काठमाडौँ – अखिल नेपाल राष्ट्रिय फुटबल संघ (एन्फा)का एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई राजीनामा फिर्ता लिन आग्रह गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका अलमताइरीसँग एन्फा कम्प्लेक्समा छलफल गर्दै अध्यक्ष शेर्पाले राजीनामा फिर्ता लिन आग्रह गरेका हुन् ।


ADVERTISEMENT


अध्यक्ष शेर्पाले साफ च्याम्पियनसिप नजिकै आईसकेको कारण टिमको तयारी प्रभावित हुने भन्दै राजीनामा फिर्ता लिन आग्रह गरे । अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङको कारण राजीनामा दिन लागेको बताएका थिए ।


ADVERTISEMENT

# # #


प्रशिक्षक अलमुताइरीले अध्यक्ष शेर्पासँगको भेटमा आफू पछिल्लो समय तनाबमा रहेको समेत बताएका थिए । एन्फा प्रवक्ता किरण राईले अब्दुल्लाहलाई आराम गर्न भनेर भनेको र यो विषयमा थप छलफल हुने गरेर कुरा भएको बताए । उनले अब्दुल्लाहले राजीनामा नदिएको र केही तनावमा रहेकाले आराम गर्न भनेर पठाएको बताए ।

यता अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा प्रकरणमा जोडिएकोमा आश्चर्य व्यक्त गरेका छन् । प्रशिक्षक अब्दुल्लाहले सामाजिक सञ्जालमै आफ्नो नाम उल्लेख गर्दै राजीनामाको घोषणा गरेपछि नेम्वाङले अहिलेसम्म कोचसँग हाई हेल्लो पनि राम्रो गरी नभएको बताउँदै यसको छानविन गर्न माग गरे ।

आफू सधैं नेपाली फुटबलको विकासमा लागेको बताउँदै उनले यदि आरोप प्रमाणित भएमा आफूले एन्फाबाट राजीनामा दिने पनि घोषणा गरे । तर, उनले केही समय अघि महासचिवमार्फत प्रशिक्षकलाई स्पष्टीकरण सोध्न आग्रह गरेको भने स्वीकार गरे ।

प्रशिक्षकले मिडियामा पदाधिकारीकोबारेमा बोलेकोमा आफूले अहसमति जनाएको नेम्वाङले बताए ।