काठमाडौँ– केहि दिनयता देशका अधिकांश भागमा लगातार वर्षा भइरहने क्रम जारी छ । निरन्तर परेको वर्षाका कारण मौसम चिसो बन्न पुगेको छ । मौसमविद्हरुले शनिबारबाटै मौसममा सुधार आउने बताए पनि त्यसको कुनै छाँटकाँट देखिदैँन । जसकारण पनि अधिकांशले यसवर्ष अघिल्लो वर्षको तुलनामा छिट्टै जाडोयाम शुरु हुने अनुमान गरेका छन् ।


ADVERTISEMENT


चिसो मौसमकै कारण कतिपय व्यक्तिलाई चिसो लाग्ने, रुघाखोकीले सताउने र भाइरल ज्वरोसमेत देखिने सम्भावना उच्च रहन्छ । तसर्थ कोरोना महामारीको जोखिम समेत उत्तिकै रहिरहेको यस अवस्थामा हामीले हाम्रो शरीरमा कुनै पनि समस्याले नसताऊन् भन्नका लागि सजग रहनुपर्छ । यसका लागि हामीले बाहिरीभन्दा घरमा भान्सामा आफैले तयार पारेको खाना तथा खाद्य वस्तुलाई बढि प्राथमिकता दिनुपर्ने जन–स्वास्थ्यविद्हरु बताउँछन् ।


ADVERTISEMENT

# # #


यस्तै, चिसो मौसमका कारण कतिपयले तरल पदार्थको कम सेवन गर्ने भएकाले यस समयमा शरीरमा पानीको मात्रा नपुग्ने जोखिम पनि उस्तै रहन्छ । तसर्थ शरीरमा पानीको कमी नहोस् र बाहिरी चिसो वातावरणबाट बच्दै शरीरलाई स्वस्थ एवम् न्यायो राख्नका लागि हामीले प्रयोग गर्न सकिने सबैभन्दा उत्तम उपाय भनेको सुप हो । त्यसमा पनि शाकाहारी र मांसाहारी दुवै समूहले उपयोग गर्न मिल्ने सुप भनेको ‘मिक्स भेजिटेबल सुप’ हो ।

चिसो मौसममा तातो सुपले शरीरलाई न्यानो महशुस त, गराउँछ नै यससंगै यसको मिठो स्वादले जो कसैलाई लोभ्याउँछ । आउनुहोस्, यसरी घरमै तयार पारौँ भेजिटेबल सुप ।

आवश्यक सामाग्रीहरु

-१ कप मिक्स भेजिटेबल्स(हरियो सिमी, भेडे खुर्सानी, काउली, गाँजर वा आफ्नो इच्छा अनुसार)
-१ चम्चा भेनिगर वा कागति(दुईमध्ये एक)
-१ चम्चा मसिनो गरी काटिएको लसुन
-१ चम्चा बटर
-१ चम्चा मसिनो गरी काटिएको हरियो खुर्सानी
-हरियो धनियाँ आवश्यकता अनुसार
-१ ठुलो चम्चा कर्न फ्लावर
-पानी आवश्यकता अनुसार
-१/२ (आधा) चम्चा कालो मरिचको धुलो
-र, नुन स्वाद अनुसार ।

बनाउने तरिका

-सर्वप्रथम सुप बनाउनका लागि तयार गरिएको मिक्स भेजिटेबललाई मसिनो गरी काटेर पखालेपछि करिब ४–६ मिनेटजति पानीमा उमाल्ने
-भेजिटेबल उसिनेको पानीलाई एउटा भाडामा तार्ने/राख्ने
-अर्काे भाडामा/प्यानमा बटर तताउने
-बटर तातेपछि त्यसमा अघि काटेर राखेको लसुन हल्का ब्राउन हुने गरी भुट्ने
-लसुन ब्राउन देखिन थालेपछि मसिनो गरी काटेर राखेको हरियो खुर्सानी पनि त्यसैमा मिसाइदिने
-त्यसपछि अघि उसिनेको भेजहरु पनि त्यसमै मिसाएर फ्राई गर्ने
-करिब १ मिनेट जति भेजिटेबल फ्राई गरेपछि अघि उसिनेर तारेको पानी पनि त्यसैमा मिसाएर उम्लिनको लागि छोडिदिने
-पानी उम्लिएपछि त्यसमा मरिच र भेनेगर पनि हालेर फेरि एकछिन उम्लिन दिने
-एकछिन उमालेपछि अब त्यसमा स्वाद अनुसार नुन हालेर एकछिन चलाउने
-त्यसपछि सुपलाई हल्का बाक्लो बनाउनको लागि कर्न फ्लावरलाई ३ चम्चा जति पानीमा घोलेर सुप तयार भइरहेको भाडाँमा चलाउँदै चलाउँदै त्यसैमा मिसाइदिने ।अन्यथा नचलाई कर्न फ्लावर यतिकै मिसाएको खण्डमा त्यो डल्लो पर्ने सम्भावना रहन्छ ।
-त्यसपछि धनियाँ हालेर एक मिनेट जति उमालेपछि हाम्रो सुप तयार हुन्छ । र, यसरी तयार पारिएको सुप तात्तातोमै खाँदा एकदमै स्वादिष्ट हुन्छ ।