काठमाडौँ– नेकपा (माओवादी केन्द्र) ले जारी केन्द्रीय समितिको बैठक आजै समापन गर्ने तयारी गरेको छ ।


ADVERTISEMENT


पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार पेश गरेको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि केन्द्रीय सदस्यले आ–आफनो धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


ती दुई प्रस्तावमाथि छलफल गर्न केन्द्रीय सदस्यलाई विभिन्न आठ समूहमा विभाजन गरिएको थियो । टोली नेतामा प्रदेश नं १ बाट राम कार्की, प्रदेश नं २ बाट रामचन्द्र झा, वाग्मती प्रदेशबाट नारायण दाहाल, गण्डकी प्रदेशबाट हितराज पाण्डे, लुम्बिनी प्रदेशबाट ओनसरी घर्ती, कर्णाली प्रदेशबाट मायाप्रसाद शर्मा, सुदूरपश्चिम प्रदेशबाट नेपबहादुर चौधरी र सम्पर्क प्रदेश, विशेष प्रदेश तथा प्रवासबाट युवराज चौलागाईंले अध्यक्ष दाहालका दुई प्रस्तावमाथि समूहगत रिर्पाेटिङ गरेको हो ।

समूहगत रिपोटिङ गर्दै उनीहरुले प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली अवलम्बन गर्न र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई आत्मसात् गर्न माग गरेका थिए । यस्तै अमेरिकी सहयोग परियोजना एमसिसिका बारेमा पार्टीको स्पष्ट धारणा आउनुपर्नेमा जोड दिइएको थियो ।

त्यसैगरी सरकार सञ्चालनको संयन्त्र बनाउन तथा जनयुद्धका क्रममा शहिद भएकालाई राष्ट्रिय शहिद घोषणा गर्न माग गरिएको बताइएको छ । यसैगरी पार्टीको जिल्ला समितिलाई समन्वय समिति बनाउन तथा प्रदेश समितिलाई कार्यकारी बनाउने विषयमा समेत केन्द्रीय सदस्यले सुझाव दिएका छन् ।

प्रवक्ता श्रेष्ठका अनुसार टोली नेताले प्रस्तुत गर्नुभएको सुझावका सन्दर्भमा जवाफ दिने तयारीका लागि स्थायी समितिको बैठक बसेको छ । केन्द्रीय सदस्यले उठाएको जिज्ञासाको जवाफ अध्यक्ष दाहालले दिनेछन् । त्यसपछि आजै बैठक समापन गर्ने तयारी गरिएको छ । रासस