काठमाडौँ  -अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा विश्वमा नै इन्धनको मूल्य बढ्दै गएको देखिन्छ । विगत ६ महीनाको अवधिमा कच्चा तेलको मूल्य ४५ प्रतिशतसम्म बढिसकेकोमा नेपाल आयल निगमले पटक पटक गरी थोरथोरै मूल्यवृद्धि गर्दै गएको छ । अन्तरराष्ट्रिय बजारमा सन् २०२१ को जनवरीमा ५१.८ डलर रहेको कच्चा तेलको मूल्य बढेर हाल ७६ डलर पुगेको छ ।


ADVERTISEMENT


कच्चा तेलको मूल्य ह्वात्तै बढ्दा त्यसको प्रभाव नेपालमा पनि परेकोमा नेपाल आयल निगमले थोरै थोरै गरेर मूल्य समायोजन गर्दै गएको छ । कच्चा तेलको मूल्य बढेकै कारण पटक पटक गरेर थोरै थोरै मूल्य बढाउनुपर्ने बाध्यता रहेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल बताउँछन् । ‘नाफा कमाउनुभन्दा पनि तेल अन्तरराष्ट्रिय बजारबाटै किनेर ल्याउनुपर्ने भएकाले समायोजन गर्नुपर्ने बाध्यता हो,’ उनले भने, ‘ह्वात्तै मूल्य बढेकोमा त्यहीअनुसार ह्वात्तै मूल्य नबढाएर कसैलाई असर नपरोस् भनेर घाटामै रहेर विस्तारै मूल्य समायोजन गर्दै गएका हौँ ।’


ADVERTISEMENT

# # #


निगमका कार्यकारी निर्देशक पौडेलले बताए जस्तै यतिबेला अन्तरराष्ट्यि बजारमा कच्चा तेलको मूल्य ३ वर्ष यताकै उच्च हुन पुगेको छ । हाल ७६ डलर रहेको कच्चा तेलको मूल्य अन्तरराष्ट्रिय बजारमा ८० देखि १ सय डलरसम्म पुग्न सक्ने प्रक्षेपण गरिएको छ ।

ओपेक तथा गैरओपेक सदस्यहरूको ऊर्जा संगठन ओपेक प्लसका सदस्यहरूले तेलको उत्पादनमा भारी कटौती गरेकाले मूल्य वृद्धि भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। उत्पादन भएको तेलको मौज्दात घटेको र उत्पादन वृद्धि नभएकाले पनि मूल्य बढेको बताइएको छ। बिहीबार भएको वार्तामा ओपेक प्लसले तेलको आपूर्ति बढाउने विषयमा तत्काल कुनै निर्णय नगर्ने जनाएकाले अन्तरराष्ट्रिय स्तरमै तेलको मूल्य अझैँ बढ्न सक्ने सम्भावना देखिन्छ । जसकारण यसको प्रभाव नेपालमा पनि पर्ने देखिन्छ नै ।

इन्डियन आयल कर्पोरेसनबाट मूल्य बढेर आएपछि निगमले गत बुधवारदेखि मात्रै पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाएको छ। जसको एक पक्षले विरोध गरेपनि अर्को पक्षले भने मूल्य बढ्नु स्वभाविक भएको बताउँदै आएको छ ।

एक्कासी अन्तरराष्ट्रिय बजारमा मूल्य बढे जस्तै नेपालमा नबढेकाले यो निगमका कार्यकारी निर्देशक पौडेलको कार्यकुशलता भएको उनीहरुको भनाइ छ । कुशल प्रशासनका रुपमा स्थापित पौडेलले निगमलाई नाफामा लिन खेलेको भूमिकाका कारण चर्चामा आएका थिए । उनकै नेतृत्वमा सरकारी लगानी समेत रहेको उदयपुर सिमेन्टलाई नाफामा गई राम्रो कम्पनीका रुपमा उदाएको थियो । त्यस कार्यबाट पनि उनले प्रशंसा बटुलेका थिए ।