काठमाडौं – नेपाल टेलिकमले दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘दसैं–तिहार अफर २०८३’ सार्वजनिक गरेको छ। अफरअन्तर्गत एफटीटीएच इन्टरनेट प्याकेज जडानमा छुट, वार्षिक प्याकेजमा थप एक महिनाको सुविधा तथा मोबाइलमा सहुलियत दरका भ्वाइस र डाटा प्याकेज उपलब्ध हुनेछन्।
नेपाल टेलिकमका अनुसार असोज २५ देखि कात्तिक ३० गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकले ५०० रुपैयाँ जडान शुल्क तिर्नुपर्ने छैन। त्यस्तै, १००, १५० र २०० एमबीपीएसका नयाँ वार्षिक प्याकेज खरिद गर्ने ग्राहकले एक महिना थपसहित १३ महिनाको सेवा पाउनेछन्। बोनसका रूपमा उपलब्ध हुने मोबाइल डाटा पनि १३ महिनासम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। भर्चुअल सेट–टप बक्ससहितको प्याकेज लिने ग्राहकका लागि यसअघि उपलब्ध गराइएको एक हजार रुपैयाँ छुटलाई समेत निरन्तरता दिइएको छ।
मोबाइल सेवातर्फ टेलिकमले ४९९ रुपैयाँमा पाँच जीबी र ६९९ रुपैयाँमा १० जीबी दैनिक डाटासहितका फेस्टिभल अनलिमिटेड प्याकेज ल्याएको छ। पाँच जीबी डाटा सकिएपछि बाँकी अवधिमा दुई एमबीपीएस र १० जीबी डाटा सकिएपछि तीन एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ।
त्यसैगरी, २५० रुपैयाँमा सबै नेटवर्कमा प्रयोग गर्न मिल्ने एक हजार मिनेट भ्वाइस सुविधासहितको ‘जोयफुल मिनेट्स’ प्याकेज र ९९ रुपैयाँमा एक हजार अन–नेट एसएमएस सुविधासहितको ‘फेस्टिभ म्यासेज’ प्याकेज पनि उपलब्ध हुनेछन्। यी प्याकेजको समयावधि ३० दिनको हुनेछ।
कम्पनीका अनुसार मोबाइलमार्फत यी प्याकेज खरिद गरी सुविधा लिन असोज ३० देखि कात्तिक ३० गतेसम्मको अवधि तोकिएको छ। ग्राहकले नेपाल टेलिकमको एप वा तोकिएको यूएसएसडी कोड डायल गरेर प्याकेज खरिद गर्न सक्नेछन्।
चाडपर्वका बेला ग्राहकलाई आफन्त तथा साथीभाइसँग सम्पर्कमा रहन सहज बनाउनुका साथै डिजिटल सेवाको प्रयोग बढाउने उद्देश्यले अफर ल्याइएको नेपाल टेलिकमले जनाएको छ।



























