काठमाण्डौं- वाम गठबन्धनका दुई दल एमाले र माओवादी केन्द्रले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको सूची आइतबार निर्वाचन आयोगमा बुझाएका छन् । दुवै दलले करिब ६० प्रतिशत महिला उम्मेदवार समेटेर सूची बुझाएको जनाएका छन् ।दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रका प्रत्यक्षतर्फ सिट बाँडफाँड भने अझै टुंगिएको छैन । झापा, मोरङ, सुनसरीसहितका जिल्लामा तालमेल मिल्न नसक्दा दुवै दलले उम्मेदवारको अन्तिम सूची तय गर्न सकेका छैनन् । समानुपातिकतर्फको सूची भने आइतबार मध्यराति आयोगमा बुझाएका हुन् ।


ADVERTISEMENT


दुवै दलले केन्द्र (प्रतिनिधिसभा) र प्रदेशसभा दुवैका लागि कुल समानुपातिक सिट संख्या ३ सय ३० जनाकै नाम सूचीमा पेस गरेका छन् । माओवादी केन्द्र प्रवक्ता पम्फा भुसालले केन्द्रमा १ सय १० र प्रदेशमा २ सय २० जनाको सूची आयोगमा कार्यालय समयमै पेस गरिएको जानकारी दिइन् । ‘त्यसमा बढी महिला नै छन्,’ उनले भनिन् । माओवादी केन्द्रले करिब ६० प्रतिशत महिला उम्मेदवार सिफारिस गरेको छ । एमालेले पनि सोही हाराहारी महिला उम्मेदवार समेटेको जनाएको छ । ‘संविधानको व्यवस्था पालना गर्न हामी प्रतिबद्ध छौं,’ एमाले स्थायी समिति सदस्य सुवास नेम्वाङले भने, ‘प्रतिशतका आधारमा पुरुषका भन्दा बढी नै नाम महिलाका परेका छन् ।’


ADVERTISEMENT

# # #


संविधानले दुवै सभामा ३३ प्रतिशत महिला सांसद हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । प्रत्यक्ष चुनावबाट निर्धारित सिट नपुग्ने हुँदा दलहरूलाई समानुपातिकबाट उक्त प्रतिशत पुर्‍याउनुपर्ने बाध्यता छ । त्यसका लागि पनि पुरुषभन्दा बढी नाम समानुपातिक सूचीमा राख्नुपर्ने बाध्यता भएको हो । प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फको सिट विभाजन भने केही जिल्लामा अझै मिलिसकेको छैन । दुवै दलका शीर्ष नेता संलग्न एकता संयोजन समितिले टुंगो लगाउने भनिए पनि आइतबार समानुपातिक नाममै अलमल हुँदा त्यसको निक्र्योल हुन सकेन । पाँचवटा जिल्लामा दुवै दलका उम्मेदवारले दाबी छाडेका छैनन् । बाँकी निर्वाचन क्षेत्रमा भने कार्यदलले सिट बाँडफाँड र उम्मेदवारको सूची अनौपचारिक रूपमा टुंगो लगाइसकेको छ । ‘कतिपय क्षेत्रमा जित्ने उम्मेदवार खोज्ने क्रममा टुंगो लागिसकेको छैन । धेरैजसो क्षेत्रमा उम्मेदवार टुंगो लागेको छ । घोषणा हुन मात्र बाँकी हो,’ नेम्वाङले भने ।

माओवादी केन्द्रबाट समानुपातिकतर्फ पदाधिकारी र सचिवालयमा रहेका नेताहरूले इच्छा देखाएका छैनन् । प्रमुख नेताहरूले प्रत्यक्षतर्फ सिट मिलान गरिरहेका छन् । अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, वर्षमान पुन, कृष्णबहादुर महरा, जनार्दन शर्मा, देव गुरुङ, शक्तिबहादुर बस्नेत, भुसाललगायत नेता प्रत्यक्षमै लडदै छन् ।

एमालेबाट पनि अध्यक्ष केपी ओलीसहित सबै पदाधिकारी प्रत्यक्षबाट उठ्दै छन् । समानुपातिकमा स्थायी समितिबाट ३ जनाको नाम परेको एक नेताले जानकारी दिए । स्थायी समितिका मुकुन्द न्यौपाने, सोमनाथ प्यासी र डा.पुष्प कँडेल समानुपातिकमा छन् । त्यस्तै, राधा ज्ञवाली, थममाया थापा, रामप्रित पासवान, मणिकुमार लिम्बुसहितका नाम सूचीमा परेका छन् । – आजको कान्तिपुरबाट