काठमाण्डौं- काठमाडौंमा कपडाको ब्यापार गर्ने तिब्बतियन नागरिक तेन्जिङ लामा भन्ने कुन्गा तेन्जिङ भुटिया असोज ३० गते बौद्ध एरियाबाट पक्राउ परे । सिआइबीलाई उनीसँग नेपाली नागरिकता र राहदानी छ भन्ने सुचना थियो । उनले ३ महिना अघि नागरिकता र राहदानी बनाएका थिए।


ADVERTISEMENT


अनुसन्धानपछि सिआइबीले लुगा ब्यापारी काठमाडाैं १६ नयाँबजार बस्ने कर्मा धिन्डुप घलेलाई गत कात्तिक ५ गते पक्राउ गर्यो ।कारण थियो, तिब्बतियन नागरिक भुटियालाई उनले नक्कली कागजात पेश गरी नागरिकता र राहदानी बनाइदिएको । घले पक्राउ परेपछि ताप्लेजुङ घर भइ हाल काठमाडौं ११ नम्बर बडामा कार्यरत सचिव रामप्रसाद पौडेल पनि पक्राउ परे ।


ADVERTISEMENT

# # #


उनले नै तिब्बतियन नागरिक भुटियालाई नागरिकता र राहदानी बनाउन सिफारिस गरेका थिए। घले र पौडेलले भुटियासँग मोटो रकम दिएर नागरिकता र राहदानी बनाइदिएको सिआइबीका निर्देशक पुष्कर कार्कीले बताए। घले गुम्बा तथा तिब्बेतियन मुलका मानिसहरुसँग पैसा लिएर नागरिकता बनाइदिने गिरोहका सदस्य भएको सिआइबीले दाबी गरेको छ ।

झुठा कागजात पेश गरेर उनले अन्य तिब्बतियनहरुलाई पनि नेपाली नागरिकता बनाइदिएको भन्दै सिआइबीले त्यसतिर पनि अनुसन्धान थालेको छ। उनीहरुलाई नागरिकता ऐन २०६३ अनुसार मुद्दा चलाइने कार्कीले बताए। कुनै पनि विदेशी नागरिकले झुठा विवरण दिई नेपाली नागरिकता प्रमाणपत्र लिएमा १ वर्षदेखि ५ वर्ष कैद वा २५ हजारदेखि १ लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी प्रावधान छ।

सनाखत वा सिफारिस गर्ने ब्यक्तिलाई ६ महिना देखि ३ वर्ष कैद वा २५ हजार देखि ५० हजार सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। नेपाली नागरिकताको प्रमाणपत्र दिने अधिकारीले जानी जानी वा बदनियत राखि यस ऐन अन्तर्गत वा यस ऐन विपरीत हुने गरी नेपाली नागरिकताको प्रमाणपत्र दिएमा त्यस्तो कर्मचारी वा पदाधिकारी उपर प्रचलित कानुन बमोजिम विभागीय कारवाही हुने नागरिकता ऐन २०६३ मा उल्लेख छ।