नवलपुर – केही दिनअघि आएको पहिराले बिजुलीको पोल ढलाउँदा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकाको एउटा गाउँ अन्धकारसँगै सञ्चार सम्पर्कबाट टाढिएको छ । गत बुधबार परेको अविरल वर्षाका कारण देवचुली–६ कीर्तिपुर जाने सडकमा पहिरो जाँदा सडक सञ्जाल र बिजुलीको पोल ढल्दा बिजुली अवरुद्ध भएको हो ।


ADVERTISEMENT


नगरपालिकाको दलदलेबाट मुन्डे हुँदै कीर्तिपुर जाने सडक पहिराका कारण अवरुद्ध भएपछि यातायात सञ्जालबाट समेत गाउँ टाढिएको स्थानीवासीको भनाइ छ । देवचुली–६ का वडाध्यक्ष मीनबहादुर सोतीले पहिराले सडक अवरुद्ध भएपछि कीर्तिपुरवासीलाई बजारसम्म आउनै समस्या भएको छ । “पहिराका कारण सडक अवरुद्ध मात्रै भएको छैन”, सोतीले भने, “बिजुलीको पोल ढल्दा गाउँवासी अँध्यारोमा बस्नुपर्ने बाध्यता आएको छ भने बत्ती नहुँदा मोबाइल तथा सञ्चारका उपकरण चार्ज गर्न नपाउँदा सञ्चार सुविधाबाट समेत गाउँको सम्पर्क विच्छेद भएको छ ।”


ADVERTISEMENT

# # #


पहिरो गएर सडक अवरुद्ध भएको पाँच दिन पुग्दासमेत पहिरो हटाएर यातायात सञ्चालन गर्ने तथा विद्युत् आपूर्ति सहज गराउन नसकिएको सोतीले गुनासो गरे । गाउँमा बत्ती नभएपछि मोबाइलसँगै रेडियो, टेलिभिजनसमेत सञ्चालन गर्न नपाउँदा सञ्चार सञ्जालबाट निकै टाढिएको जस्तो महसुस गरिएको सोतीले बताए । कीर्तिपुरको सडक सञ्जाल विच्छेद भएसँगै बिरामीलाई अस्पतालसम्म ल्याउन पनि निकै कठिन हुने गरेको स्थानीयवासी बताउँछन् ।

पहिराले सडक अवरुद्ध गरेपछि खाद्यान्नसमेत ढुवानी हुन नपाउँदा गाउँमा दैनिक उपभोग्य वस्तु अभाव हुने चिन्ताले सताएको वडाध्यक्ष सोतीले बताए । सडकमा झरेको पहिरो हटाउने काम शनिबारदेखि शुरु गरिएको भए पनि सडकको पूरै अवरोध हटाएर सवारी साधन नियमित गर्न दुई÷तीन दिन लाग्न सक्ने सोतीको भनाइ छ । बर्खे झरी नरोकिएमा उक्त सडक नै भासिन सक्ने जोखिमसमेत रहेको उनले बताए ।

कुश्मामा पाँच दिनपछि आंशिकरूपमा खानेपानी आपूर्ति शुरु

पर्वत– पर्वत सदरमुकाम कुश्माबजारमा पाँच दिनपछि खानेपानीको आंशिक आपूर्ति भएको छ । पहिरो र बाढीले क्षतविक्षत भएको क्यादीखोलाको मुल मर्मतपछि उपभोक्ताको धारामा पानी आउन थालेको हो । पातीखोलाको पाइप लाइन अझै सञ्चालन हुनसकेको छैन । मङ्गलबारको बाढी र पहिराले क्यादीखोला र पातीखोलाको पाइप लाइन पुरिँदा कुश्मामा पानी आपूर्ति रोकिएको थियो ।

क्यादीखोलाको पानी आएपछि उपभोक्ताको आधा माग मात्रै पूरा भएको छ । शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष रविकुमार श्रेष्ठले पातीखोलाको पाइप लाइन मर्मतको काम पनि शुरु भएको बताए । पाइप लाइनमा क्षति भएपछि कुश्मा नगरपालिका र खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको खर्चमा पाइप परिवर्तन गरेर खानेपानीको आपूर्ति सञ्चालन गरिएको जानकारी उनले दिए । उनकाअनुसारक्यादीखोलासहित गोदाम र खुर्कोटको बर्खेमुलबाट पनि पानी ल्याइएको छ । कुश्मा–८ चुवास्थित सुन्दरे खोलामा आएको बाढीले पातीखोलाको पाइप लाइन क्षतविक्षत बनाएपछि उक्त लाइन मर्मत गर्न केही दिन लाग्ने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

संस्थाका प्रबन्धक राजेन्द्र रोकाका अनुसार पानी आपूर्तिका लागि राखिएका चार ठूला ट्याङ्कीमा क्यादीखोला र पातीखोला दुवैतर्फको मुहानबाट दैनिक २६ लाख लिटर पानी आउने गरेको थियो । त्यसमध्येको करिब २० लाख लिटर खपत हुने गरेको छ । बजारमा संस्थामार्फत दुई हजार ५६१ वटा धारा जडान गरिएका छन् । पानी आपूर्ति नहुँदा उपभोक्ताले आकाशेपानी जोहो गरेर पिउने गरेका थिए । कतिपयले नजिकैका पँधेरामा पुगेर पानीको खाँचो टार्दै आएका थिए । शिवालय खानेपानी उपभोक्ता संस्थाले उमालेर पानी पिउन पनि उपभोक्तालाई अनुरोध गरेको छ । रासस