नवलपुर– केही दिनअघि आएको पहिरोले बिजुलीको पोल ढलाउँदा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकाको एउटा गाउँ अन्धकारसँगै सञ्चार सम्पर्कबाट टाढिएको छ ।


ADVERTISEMENT


गत बुधबार परेको अविरल वर्षाका कारण देवचुली–६ कीर्तिपुर जाने सडकमा पहिरो जाँदा सडक सञ्जाल र बिजुलीको पोल ढल्दा बिजुली अवरुद्ध भएको हो ।


ADVERTISEMENT

# # #


नगरपालिकाको दलदलेबाट मुन्डे हुँदै कीर्तिपुर जाने सडक पहिराका कारण अवरुद्ध भएपछि यातायात सञ्जालबाट समेत गाउँ टाढिएको स्थानीवासीको भनाइ छ । देवचुली–६ का वडाध्यक्ष मीनबहादुर सोतीले पहिराले सडक अवरुद्ध भएपछि कीर्तिपुरवासीलाई बजारसम्म आउनै समस्या भएको छ । ‘पहिराका कारण सडक अवरुद्ध मात्रै भएको छैन’ सोती भन्छन्, ‘बिजुलीको पोल ढल्दा गाउँवासी अँध्यारोमा बस्नुपर्ने बाध्यता आएको छ भने बत्ती नहुँदा मोबाइल तथा सञ्चारका उपकरण चार्ज गर्न नपाउँदा सञ्चार सुविधाबाट समेत गाउँको सम्पर्क विच्छेद भएको छ ।’

पहिरो गएर सडक अवरुद्ध भएको पाँच दिन पुग्दासमेत पहिरो हटाएर यातायात सञ्चालन गर्ने तथा विद्युत् आपूर्ति सहज गराउन नसकिएको सोतीले गुनासो गरे । गाउँमा बत्ती नभएपछि मोबाइलसँगै रेडियो, टेलिभिजनसमेत सञ्चालन गर्न नपाउँदा सञ्चार सञ्जालबाट निकै टाढिएको जस्तो महसुस गरिएको सोतीले बताउनुभयो । कीर्तिपुरको सडक सञ्जाल विच्छेद भएसँगै बिरामीलाई अस्पतालसम्म ल्याउन पनि निकै कठिन हुने गरेको स्थानीयवासी बताउँछन् ।

पहिराले सडक अवरुद्ध गरेपछि खाद्यान्नसमेत ढुवानी हुन नपाउँदा गाउँमा दैनिक उपभोग्य वस्तु अभाव हुने चिन्ताले सताएको वडाध्यक्ष सोतीको भनाई छ । सडकमा झरेको पहिरो हटाउने काम शनिबारदेखि शुरु गरिएको भए पनि सडकको पूरै अवरोध हटाएर सवारी साधन नियमित गर्न दुई÷तीन दिन लाग्न सक्ने सोतीको भनाइ छ । बर्खे झरी नरोकिएमा उक्त सडक नै भासिन सक्ने जोखिमसमेत रहेको उनले बताए । रासस