राजकुमार पराजुली, काभ्रेपलाञ्चोक– पछिल्ला केही हप्तादेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि स्थानीय तहका आइसोलेशनलाई पूर्ववत् सुविधामा राख्न निर्देशन दिइएको छ ।


ADVERTISEMENT


काभ्रेस्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसीएमसी)ले आवश्यक अक्सिजनसहित पूर्ववत् अवस्थामा राख्न निर्देश गरेको हो ।


ADVERTISEMENT

# # #


स्थानीय तहमा रहेका आइसोलेशन अक्सिजनसहित पुनःसञ्चालनमा ल्याउन निर्देशन दिएको केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए । ‘सङ्क्रमणदर दैनिक बढ्न थालेपछि स्थानीय तहका आइसोलेशन अक्सिजन सुविधासहित पुनः सञ्चालनमा ल्याउन निर्देशन दिएका छौँ’, उनले भने । उनका अनुसार सङ्क्रमण उच्च रहेका केही स्थानीय तहमा भने आइसोलेशन सञ्चालनरत रहेका छन् । पाँचखाल नगरको आइसोलेशनमा पाँच सङ्क्रमित उपचाररत छन् ।

जिल्लामा दैनिक सङ्क्रमणदर बढिरहेको तर थोरै मात्रामा कोरोनामुक्त हुने गरेको केन्द्रको तथ्याङ्कले देखाएको छ । अघिल्लो महिना जिल्लामा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या शुन्यतामा झरे पनि यही साउनमा मृत्यु भइरहेका छन् । साउनमा मात्रै एक हजार १४ मा सङ्क्रमण देखियो भने सातले ज्यान गुमाइसकेका छन् ।

जिल्लामा हालसम्म १३ हजार ९३ मा सङ्क्रमण देखिएकोमध्ये १७८ को मृत्यु भइसकेको छ । मृतकमध्ये पनि १३३ कोरोना दोस्रो लहरका हुन् । जिल्लाका अस्पतालमासमेत कोरोनाका बिरामीको चाप बढिरहेको जनाइएको छ । हाल जिल्लामा एक हजार ८४२ सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी बनेपा नगरमा २०५, धुलिखेलमा १६५, पाँचखालमा १३७, नमोबुद्धमा ६७, मण्डनदेउपुरमा ४७ तथा रोशी २१, चौँरीदेउरालीमा तीन, तेमालमा आठ, भुम्लुमा २१, बेथानचोकमा नौ र महाभारत गाउँपालिकामा तीन सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनायो । तेह्र स्थानीय तहमध्ये हाल खानीखोला गाउँपालिका कोरोना सङ्क्रमणमुक्त भएको छ ।

त्यसो त आगामी केही महिनामा कोरोनाको सङ्क्रमणदर बालबालिकामा उच्च हुने प्रक्षेपण गरिएपछि पनौती नगरले बालबालिकाको लागि गत असारमै आइसोलेशन निर्माण गरेको छ । नगरले ४ नम्बर वडा कार्यालयमा हाललाई ३० श्ययाको आइसोलेशन बनाएको हो । स्थानीय रोटरी नेपालसँगका सहकार्यमा अक्सिजनसहितको आइसोलेशन बनाइएको नगरप्रमुख भीमप्रसाद न्यौपानेले जानकारी दिए । ‘सम्भावित दुर्घटनाबाट बालबालिकालाई जोगाउन अहिल्यै पूर्वतयारीस्वरुप आइसोलेशन बनाएका हौँ’, उनले भने ।

उनका अनुसार गम्भीर अवस्थामा आवश्यकता परे वैकल्पिक व्यवस्थापनका लागिसमेत नगरमा छलफल भइरहेको छ । नगरले कोरोनाको दोस्रो लहर शुरुआत भएपछि वैशाख अन्तिम साता २५ शय्याको अक्सिजनसहितको आइसोलेशन व्यवस्थित गरेको थियो । पनौतीमा हाल ६५ महिलासहित १५६ कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् भने दुई दर्जन बढीको मृत्यु भइसकेको छ ।

केन्द्रले गत जेठ अन्तिमसाता आउँदो केही महिनामा कोभिड–१९ को सङ्क्रमणदर बालबालिकामा उच्च हुने प्रक्षेपण गरिएअनुसार जिल्लास्थित अस्पताललाई २०५ शय्या छुट्याउन लगाउने निर्णयसमेत गरेको थियो । धुलिखेल अस्पतालले बालबालिकाका लागि १०० शय्या व्यवस्थापन गर्ने सम्झौता भइसकेको प्रजिअ पोखरेलले बताए ।

धुलिखेल, मेथिनकोट, बनेपास्थित शिरमेमोरियल र भोमी अस्पताललगायतलाई प्रारिम्भक चरणमा २०५ श्यया छुट्याउन अनुरोध गरिने केन्द्र सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले जनाए । प्रक्षेपणअनुसार बालबालिकामा सङ्क्रमण फैलिए स्थानीय तहलाई समेत बालबालिकाका लागि छुट्टै अक्सिजनसहितको आइसोलेशन कक्ष निर्माण गर्न लगाइने डा. झाको भनाई छ । ‘प्रक्षेपित तेस्रो लहरले कस्तो क्षति पुर्‍याउँछ सोहीअनुसार व्यवस्थापनमा लाग्न तयारी अवस्थामै छौँ’, उनले भने । रासस