काठमाडौं – ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को अन्तिम प्रतिस्पर्धाअघि आयोजित ‘द ग्ल्याम नाइट’ फेसन शोमा २२ प्रतियोगीले आफ्नो सौन्दर्य, आत्मविश्वास र फेसन शैली प्रस्तुत गरेका छन्। आगामी कात्तिक १४ गते हुने ग्रान्ड फिनालेको पूर्वसन्ध्यामा आयोजित शोमा प्रतियोगीहरू तीन फरक पहिरनमा र्याम्पमा उत्रिएका हुन्।
रिबन इन्टरटेनमेन्टको आयोजनामा सम्पन्न कार्यक्रममा ब्राइडल, निभिया र गाउन सिक्वेन्समार्फत प्रतियोगीहरूले आफ्नो व्यक्तित्व, प्रस्तुति क्षमता र आकर्षण प्रदर्शन गरे। ब्राइडल सिक्वेन्समा नेपाली दुलही पहिरनको सांस्कृतिक सौन्दर्य झल्किएको थियो भने निभिया सिक्वेन्समा सौन्दर्य तथा व्यक्तिगत हेरचाहलाई फेसनसँग जोडिएको थियो। गाउन सिक्वेन्समा प्रतियोगीहरूले आत्मविश्वास र र्याम्प वाकको कौशल देखाए।
कार्यक्रममा महानायक राजेश हमाल, अभिनेता रमेश उप्रेती, जितु नेपाल, प्रमोद अग्रहरी, अभिनेत्री रेखा थापा, पूजा शर्मा, सुपुष्पा भट्ट तथा गायक आनन्द कार्कीलगायत कलाकारको उपस्थिति रहेको थियो। कलाकार राजेश हमाल, रेखा थापा, पूजा शर्मा र सुपुष्पा भट्टले प्रतियोगिताका विजेताले लगाउने ताज सार्वजनिक गरेका थिए।
कार्यक्रममा गायक आनन्द कार्कीले आफ्ना चर्चित गीतमार्फत मनोरञ्जन प्रदान गरे भने हास्य कलाकार जितु नेपालले समसामयिक विषयमा व्यङ्ग्य प्रस्तुत गर्दै दर्शकलाई हँसाएका थिए।
आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाका अनुसार ‘द ग्ल्याम नाइट’ प्रतियोगीहरूलाई आफ्नो प्रतिभा, शैली र प्रस्तुति क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो। विवाहित महिलाको सौन्दर्यसँगै आत्मविश्वास, व्यक्तित्व र क्षमतालाई प्रवर्द्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको उनले बताए।
यस वर्षको उपाधिका लागि प्रियशिखा खड्का, सगुन खनाल, सोफिया ढकाल, ऋचा शर्मा, स्वेक्षा पौड्याल, रस्ना श्रेष्ठ, यस्मिन बेगम सइद, नेहा गुप्ता, दीप्ती ढुंगेल, बिन्दु थापा राना, शिल्पा न्यौपाने, शान्ता राना, सुनिता श्रेष्ठ कर्माचार्य, सन्ध्या लामा, विनीता गुरुङ, ज्योति लामिछाने, समीक्षा रानाभाट, सुष्मा थापा, क्रिस्टिना ज्ञवाली, अञ्जु परियार, मोनिका तामाङ र कञ्चन महर्जन प्रतिस्पर्धामा छन्।
प्रतियोगिताको मुख्य विजेताले अमेरिकामा आयोजना हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्। त्यस्तै, सोही मञ्चबाट ‘मिसेस नेपाल इन्टरनेसनल’, ‘एमएस इन्टरनेसनल’ र ‘मिसेस कोस्मो’ का विजेतासमेत चयन गरिने आयोजकले जनाएको छ। ती उपाधिका विजेताले सिंगापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउनेछन्।
अश्विनी झाको कोरियोग्राफीमा आयोजना हुने ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा अब प्रतियोगीहरूको अन्तिम प्रतिस्पर्धापछि विजेताको टुंगो लाग्नेछ।





























