काठमाण्डौं- नेपाली सेनालाई बनाउन जिम्मा दिइएको काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) को दूरी घट्ने भएको छ ।


ADVERTISEMENT


विगतमा ७६ दशमलव २ किमि लामो बनाउने गरी प्रारम्भिक अध्ययन भएकोमा सैन्य टोलीले केही किमि छोट्याउने गरी प्रतिवेदन बनाउन लागेको हो । ‘केही किलोमिटर पक्कै घट्छ । अहिले यति नै भन्न सकिन्न, केही दिनमै प्रतिवेदन बुझाउँछौं,’ अध्ययनमा संलग्न एक अधिकारीले भने । यसअघि निजी क्षेत्रले तयार पारेको अध्ययन प्रतिवेदनमा लम्बाइ बढाइएको र सुरुङ खन्दा हुने स्थानमा पनि सडक घुमाउने र पुल राख्न प्रस्ताव गरिएको भन्दै सेनाका प्राविधिकले यसमा पुनर्विचार गर्नुपर्ने जनाएको उच्च सैन्य स्रोतले बतायो ।


ADVERTISEMENT

# # #


मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने दु्रुत मार्गको काम लिएसँगै सेनाले विभिन्न १० स्थानमा सुरक्षा बेस राखेर ट्रयाक अध्ययन अघि बढाएको छ । भारतीय कम्पनी आईएल एन्ड एफएसले तय गरेको लम्बाइ सेनाका प्राविधिकले अध्ययन गर्दा घट्ने भएको हो । ट्रयाक सेनाले नै खोलेकाले आफ्ना प्राविधिकले गरेको स्थलगत अध्ययन निर्णायक हुने सेनाको दाबी छ । निजी कम्पनीले ‘गुगल म्याप’ लाई आधार बनाएर गरेको प्रारम्भिक अध्ययनमा सुधार गर्नुपर्ने सैन्य टोलीले ठहर्‍याएको छ । टोलीले केही दिनमै यस्तो सुझाव दिने अधिकारीहरूले बताए ।

दक्षिणकाली नगरपालिकाको मख्खुबेसीमा एउटा शिविर तयार गरिसकेको सेनाले अन्य ९ स्थानमा पनि काम अन्तिम चरणमा पुर्‍याइसकेको छ । ती स्थानमा हेलिप्याड र सुरक्षा टुकडी व्यवस्थापनको काम सकिनै लाग्दा सेनाले भारतीय कम्पनीबाट तयार प्रारम्भिक प्रतिवेदनमाथि अध्ययन अघि बढाएको हो । यसअघि दुवैतिर रेलिङसहित ३१ मिटर फराकिलो सडकको बीचमा एक मिटर चौडा डिभाइडर रहने गरी तय गरिएको मोडल भने त्यही रहने भएको छ ।

‘समय कम भएकाले डीपीआर खरिद गरी काम अघि बढाउने प्रक्रिया थालिसकिएको छ । डीपीआरमा सुधार गर्नुपर्ने भए प्राविधिक टोलीले अध्ययन गर्नेछ,’ सेनाका प्रवक्ता सहायक रथी नयनराज दाहालले भने, ‘सेनाले समयमै काम सक्न कुनै कसर बाँकी राख्दैन । राष्ट्रिय गौरवको परियोजना भएकाले यही तबरमा लिइएको छ ।’ लम्बाइ घट्नेबारे भने प्रतिवेदन नआएसम्म केही भन्न नसकिने जनाउँदै उनले बाटोको समग्र पक्षबारे नै छलफल भइरहेको प्रस्ट्याए । दु्रतमार्गमा करिब २ किलोमिटर लामो सुरुङ र ९२ वटा पुल रहनेछन् ।

‘मन्त्रिपरिषद् निर्णयअनुसार फास्ट ट्रयाक निर्माणका लागि निर्देशक समिति गठन भएर काम अघि बढेको छ । फिल्ड रिपोर्ट पनि आइसकेकाले यसमा अध्ययन हुँदा लम्बाइ केही घट्ने भएको हो,’ एक प्राविधिकले भने । सेनाको युद्धकार्य महानिर्देशक, इन्जिनियरिङ महाशाखा प्रमुख, भौतिक पूर्वाधार तथा यातायात, अर्थ र रक्षा मन्त्रालयका सहसचिवसमेत सदस्य रहने समितिबाट अनुगमन, सुझावसँगै प्राविधिक अध्ययन पनि भइरहेको अधिकारीले बताए । परियोजना प्रमुख तथा सेनाका उपरथी योगेन्द्र खाँडले काम समयमै सक्ने गरी डीपीआर अध्ययन भइरहेको जानकारी दिए । -आजको कान्तिपुरबाट