काठमाडौँ – नेकपा एमाले समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीले पार्टी फुटाउन बाध्य पारेको बताएका छन् । नयाँ दल दर्तापछि अपील जारी गर्दै उनले जनपक्षीय आचरणलाई बचाइराख्न नेकपा एमालेमा विद्रोह गर्नुपरेको बताउँदै अब नेमालेलाई नयाँ ढंगले पुनर्गठित र रूपान्तरित गर्ने अभियान चलाउनु आवश्यक भएको बताए ।


ADVERTISEMENT


राष्ट्र र जनताप्रतिको कर्तव्य पालनाबाट विमुख हुन नमिल्ने बताउँदै नेपालले नेपाली कम्युनिस्ट आन्दोलनले स्थापित गरेका देश र जनताप्रतिको सेवा भाव, राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानप्रतिको दृढ अडान, स्वच्छ संस्कार र क्रान्तिकारी अडान तथा समाजवादी ध्येयप्रतिको अटल विश्वासजस्ता असल मान्यतामा अडिइरहने बताए ।


ADVERTISEMENT

# # #


ओलीको गलत विचार र व्यवहारका कारण पार्टी गठन गर्ने अवस्था आएको बताउँदै उनले अदालतको फैसलाबाट नेकपा विभाजन भइसकेपछि साविकको एमालेको बैठक राख्नुपर्नेमा ओलीले त्यसो नगरेर ‘केन्द्रीय कमिटीको विशेष बैठक’ भन्ने नाम दिएर पार्टीभित्रको आफ्नो गुटको मात्र बैठक राखेर पार्टीलाई विभाजनको दिशामा लगेको आरोप लगाए ।

उनले भने, ‘नेकपा एमालेको नवौं महाधिवेशनका निर्णयहरू उल्ट्याउने, महाधिवेशनबाट पारित पार्टी विधानमा संशोधन गर्ने, महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको पद खारेज गर्ने जस्ता निर्णय गरी पार्टीलाई विभाजनततर्फ धकेलिदिनुभयो ।’