले नचिन्ने बताए । अवैधानिक पार्टीले कारबाही गरेको जानकारीसहितको निवेदन आयोगमा दर्ता गरिएको उनले जानकारी दिए ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निवेदनमा पेस भएको व्यहोराको सन्दर्भमा सचिवालयमा अध्ययन भइसकेपछि त्यसबारे आयोगले आवश्यक निर्णय गर्ने जानकारी दिए ।

सर्वोच्च अदालतले २३ फागुनमा नेकपा खारेज गरेपछि एमालेमा लागेका सांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई कारबाही गरेको थियो । यस्तै, तत्कालीन राष्ट्रिय सभा सदस्य रामबहादुर थापा र चन्द्रबहादुर खड्कालाई पनि कारबाही गरेको थियो । चार सांसद पदमुक्त भएको सूचना संसद् सचिवालयले प्रकाशित गरी आयोगलाई जानकारी गराएको थियो ।