काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको छ। पार्टीले आरोपको गम्भीरतालाई ध्यानमा राख्दै केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन गर्न निर्देशन दिएको हो।
रास्वपाका महामन्त्री विपिन आचार्यले मंगलबार जारी गरेको विज्ञप्तिमा सुनारसँग सम्बन्धित प्रकाशित समाचार, सार्वजनिक श्रव्य सामग्री तथा उनीमाथि उठेका प्रश्नप्रति पार्टीको ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।
विज्ञप्तिअनुसार महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी आरोपलाई पार्टीले गम्भीर र संवेदनशील रूपमा लिएको छ। यद्यपि, यी विषय हाल सार्वजनिक भएका आरोप हुन् र तिनको सत्यता छानबिनबाट पुष्टि हुन बाँकी छ।
विधिको शासन, सुशासन र नागरिकप्रतिको जवाफदेहितालाई प्राथमिकता दिने पार्टीले आफ्ना सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता आरोपलाई सामान्य रूपमा लिन नसक्ने जनाएको छ। महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन तथा फौजदारी कसुरका विषयमा शून्य सहनशीलताको नीति रहेको पनि पार्टीले स्पष्ट पारेको छ। पार्टीले आरोपको अनुसन्धानमा राज्यका सम्बन्धित निकायलाई सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सांसद सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुनसमेत रोक लगाएको जनाएको छ।
सांसद सुनारले एक महिलालाई अपशब्द प्रयोग गर्दै धम्की दिएको दाबीसहितको अडियो सार्वजनिक गर्दै जनआस्थाले सोमबार समाचार प्रकाशित गरेको थियो। उक्त सामग्री सार्वजनिक भएपछि रास्वपाले आन्तरिक छानबिन अघि बढाएको हो।
अब पार्टीको अनुशासन आयोगको छानबिन र सम्बन्धित राज्य निकायको अनुसन्धानबाट आरोपबारे थप तथ्य खुल्ने अपेक्षा गरिएको छ।



























