ललितपुर– परम्परागतदेखि सञ्चालन हुँदै आएको बहुचर्चित ‘कात्तिक नाच’ आर्थिक संकटका कारण ओझेलमा परेकाले सरोकारवालाबाट चिन्ता व्यक्त गरेका छन् ।


ADVERTISEMENT


विश्वकै सबैभन्दा लामो नाट्य महोत्सवका रुपमा चिनिँदै आएको उक्त नाचलाई प्रत्येक वर्षको कात्तिक महिनामा देखाइने प्रचलन रहेको छ । मल्लकालीन राजा सिद्धिनरसिंह मल्लको पालादेखि सञ्चालित उक्त नाच अहिलेसम्म जेनतेनले सञ्चालन हुँदै आएको जनगुनासो रहेको छ ।


ADVERTISEMENT

# # #


आजभन्दा ३७७ वर्षअघि देखि अर्थात् नेपाल संवत् ७६१ देखि पाटन दरबार क्षेत्रमा अवस्थित कात्तिक डबलीमा प्रदर्शनी गरिने उक्त नाचले देश र जनताको कल्याणार्थ स्थापित गरिएको जनविश्वास रहँदै आएको छ । आर्थिक अभावले गर्दा २७ दिनसम्म सञ्चालन हुने उक्त नाचलाई छोट्याएर देखाउनुपर्ने बाध्यता रहेको कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताए ।

प्रत्येक वर्ष १२ दिनसम्म नाच सञ्चालन गर्दा न्यूनतम रु पाँच लाख लाग्ने गरेको उनको भनाइ रहेको छ । उनका अनुसार त्यही दाँजोमा नाचलाई पूरा प्रदर्शनी गर्नुपरेमा रु १५ लाख लाग्ने छ । १२ दिनसम्म नाचलाई सञ्चालन गर्दा कलाकार तथा वाद्यवादन टोली गरेर १२० जना जनशक्तिको आवश्यक रहेको समितिका अध्यक्ष चित्रकारले बताए ।

उनका अनुसार २७ दिनसम्म नाचलाई प्रदर्शनी गर्नु परेमा ३०० जनशक्तिको आवश्यक रहनेछ । जनशक्ति बढ्दै जाँदा खर्च पनि त्यही अनुपातले वृद्धि हुँदै जाने गरेको उनले बताए। नाचमा संलग्न नयाँ कलाकारले न्यूनतम तीनदेखि चार महिनासम्म नाच सिक्नुपर्ने उनको तर्क रहेको छ ।

यसैगरी पुराना कलाकारलाई दुई सातासम्मको तयारी गर्नुपर्नेछ । समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यका अनुसार प्रत्येक वर्ष सञ्चालन गर्नुपर्ने नाचलाई आर्थिक अभावकै कारण पूरा देखाउन कठिन रहेको छ । नाचमा संलग्न कलाकारलाई आवश्यक पर्ने सामग्री, खाना, लत्ताकपडा, गरगहना, मञ्च व्यवस्थापनमै समस्या भइरहेको उनले गुनासो गरे । प्रत्येक दिन न्यूनतम रु ५० हजार खर्च हुने गरेको उनले प्रस्ट पारे ।

कात्तिक ७ गतेबाट शुरु भइरहेको नाचलाई आर्थिक सहयोगस्वरुप पर्यटन तथा संस्कृति मन्त्रालयबाट रु ५० हजार २०० आर्थिक सहयोग प्राप्त भएको उनले बताए । यसैगरी पाटन सङ्ग्रहालयबाट रु २० हजार र नेपाल उद्योग वाणिज्य संघ ललितपुरले नगद रु १० हजार सहयोग गरेको छ । “नाचको संरक्षण र संवद्र्धनका लागि गत वर्ष ललितपुर महानगरपालिकाले रु एक लाख दिइएकामा यस वर्ष भने आर्थिक सहयोग प्राप्त गर्न सकेको छैन”, उनले ने ।

कलाको नगरी पाटनमा सञ्चालित कात्तिक नाचको संरक्षण र संवद्र्धनमा महानगरपालिकाको पनि जिम्मेवारी भएको भन्दै महानगरप्रमुख चिरीबाबु महर्जनले यसका लागि बजेट विनियोजन भइसकेको जानकारी दिए ।