काठमाडौँ – काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले पानी वितरणमा विभेद गर्दा वर्षायाममा पनि भक्तपुर नगरपालिकाका केही स्थानमा खानेपानीको चरम अभाव देखिएको छ । केयुकेएलले नगरका केही स्थानमा दिन बिराएर पानी वितरण गर्दै आए पनि केही स्थानमा पाँच दिनको एकपटक, कतै हप्तामा एक दिन र कतै तीन हप्तामा एक दिन पानी वितरण गर्दै आइरहेको छ ।


ADVERTISEMENT


पानी वितरणमा यसरी विभेद गर्दा भक्तपुर–४ र ५ का विभिन्न टोलमा खानेपानीको चरम अभाव देखिएको हो । “तीन हप्ता भयो धारामा पानी आएको छैन । सबै ठाउँमा आउने हामीकहाँ मात्र नआउने भन्ने नि हुन्छ रु कति किनेर खानु ?”, भक्तपुर–४ की हीरादेवी श्रेष्ठले प्रश्न गर्दै भनिन्, “गत सातामै धारा खोल्नुपर्ने अहिलेसम्म आएको छैन । आज त धारा खोल्न आउँछ कि भनी आशैआशमा कति बस्नु धारा कुरेर ?”


ADVERTISEMENT

# # #


चुनावमा भोट माग्न आउँदा सबै समस्याको समाधान गर्ने वाचा गर्ने जनप्रतिनिधिले दैनिक अतिआवश्यक खानेपानीको व्यवस्था गर्न चासो नदिएको उनले गुनासो गरे । “कहाँ भन्न जाऊ खानेपानीको कार्यालय गए आज हाकिमसाब आउनुभएको छैन भन्छन् । अरु सबै ठाउँमा समयमै पानी आउने । हामीकहाँ मात्र नआउने । पानीमै पनि विभेद गर्छन् । पानी नपठाएपछि शुल्क पनि नलिनु नि । शुल्क भने समयमा तिरेन भने कर भार बोकाउने । यस्तो पनि हुन्छ ?” उनले भने ।

त्यसैगरी भक्तपुर–५ की मायादेवी लोहलाले धारामा पानी आउँछ कि भनी कुर्दाकुर्दा दिनै बित्ने गरेको दुःखेसो पोखे । “धारामा पानी आउने ठेगान छैन । आज आउँछ भोलि आउँछ भन्दाभन्दै तीन हप्ता भइसक्यो । पानीको समस्याले अरु काम नै लथालिङ्ग भइसक्यो”, उनले भने ।

वर्षायाममा पनि सार्वजनिक इनारमा पानी नहुँदा थप अभाव भएको उनले बताए । “वर्षायाम भए पनि इनारमा समेत पानी छैन । यो टोलमा धेरै पानीको समस्या छ, सबैले इनारको पानीमा भर पर्नुपर्छ । इनारमा पनि पानी छैन । पानीको समस्या बढ्न थालेपछि टोलका दुई–तीन घर मिलेर ट्याङ्करको पानी किनेर दैनिक गुजारा चलाउनुपरेको छ । किनेर कति साध्य ?”, उनले भने ।

केयुकेएलको लापरवाही र अनियमितताका कारण पनि नगरका अधिकांश क्षेत्रमा पानीको हाहाकार भएको बताइएको छ । बढ्दो खानेपानीको समस्याले सार्वजनिक ढुङ्गेधारा, इनार र पोखरीमा लुगा धुने पानी लिन आउनेको निकै चाप बढेको छ । हप्तौँसम्म धारामा पानी नपठाए पनि सम्बन्धित निकायलाई केही वास्ता नभएको जनगुनासो छ । नगरका इताछें, वंशगोपाल, भार्वाचो, तौमढी, पोटरीस्क्वायर, घट्खालगायतका ठाउँमा नियमित पाँच दिनमा एक दिन धारा आउँछ । नगरकै आर्दश, खँल्ला, दोगनमा भने तीन हप्तामा एक दिन पनि पानी आउँदैन ।

नगरका खँल्ला, दोगन, देउला टोलमा आउने पानी कटौती गरी अन्यत्र पठाउने गरेका कारण ती टोलमा पानीको चरम अभाव देखिएको हो । केयुकेएलका एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा भने, “सबैतिर पाँच दिनमा एक दिन पानी वितरण गर्नुपर्ने हो । तौमढीस्थित केही गेष्टहाउससँगको मिलेमतोमा चाबी नै उनीहरुको जिम्मा दिइराखेको छ । पानी आउने बेला बन्द गरिदिने गरेका कारण तौमढीदेखि तल्लो खँल्ला, दोगनटोलतिर पानी नआएको हो । यसमा कार्यालयकै कर्मचारीको हात छ ।”

नगरका अन्य टोलमा पाँच दिनको एक दिन पानी आउने पालो भए पनि नगरका ४ र ५ वडामा दुई हप्तामा एकपटक पानी पठाइने गरिएको छ । सो पानी पनि कटौती गरी नगरका अन्य ठाउँमा पठाउने गरेकाले ती स्थानमा चरम अभाव देखिएको स्थानीयवासीको भनाइ छ । केयुकेएलको शाखा कार्यालयले नगरलाई दुई भागमा विभाजन गरी बोडे पानी प्रशोधन केन्द्र र मुहान पोखरी स्रोत केन्द्र नगरकोटको पानी वितरण गर्दै आइरहेको छ ।

वर्षायाम होस् या सुक्खायाम, बोडेबाट भक्तपुर नगरमा दैनिक तीन घण्टा पानी पठाउने गरेको कार्यालयले जनाएको छ । नगरका सबै ठाउँमा पाँच दिनको एक दिन दुई घण्टा पानी वितरण गरिरहेको कार्यालय प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले जानकारी दिए । “नगरको टौमढीदेखि पश्चिम भेगमा बोडेको पानी पाँच दिन बिराएर र पूर्वी भागमा मुहान पोखरीको तीन दिन बिराएर वितरण गर्दै आइरहेका छौँ”, उनले भने ।

उनले नगरमा पानीको अभाव हुने समस्या अहिलेको नभएको बताए । उनले भने, “यो अहिलेको मात्र समस्या होइन वर्षौँ पुरानो हो ।” यसको दीर्घकालीन समाधानका लागि नगरका दुई स्थानमा ट्युबवेल खने पनि पानी पिउनयोग्य नभएपछि वितरण गर्न नसकिएको उनले बताए । “बढ्दो पानीको समस्या निराकरणका लागि दुईवटा डिप ट्युबवेल खने पनि पानीमा माटोको मात्रा बढी भएका कारण वितरण गर्न सकिएन”, उनले भने । उनले नगरका ४ र ५ वडामा पानी वितरणमा भएको अनियमितताका बारेमा अनुसन्धान गर्ने कर्मचारी दोषी देखिए कारबाही गर्ने प्रतिबद्धता जनाए ।

अझै दर्ता नभएका धारा सञ्चालनमा

भक्तपुरमा दर्ता नभएका निजी धारा छन् । स्थानीयवासीका घरघरमा जडान भएका धारा वर्षौँ भइसक्दा पनि केयुकेएल कार्यालयमा दर्ता भएका छैनन् । दर्ता नभएका धाराको लाइन काट्न पनि कार्यालयले सकेको छैन । ती धारा धनीले निःशुल्क पानी उपभोग गर्दै आइरहेको केयुकेएलले जनाएको छ । नगरलाई सफा बनाउने योजनाअनुरुप जर्मन आयोजनाले ढल विस्तार गर्ने क्रममा सर्वसाधारणले जोडेका धारा अझै दर्ता प्रक्रियामा आउन नसकेको कार्यालयले जनाएको छ ।

“ती धारा दर्ता प्रक्रियामा आउन कति अनुरोध गरेँ तर उपभोक्ता मान्दैनन्”, कार्यालयका एक कर्मचारीले भने, “निरीक्षणमा गए जथाभावी गाली गर्ने र कुटौँलाजस्तो व्यवहार गर्छन् । ज्यानकै जोखिम हुन्छ हामीले के गर्ने ? हाकिमहरु आउँछन् जान्छन् उनीहरुलाई त्यसबारे केही मतलब छैन । गाली खाने हामी कर्मचारी नै त हो नि । हामीले मात्र कति भन्नु । एक त समयमा पानी वितरण हुँदैन त्यसको रिस सबै हामीले खानुपर्छ ।” रासस