अछाम– वाम गठबन्धनले अछाममा आसन्न मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि संयुक्त तयारी अघि बढाएका छन् । वाम गठबन्धनका प्रमुख दुई दल नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्र)ले जिल्लामा पहिलो संयुक्त बैठकमा नीतिगत निर्णयसमेत गरेर संयुक्त तयारी शुरु गरेका हुन् ।


ADVERTISEMENT


सोमबार सदरमुकाम मंगलसेनमा बसेको गठबन्धनको बैठकले अछामका दुई प्रतिनिधिसभा र चार प्रदेशसभाका लागि खडा हुने वाम गठबन्धनका उम्मेदवारलाई अत्याधिकमतले विजयी गराउन दुवै पार्टी गम्भीर ढङ्गले संयुक्त निर्वाचन गतिविधिमा अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरेका हुन् ।


ADVERTISEMENT

# # #


दुई पार्टीको जिल्लास्तरीय पार्टी एकता संयोजन समितिको संयुक्त बैठकले निर्वाचनका लागि संयुक्त अपिल छाप्ने र त्यसका लागि कात्तिक १४ गतेदेखि कार्य गर्ने निर्णाय भएको छ ।

वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन संयुक्त प्रचारप्रसार गर्ने, केन्द्रको निर्णयअनुसार उम्मेदवारको नाम, फोटो र निर्वाचन चिन्हसहित केन्द्रीय नारा अंकित संयुक्त ब्यानर छाप्ने, दुबै पार्टीका तर्फबाट एक एकजना कार्यालय सचिव खटाउने, वाम गठबन्धनका भातृ संगठनलाई पनि बैठक र भेला संयुक्तरूपमा गर्न अनुरोध गर्ने र एकै साथ प्रचार अभियानमा जान निर्देशन दिने निर्णय गरेको छ ।

बैठकले दुबै पार्टीको संयुक्त अगुवा कार्यकर्ता भेला कात्तिक १७ गते जिल्ला समन्वय समितिको हलमा गर्ने, गाउँ र इलाकास्तरमा पनि वाम गठबन्धनका कार्यक्रम संयुक्तरूपमा गर्न दुवै पार्टीका शीर्ष नेतालाई अनुरोध गर्ने समेत निर्णय भएको छ । प्रतिनिधि सभाका दुई सिट र प्रदेश सभाका ४ सिटमध्ये (माओवादी केन्द्र)ले प्रदेश सभाका दुई सिटमा साझा उम्मेदवार उठाउँदैछ भने एमालेले प्रतिनिधिसभाका दुई र प्रदेशसभाका दुई सिटमा उम्मेदवार उठाउने सहमति भएको छ ।

क्षेत्र नं १ बाट एमाले केन्द्रीय उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री भीम रावल चुनाव लड्दै छन् ।