– प्रदीप गिरी


ADVERTISEMENT


मैले ५५ वर्षदेखि नजिकबाट चिन्दै आएको हाम्रो पार्टीका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई शुभकामना दिन चाहन्छु । शुभकामनाका साथ केही संशय पनि छन्, त्यसलाई पनि व्यक्त गर्न चाहन्छु ।


ADVERTISEMENT

# # #


गरीब छौं, दरिद्र छैनौं

मभन्दा अगाडि एकजना प्रतिभाशाली र प्रतिवद्ध माननीयज्यू (भीम रावल)ले एउटा सम्झौतालाई केन्द्रमा राखेर अत्यन्त गम्भीर वक्तव्य दिनुभयो । वक्तव्यमा उहाँले व्यक्त गर्नुभएको मनसायबारे अहिले प्वाक्क बोल्ने पक्षमा छैन । तर एउटा सानो कुरा म उक्त माननीयज्यू र संसदमा रहनुभएका यावत व्यक्ति र शक्ति, सांसद र दलहरूलाई सम्झना गर्न चाहन्छु ।

उक्त सन्धिको प्रयास संयुक्त राज्य अमेरिकाबाट भइरहेको छ । यस्तो कुनै प्रयास कुनै दिन हिन्दुस्तानबाट पनि आउला वा आइसकेको होला । चीनबाट आउला, आइसकेको होला । युरोपियन युनियन एउटा शक्तिको रुपमा अगाडि बढिरहेको छ । त्यहाँबाट पनि आउला ।

नेपाल एउटा सानो देश छ । भूगोलका हिसाबले सानो छैन । त्यता नजानुहोला । भारत र चीनको छेउमा परेर हामी सानो देखिन्छौं । विश्वका राष्ट्रहरूको तुलनामा आफूलाई हेर्नु भयो भने हामी मनग्य ठूला छौं । संशाधनले हामी रहित छौं । गरिब छौं । तर हामी दरिद्र छैनौं । मानसिकता मात्रै गरिब छ । हामीसँग अक्षय, अमूल्य र अद्भुत प्राकृतिक स्रोतहरू हाम्रा नदीनालादेखि पर्वतराज हिमालयसम्मका असीमित संशाधन छन्, हामीले च्याउन पनि भ्याएका छैनौं । हामीलाई त विदेशी डलरको मात्रै भोक छ ।

दलतन्त्रको दबदबा

यो ठूलो सांस्कृतिक विषय छ । राजनीतिक विषय मात्र छैन । म त्यता मलाई आज समय छैन । अहिले म मात्र के भन्न चाहन्छु भने- भारत, चीन, संयुक्त राज्य अमेरिका, अर्को शक्तिका रुपमा आकांक्षी अनेकानेक राष्ट्रहरू, युरोपियन युनियनदेखि जापानसम्म । ती देशमा विदेश नीतिका शिलशिलामा यत्रो ज्यादा तथ्यहिन र उग्र मतभेद हुन्छ ? सानो प्रश्न छ मेरो ।

चाहे अमेरिका हेर्नुहोस्, भारत हेर्नुहोस् वा चीन हेर्नुस् । ठीक छ, बेठीक छ, उनीहरूको आफ्नै दृष्टिकोण छ नेपालप्रति आफ्नो दृष्टिकोण छ । त्यो ठीक छ कि बेठीक छ भन्दिनँ । ज्यादा बेठीक नै होला । बेठीक किन छ भने हामी नेपाली ले आज राजनीतिक दलको यत्रो दबदबामा चकचकीमा देशमा लोकतन्त्र होइन, ज्यादा दलतन्त्र चलिरहेको बेलामा पछिल्लो सर्वोच्च अदालत अपवादको रुपमा आएको छ ।

यो दलतन्त्रका माझमा हाम्रा सरोकारवाला दलहरू किन साझा विदेश नीति बनाउन सक्दैनन् ? पूर्ववक्ता माननीय (भीम रावल)ले यस्तै सारगर्भित कुरा भन्नुभए पनि यो सम्झना राख्न जरूरी छ-जबसम्म मुलुकका सरोकारवालाहरू मुलुकका सबै दलहरू साझा विदेश नीतिका प्रति प्रतिवद्ध हुँदैनन् ? हामीहरूमध्ये प्रत्येकले एकअर्कालाई तल देखाएर, ऊचा देखाएर मुखको तितो मात्रै पोख्छौं ।

अहिले खास सन्धिका बारे म टिप्पणी गर्न चाहन्न । हामी आत्मनिर्भर बन्दा विदेशी सहायताबिना पनि बन्न सक्छौं । हामीले हाम्रा देशका संशाधनलाई माल पाएर चाल नपाएको शैलीमा अगाडि बढाइरहेका छौं । कोही अपवाद छैन । कुनै मन्त्री अपवाद छैनन् । कुनै प्रधानमन्त्री अपवाद छैनन् । उनीहरूले आफ्नो आत्माभित्र चिहाएका छैनन् । मुलुकभित्र हेरेका छैनन् । बाहिर, बाहिर र बाहिर मात्र हेरिरहेका छन् । लिने कुरोमा पनि, दिने कुरामा पनि ।

म आज यो विषयका लागि उभिएको थिइनँ । बडो विचारोत्तेजक ढंगबाट जिम्मेदार नेकपा एमालेका मित्रले यो कुरा भन्नुभएपछि मलाई यति कुरा व्यक्त गर्न मन लाग्यो । लामो समयदेखि बारम्बार विभिन्न मञ्चबाट भनिराखेको छु( पहिला हामी साझा दृष्टिकोण बनाऔं-भारत, चीन, अमेरिकाप्रति । अनि कुन सन्धि खारेज गर्ने, कुन नगर्ने, कुन राख्ने नराख्ने गर्नुपर्छ । यो राष्ट्रिय नीतिको प्रश्न हो ।

म उभिएको मूल कारण प्रधानमन्त्री शेरबहादुरलाई शुभकामना र बधाई पनि दिन । सँगसँगै उहाँलाई सम्झना पनि गराउन । दोस्रो जनआन्दोलनको उपलब्धि, दोस्रो आन्दोलनको जनादेशका बेलामा हाम्रा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँको नेतृत्वमा नै ०६४ को अन्तरिम संविधान बन्यो । त्यस अन्तरिम संविधानका वाहक, परिचालक, संवाहक को को थिए त ? सबै ती अनुहार मोटामोटी रुपमा अहिलेको सरकारमा सहभागी छ ।

दीर्घकालीन सशस्त्र जनसंघर्ष थाल्नुभएर अन्ततः १२ बुँदे सम्झौतामा पुग्नुभएका नेकपा माओवादीका नेता, सभामुख समेत त्यसको नेतृत्वमा हुनुहुन्थ्यो । मधेश आन्दोलनका नाममा अन्तरिम संविधानलाई चुनौती दिने अर्का नेता, एमाले पनि सहयात्री थियो, एमालेको त्यो समयको नेतृत्व कदाचित् अहिले पनि कार्यकर्ता पंक्तिमा टाउको गन्दा सांसदभन्दा बढी हैसियत राख्ने वर्तमान यस गठबन्धनका सहयोगी पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल सबै यहाँ छौं । सँगसँगै दलको तानाशाहीभन्दा माथि उठेर विवेक प्रयोग गर्ने कति स्वतन्त्र सांसद पनि यहाँ छौं ।

गठबन्धन मिलिजुली खानका लागि हो ?

यो गठबन्धन किन ? पञ्चायतकालमा चल्थ्यो मिलिजुली खान ? होइन भने यस गठबन्धनका प्रत्येक स्टेकहोल्डर, सहभागीले छातीमा हात राखेर सम्झिनुपर्‍यो, गणतन्त्रको घोषणापछि अथवा संविधानको निर्माणपछि पनि बितेका वर्षहरूमा किन जनतालाई लागेन बल्ल हाम्रो पालो आएन । लाखौंको संख्यामा चप्पल लगाएर सडकमा उत्रिने नेपाली जनतालाई किन लागेन-एहे, अब त नयाँ नेपालको सुरुवात भएछ !

यस मोर्चाका सबै संगठकले खासगरी अध्यक्ष प्रचण्डले, नेता बाबुराम भट्टराईले, उपेन्द्र यादवले, आदरणीय कमरेड माधव नेपालजीले सबैले सोच्नुपर्‍यो कि विगत १० वर्ष कसरी गएछ ? सपनै सपनामा गयो ? के भएको थियो ? मैले यो व्यङ्ग्यात्मक शैलीमा भनेको छैन । स्वप्नद्रष्टामध्ये एकजना म पनि हो । मुख्य कुरो के थियो माग ?

उर्दूमा एउटा राम्रो कविता छ, पाकिस्तानको समस्यालाई लिएर त्यहाँको एक कविले लेखेको(जुन बिहान होला भनेर हिंडेका थियौं हामी, त्यो बिहान त रहेनछ, अर्कै पो समय आएछ त १

हिन्दीका कविले भनेका छन्-
कहाँ तो तय था चराग़ाँ हर एक घर के लिये
कहाँ चराग़ मयस्सर नहीं शहर के लिये ‘

आम जनतामा जुन असन्तोष छाएको छ, नागरिक आन्दोलन तात्दै हिंडेको छ, त्यसलाई बिर्सिएर सर्वोच्च अदालतका विगतका दुई फैसलामा रमाउने काम नगर्नुस् । संघीय राज्यको नारा मधेसवादी पार्टीले उठाएको थियो । त्यसभन्दा अगाडि नेपाली कांग्रेस प्रजातान्त्रिकले प्रस्ताव गरेको थियो । आज पनि संघीय राज्य कागजमा सीमित छ । सम्झना गराउन चाहन्छु- सरकार जसको बनोस्, कोभिडको प्रतिकारमा स्थानीय सरकारले प्रशस्त काम गरेको छ । स्थानीय सरकारलाई कसरी स्रोतमा शक्तिशाली बनाउनु हुन्छ, यस विराट योगदान सफल रहोस् । ठीक त्यस्तै-अहिले संघीय राज्यलाई चाहिने खालको निजामति ऐन, प्रहरी ऐन बनेको छैन । यो सरकारले त्यहाँ काम गरोस् ।

यसपटक असफल हुँदा देउवा मात्र होइन, संविधान असफल हुन्छ । संविधान असफल भएर पनि केही बिग्रिँदैन । व्यवस्था असफल हुन्छ । व्यवस्था असफल हुने भनेको सोच्दा मात्र पनि कहाली लाग्छ । संविधानमा हस्ताक्षर नगरेको म एक व्यक्ति भन्दैछु-बाटो अर्को देख्दिनँ म ।

कोभिडका बारेमा खोप, खोप, खोप भनेर वर्तमान प्रधानमन्त्रीले भनिसक्नुभयो । यसको लागि उहाँलाई धन्यवाद छ । तर साथीहरूमा एकप्रकारको असन्तोष, निराशा सत्ताधारी पंक्तिमा आइरहेको छ, त्यसमा उहाँले ध्यान दिनुपर्छ । यो अवश्य हो-वर्षौंदेखि जेलिँदै आएको बेथिति एकै दिनमा केही गर्न सकिँदैन । त्यस्तै हामीले प्रधानमन्त्री र सरकारको फैसला गर्दा सय दिनलाई हनिमुन भन्छन् । त्यसलाई पनि ध्यान दिनुपर्छ ।

मुख्य कुरो हाम्रो लक्ष्य के हो ? हाम्रो मञ्जिल के हो ? मुख्य लक्ष्य के छ भने हामीले बडो सकस गरेर, बडो प्रयास गरेर, यस संविधानलाई जोगाएका छौं । याद रहोस् सभामुख महोदय, म त्यो एक्लो सांसद हुँ नेपाली कांग्रेसभित्रबाट, जसले संविधानका अन्तरविरोध, यस संविधानको विसंगति, यहाँसम्म कि भाषागत त्रुटिसमेतसँग आपत्ति जनाएर संसदको अन्तिम दिनमा मैले बहिस्कार गरेको थिएँ । मेरो हस्ताक्षर छैन यो संविधानमा । तर, हाम्रो पार्टीभित्र अन्यमनस्क हुँदा पनि यो संविधान बहाली हुनुपर्छ, संसद बहाली हुनुपर्छ भनेर कदाचित अत्यन्त ज्यादा मेहनत गर्ने मध्ये हामी केही साथीहरू छौं ।

किन त ? किन त्यसो गर्नुपर्‍यो ? मलाई लाग्यो-संविधानमा जे जे त्रुटि भए पनि संसदको सार्वभौमसत्ता स्थापना भइसकेपछि सार्वभौम संसदका माध्यमबाटै मधेसको, जनजातिको, दलितको, महिलाको, अन्य सीमान्तकृत समुदायको समस्या समाधान गर्नैपर्छ । समाधान गर्नैपर्छ । संसदबाटै गर्नुपर्छ । यस संविधानको माध्यमबाटै गर्नुपर्छ । यसैले प्रधानमन्त्रीको एकातिर दिनानुदिनका समस्या छन् । उदाहरणका लागि खोपका कुराहरू । हो- खोप, खोप, खोप त्यहीँनेर आउँछ ।

सुशासन पनि प्राथमिकतामा परोस्

यतिमात्र होइन, त्यत्तिकै महत्वपूर्ण कुरा सुशासन हो । सुशासन सम्बन्धी व्यापक अर्थ छ । तर सुशासन नहुने, बेलामा खोप नआउने, संविधानले बारम्बार चुनौती पाउने, विगतका प्रधानमन्त्री नै सही, भूतपूर्व प्रधानमन्त्री नै सही, उहाँले संविधानसँग खेलवाड गर्ने आत्मविश्वास कहाँबाट ल्याउनुभयो ? उहाँ त राजनीति गरिराखेको मान्छे हो । यसकारण ल्याउनुभयो, उहाँकै कारणले सही, उहाँलाई थाहा थियो( आम जनता सरकारसँग, राज्यसँग, यो संविधानको कार्यान्वयनसँग सन्तुष्ट छैनन् ।

त्यसैले म सरकारलाई, यस सरकारका प्रमुखलाई, प्रधानमन्त्री शेरबहादुरजीलाई, यस सरकारलाई सहयोग गर्छु, भरथेग गरेर हिंड्नुभएका अन्य नेताहरूलाई के भन्न चाहन्छु भने अहिले एकातिर खोपलाई सम्झनुस्, एकातिर आम जनताले दिनानुदिन भोग्नुपरेका समस्या सम्झनुस् । त्यसलाई प्राथमिकतामा राख्नुस् ।

फ्युजन होस्, कन्फ्युजन होइन

अन्त्यमा, एउटा शब्द बडो प्रचलनमा थियो-सभामुख महोयदले पनि यो शब्द बडो प्रयोग गर्नुभयो । फ्युजन, फ्युजन, फ्युजन । ०६२र६३ को आन्दोलनमा भनिन्थ्यो( दुईटा व्यवस्था देख्यौं । पाँच वर्षमा एकपटक चुनाव गर्ने । अखबार छाप्न दिने । मनपरी गाली गर्न दिने । भोट पनि गराउने । लोकतन्त्रमा मान्छे भोका छन्, नाङ्गा छन्, मरिरहेका छन् । अर्कोतिर एकदलीय व्यवस्था चलाउने, त्यसलाई नयाँ जनवाद भन्ने । तर सानो आन्दोलन पनि नगरी ‘ । चीनको भविष्य पनि थाहा छैन । यी दुई व्यवस्थालाई फ्युजन गरेर हामी एक भएका थियौं । गिरिजाप्रसादको नेतृत्वमा विश्वास गरेर नेकपा माओवादी, मधेसवादी सरकारमा आएका थिए, त्यो फ्युजन विगत १५ वर्षमा हामीले कन्फ्युजन बनाएका छौं ।

ठण्डा दिमागले नेपाली कांग्रेसका वर्तमान सभापतिसँग बसेर सोच विचार गरेर अध्यक्ष प्रचण्डदेखि अन्य सरोकारवाला सबैले राम्ररी सोचिकन विगतका भुलहरूबाट सिक्नुपर्छ । एकातिर नेपाली कांग्रेसले सिक्नुपरेको छ लोकतन्त्र रुढ अर्थ, जडसुत्रीय अर्थले चल्दो रहेनछ । लोकतन्त्र भनेको पाँच वर्षको चुनाव मात्र होइन । लोकतन्त्र भनेको लेख्ने आजादी मात्रै पनि होइन । लोकतन्त्र धेरै गहिरो कुरा हो । मैले यहीँबाट चेतावनी दिएको थिएँ प्रधानमन्त्री ओलीलाई ।

लोकतन्त्र भनेको संख्यातन्त्र होइन । मैले राजीव गान्धी र इन्दिरा गान्धीको उदाहरण दिएको थिएँ । लोकतन्त्र संख्यातन्त्र होइन भन्ने कुरा पूर्वप्रधानमन्त्री ओलीले बुझ्नुनभएन ।

अब यस नयाँ सरकारले बुझ्नु परेको छ- लोकतन्त्रको मर्यादा राख्दै, लोकतन्त्रको मर्ममा पुग्दै, लोकतन्त्रलाई बढीभन्दा बढी र्‍याडिकल, जनमुखी कसरी बनाउने ? यो दायित्व नेपाली कांग्रेसको हो । कांग्रेस नेतृत्वको सरकारको हो । लोकतन्त्रको जडसुत्रवादी व्याख्याबाट हामी उठ्नुपरेको छ प्रधानमन्त्रीज्यू ।

व्यवस्था असफल नबनाऔं

त्यस्तै, २१औं शताब्दी आइसकेको छ । २०औं शताब्दीमा फेल भएका सोभियत युनियनपछि एकपछि अर्कोगरी पूर्वी युरोपमा ढल्दै गएका ती अनुभूतिलाई राजनीतिक स्तरमा बुझ्नुस् । अहिले अरु देशको नाम लिनु ठीक नहोला । न चीनको त्यो चकाचौध नै सक्कली हो । ५-१० वर्ष पनि रहन्न होला । त्यसको नक्कलीपना सबै त्यसरी नै थाहा हुन्छ, जसरी सोभियत युनियन गर्ल्यामगुर्लुम्म ढल्यो । न त नर्थ कोरियाका ती वंशाणुगत साम्यवाद ।

आउनुहोस् अब नयाँ ढंगबाट २०औं शताब्दिको इतिहास हेरौं । २०औं शताब्दिमा तथाकथित बेलायतमा जन्मिएको संसदीय व्यवस्था पनि नाङ्गिएको छ । जनवाद, बहुलवाद, बहुदलीय जनवाद पनि अलपत्र परेको छ । यसबाट नसिकी, यसलाई सम्मान नगरी, यसलाई नबुझी हामी अगाडि बढ्न सक्दैनौं ।

सम्मानको नाममा हामीले मात्र पुराना गीत गाएर, पुराना तन्त्र गाएर, पुराना शास्त्र भट्याएर र शास्त्रका किमतमा लोकलाई बुझ्न हामीले छाड्यौं भने इतिहासमा हाम्रो नाम मात्र रहनेछ । यसपटक यो सरकार असफल भयो भने शेरबहादुर मात्र असफल हुनुहुन्न । बुझ्नुस्- सरोकारवालाहरूले । यसपटक असफल भए संविधान असफल हुन्छ । संविधान असफल भएर पनि केही बिग्रिँदैन । व्यवस्था असफल हुन्छ । व्यवस्था असफल हुने भनेको सोच्दा मात्र पनि कहाली लाग्छ । संविधानमा हस्ताक्षर नगरेको म एक व्यक्ति भन्दैछु- बाटो अर्को देख्दिनँ म । त्यसैले यस संविधानको रक्षा गर्न अग्रपंक्तिमा आएर बोलेको हुँ, लेखेको हुँ ।

एउटा मित्रले हनिमुनको कुरा गर्नु भयो । हो- हनिमुन मनाउन सय दिन लाग्छ । सय दिनभन्दा बढी समय लिनुस् । आफ्ना लक्ष्यका बारेमा स्पष्ट हुनुस् । वर्षौं पहिले यसरी नै सदनबाट बोल्दै मैले तत्कालीन प्रधानमन्त्री मनमोहनजीलाई भनेको थिएँ । कांग्रेसीलाई सम्झाएको थिएँ- ‘मनमोहनजी भर्खर प्रधानमन्त्री हुनुभएको छ, हेर्दै जाउँ न, नआत्तिऊँ ।’

यस विषयमा मैले भनेको थिए-
हम अभि सि किस तरह बेबफा उनको कहेँ
मञ्जिलकी बात है ,रास्तेमे  क्या कहेँ ।

यो गठबन्धनलाई पनि म आजै आलोचना गर्न चाहन्नँ म । यस गठबन्धनले आफ्नो लक्ष्य पूरा गरोस् । यो मेरो शुभकामना छ । यसका लागि खासगरी शेरबहादुरजीले आफ्ना नेतासँग शिक्षा लिएर, गिरिजाप्रसादको उदाहरण लिएर, उनले जसरी जाँदाजाँदै जंगलमा रहेका हिंसावादीलाई मूलधारमा ल्याउनुभयो, प्रतिपक्षको नेता भएर पनि यस संविधान अन्तर्गत प्रधानमन्त्री रहेर पनि संविधानको मर्म नबुझ्नु भएका पूर्वप्रधानमन्त्री, संविधानको संरक्षक भएर रहनुभएका राष्ट्रपतिलाई पनि हामीले कसरी पूर्ण संविधानवादको शिक्षा दिने, यो हाम्रो सबभन्दा ठूलो लक्ष्य हो ।

ठूलो लक्ष्य आफ्नो ठाउँमा हुन्छ । ठूलो लक्ष्य भन्दैमा दैनिक समस्याबाट मुक्त हुन पाइँदैन । कोभिडका बारेमा कृपया ठोस कदम चाल्नुहोस् । चाँडैभन्दा चाँडै आम जनताले जिन्दावाद भन्ने मन्त्रिमण्डल बनाएर दुनियाँलाई देखाउनुहोस् ।


ADVERTISEMENT

#


(नेपाली कांग्रेसका सांसद गिरीले शुक्रबार प्रतिनिधिसभाको बैठकमा राखेको विचारको अंश)

प्रतिकृया

प्रतिकृया