काठमाण्डौं- रेट्रोफिटिङ गरेर जोगाउन सकिने बागदबार भत्काउने काठमाडौं महानगरपालिकाको निर्णयको सर्वत्र आलोचना भएको छ । अमरसिंह थापाकालीन यो दबार मास्नुको साटो जोगाएर यहाँ पर्यटकीय गन्तव्य बनाउन सम्पदाप्रेमी, संस्कृतिविद् लगायतले आग्रह गरेका छन् । ‘बागदबार मात्रै होइन, कुनै पनि राणाकालीन दरबार मास्न पाइदैन । मास्नै लागेको सिंहदरबार समेत हामीले जोगायौं,’ सम्पदा अभियन्ता रविन्द्र पुरिले भने, ‘बागदबार भत्काउनु पर्ने कुनै कारण छैन । यसलाई सवलीकरण गरेर जोगाउनु पर्छ ।’ बागदरमा भन्दा कैंयो गुणा जीर्ण घर समेत मर्मत गरेर आकर्षक बनाएको पुरीले बताए । ‘हामीले सवलीकरण गरेर राम्रा बनाएका घरका नमुना हामी महानगरलाई देखाइदिन सक्छौं,’ पुरीले भने, ‘हामीले जोगाएका भवन देखेर महानगरलाई पनि संरक्षण गर्नु पर्छ भन्ने भाव जागोस् । इतिहास, सम्पदा, संस्कृति जोगाउने हो, मास्ने होइन ।’


ADVERTISEMENT


अमरसिंह थापाले बनाएको ऐतिहासिक बागदबार काठमाडौं महानगरपालिकाको प्रथम नगर परिषदले मास्ने निर्णय गरेको थियो । भीमसेन थापाका बुबा अमरसिंह थापाले बनाएको बागदरबार भुईचालोले क्षति पुर्‍याएको भन्दै महानगरले दुई वर्ष पहिला भत्काउने योजना बनाएको थियो । तर पुरातत्व विभागले रेट्रोफिट गरेर यसलाई जोगाउने सक्ने भन्दै भत्काउन दिएको थिएन । महानगरमा विद्यासुन्दर शाक्य मेयर हुनासाथ बागदरबार भत्काउने अभिव्यक्ति दिंदै आएका थिए ।


ADVERTISEMENT

# # #


बागदरबार भत्काउन लागेको समाचार सार्वजनिक भएपछि महानगर प्रमुख शाक्यले पत्रकार सम्मेलन गरी बागदरबार नभइ हरिदबार भत्काउन लागेको भन्दै नामै परिवर्तन गरिदिए । ‘जसरी पनि भत्काउन रातारात नामै फेरेछन् मेयरले,’ असनका रत्न श्रेष्ठले भने, ‘जसरी पनि मास्न अव सय वर्ष पुगेकै हैन प्रमाणित गराउन खौज्दैछन् ।’ अमरसिंह थापाको पालामा बनेको बागदरबार मासिएको मेयर शाक्यले दाबी गरे । ‘वाघदरबार यहीं थियो,’ उनले भने, ‘तर पछि बाघदबार मासेर जुद्ध शमशेरका छोरा हरिशम्शेरले नयाँ दरबार बनाए । त्यही भएर यो दरबार हरिदबार हो ।’ उनले यो दरबार १९९० सालको भुइचालो पछि बनेको तथ्य पनि पेश गरे ।

‘हालको भवन १९९० सालको भुकम्प पश्चात पुरानो दरबार भएको जगमा नभइ नयाँ स्थानमा निर्माण भएको, यो परम्परागत बागदरबार नभइ बागदरबारभित्र रहेको हरि भवन भएको र यो भवन पुरातात्विक भवन होइन,’ मेयर शाक्य भन्छन्, ‘किनभने यसमा प्रयोग भएका इटाहरुमा श्री ३ जुद्ध १९९१, श्री ३ जुद्ध १९९० लेखिएकोले यो भवन १९९० पछि नै बनेको हो प्रमाण रहेको छ । परम्परागत दबार र हालको भवन एकै नभइ फरक फरक भएको तथ्य झल्कने फोटाहरु समेत परामर्शदाताले पेश गरेको प्रतिवेदनमा छ ।’ महानगरले भवनको भुइगलको केही भाग इटा झिकेर अध्ययन गरेको थियो ।

पुरातत्व विभागले भने सय वर्ष ननाघे पनि राष्ट्रिय र अन्तराष्ट्रिय महत्वको दरबार जोगाउनु पुरातत्व विभागको दायित्व भित्र पर्ने जनाउँदै आएको छ । ‘सय वर्ष ननाघेका भए पनि ऐतिहासिक दरबार जोगाउनु पर्ने दायित्व पुरातत्व विभागको हो,’ विभागका प्रमुख संरक्षण अधिकृत दामोदर गौतम भन्छन्, ‘त्यही पनि यो प्राचीन दरबार हो ।’

‘बागदरबार भए पनि हरिदरबार भए पनि के फरक पर्छ रु यो राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा महत्वपूर्ण दरबार भएकाले जोगाउनु पर्ने पुरातत्व विभागले भनेको छ नि,’ श्रेष्ठ भन्छन्, ‘यसलाई जसरी पनि भत्काउनु पर्छ भन्ने दम्भ महानगरले सोचोस । राणकालकै भए पनि वास्तुकला जोगाउनु पर्छ । कालो इतिहास पनि भावी पुस्ताले थाहा पाउनु पर्छ ।’

भवनमालाई मासेर मल्लकालीन, राणाकालीन र आधुनीक गरी तीन खालको ‘फ्युजन’ गरेर बनाइने महानगरका इन्जिनियर प्रेमबहादुर श्रेष्ठले जानकारी दिए । भवनमा अहिले कुनै पुरातात्विक वस्तु नरहेको पनि मेयर शाक्यले दाबी गरे । ‘हाल बागदरबारमा कुनै पुरातात्विक वस्तु नभएको तर भवन भत्काउने क्रममा कुनै पुरातात्विक वस्तु फेला परेमा पुरातत्व विभागको प्रतिनिधीको रोहबरमा अभिलेख राखि त्यसको संरक्षण र व्यवस्थापन गरिनेछ,’ शाक्यले भने, ‘वागदरबार भवनको पुननिर्माण गर्दा प्रचलित कानुन र भवन निर्माण सम्बद्ध मापदण्ड र प्रक्रियालाई पूर्णत पालना गरिने छ । भवन निर्माण सम्बन्धमा सवद्ध अन्य निकायसँग समेत छलफल गरि पारदर्शी ढंगले काम गरिनेछ ।’

बागदरबारसँग विभिन्न कालखण्डको इतिहास जोडिएको छ । माथवरसिंहलाई उनकै भान्जा जंगवहादुरले १९०२ जेठमा गरे । उनको हत्या गराउने योजना राजा राजेन्द्र विक्रम शाहको थियो । माथवरको हत्या भएपछि बागदरबार फेरि सरकारीकरण भयो । वि सं १९०७ फागुनमा सुरेन्द्र विक्रम शाहको हत्या गर्ने योजना बनाएको आरोप उपेन्द्रविक्रम साहलाई लगाइयो । त्यही भएर उनलाई भारतको इलाहाबादमा नजरबन्दमा राखियो । उनलाई १९१० मा फेरि काठमाडौं ल्याइयो । उनलाई हनुमानढोका दरबारमा दाइसँग राख्न उचित नमानेर फेरि यही बागदरबारमै राखियो ।

उपेन्द्रपछि उनका छोरा धीरेन्द्रले यो दरबार प्रयोग गरे । उनको मृत्युपछि यसको प्रयोग भुपतेन्द्र विक्रमले गरे । उनको पनि मृत्यु पछि माहेनविक्रमले प्रयोग गरे । मोहनविक्रम धेरै जसो उपत्यका बाहिर बस्ने भएकाले यो दरबारमा यो दरबारमा उनका सौतेलो भाइ चौतरिया चन्द्र विक्रम शाहले प्रयोग गरे । पछि मोहनविक्रमले यो भवन भैरवशमसेरलाई विक्री गरे । पछि यसको स्वामित्व जुद्धशमशेरको छोरी ज्वाइ हरिशशमशेरले लिए ।

हरिशशमशेरको मृत्युपछि बागदरबार फेरि सरकरालाई विक्री गरियो । त्यसले चर्चेको जमिन भने अरुलाई नै विक्रि गरियो । अहिलेको त्रिपुरेश्वर देखि चाइना टाउन बनेको ठाउँसम्म यही दरबारको स्वामित्वमा थियो जमिन ।

जंगबहादुर राणा शक्तिमा आएपछि राजधानीका ठूला क्षेत्रफल आफ्नो नाममा गराए । त्यही क्रममा आफ्ना सन्तानका लागि भव्य महलहरु बनाउन शुरु गरे ।  जंगबहादुरले थुप्रै दरबार बनाउन लगाएका थिए । त्यसपछि बीर शमसेर, चन्द्र शमसेरले पनि बनाए । जंगबहादुर बेलायतबाट फर्केपछि युरोपियन शैली भित्र्याएका थिए । जंगबहादुले बबरमहल, थापाथली दरबार, थापाथली गोल वैठक लगायत निर्माण गरे । नारायणहिटी दरबार, सेतो दरबार, टंगाल दरबार, जावलाखेल दरबार, पानीपोखरी दरबार, हाँडि गाउँको भाटभटेनी दरबार, चारबुर्जा दरबार, लाल दरबार, फोहोरा दरबार, हात्तिसार दरबार, वीरगन्जको मुडुला दरबार बनाएका थिए । चन्द्र शमसेरले सिंहरदरबार, लक्ष्मीनिवास, केशरमहल, शितल निवास, श्रीदरबार, हरिहर भवन लगायत बनाएका थिए ।

राणाकालीन समयमा ४५ वटा भवन बनेको तथ्यांक छ । त्यसमध्ये ३० वटा दरबार विशेष आकर्षक र कलात्मक तरिकाले बनेका थिए । राष्ट्र बैंक प्रयोग गरेको थापाथली दरबार र बालुवाटारको ललिता भवन मात्रै भत्काउन पुरातत्व विभागले अनुमति दिएको छ । अरु भवन ‘रेक्टोफिटिङ’ गर्न सकिने अवस्थामा रहेको पुरतात्व विभागले जनाएको छ सहरबार पनि सवलीकरण गरिने भएको छ । यो बर्खामा यो दरबारलाई पनि प्लाष्टिकले छानो छोपिएको छ । गत वर्ष भने खुलै थियो । ‘थापाथली दरबार पनि मास्नु पर्ने थिएन,’ पुरी भन्छन्, ‘तै पनि भत्काएरै छाडे । मासेरै छाडे ।’

इतिहासकार पुरुषोत्तम शमशेर रााणाले बागदबार अमरसिंह थापाकालीन भएको बताए । ‘यसमा थपघट त भएकै हुन्,’ उनी भन्छन्, ‘थपघट भएपनि यो बागदबार नै हो ।’

यि दरबार मास, चाकु, सरेस, सुर्की, पिना, चुन जस्ता परम्परागत निर्माण सामग्री प्रयोग गरेर बनाइएका हुन् । सिमेन्ट प्रयोग गरिएका छैनन् । अहिले प्रयोग गरिने सिमेन्टको साटो मास, चाकु, सुर्की, पिना, चुन जस्ता सामगी्रको लेप बनाएर इटामा जोडिएका छन् । यसलाई पुननिर्माण गर्दा पनि यही प्रविधि प्रयोग गरेर गुर्न पर्छ ।

सबै दरबारहरु वास्तु विधान अनुसार बनाइएका छन् । दरबारहरु सुविधायुक्त छन् । ऐस आराम र सुरक्षा, र वातावरणको दृष्टिले पनि उच्चकोटीका छन् । गाह्रो ठूलो र मोटो प्रकारको छ । १ मिटरदेखि डेढ मिटर सम्म चौंडा छन् गारो । ठूलो र मोटो गाह्रो भएकाले भित्र त्यति चिसो तातो हुँदैन । गर्मीमा पनि बस्न सकिने, जाडोमा पनि बस्न सकिने खालको छ भित्रको वातावरण । भित्र ठाउँ ठाउँमा करिडर छन् । करिडरबाट सितल हावा प्रभाह हुन्छन् । घरमा भित्र पनि ठाउँ ठाउँमा चोक छन् । चोकको वरिपरि वरन्डा राखिएका छन् । बरण्डाबाट प्रत्येक कोठामा जाने बाटो जोडिएका हुन्छन् ।

ढोकाका शैली पनि उस्तै किसिमका छन् । भित्रपटि र बाहिरपटि दुई किसिमका ढोका राखिएका छन् । एउटा ढोकामा शिशा राखिएका छन् । शिशा भएको ढोका बन्द गर्दा प्रकाश आउँछ । प्रकाश पनि आउने, चिसो पनि नपस्ने हिसाबले यि ढोकामा शिशा राखिएका हुन् ।

अर्को काठको वतासी ढोका हुन्छ । यो ठोका लगाएपछि तल के भइरहेको छ भनेर हेर्न मिल्छ । माथि के भइरहेको छ भनेर तलबाट भने हेर्न मिल्दैन । बीचमा आँगन छन् । आँगनमा ढुंगा छापिएका छन् । यही आँगनमा बसेर राणाहरु न्याय निसाफ दिने काम गर्थे । जनतालाई भेट्ने काम पनि यही ठाउँमा हुन्थ्यो । वीच वीचका चोकमा पनि पनि बस्न स्थान बनाइएका छन् । त्यहाँ जाडोमा घाम ताप्न आनन्ददायक मानिन्छन् । बोट विरुवा पनि कलात्मक पाराले रोपिएका छन् । लिलि, कपुर, आँप, निवुवा, भोगटे लगायतका विरुवा छन् । राणाकालीन दरबारहरुमा यि फल अझै फलिरहेका भेटिन्छन् कतै कतै ।

दरबारका मुख्य ढोका एउटै हुन्छन् । चारैतिर कम्पाउन्ड वालले घेरिएका छन् । ठूला कर्मचारी, साना सेवक, भाइ भारदार बस्ने छुट्टा छुट्टै कोठा र चोक बनाइएका छन् । सबैजसो भवनको माथि उक्लन काठको भर्‍याङ छन् । कुनै भवनमा फलाम प्रयोग गरेर घुम्ने भर्‍याङ पनि बनाइएका छन् । छाना कतै टिनको र कतै झिंगटीको लगाइएका छन् । अधिकांश भवनका बाहिरी भागमा सेतो रङ लगाइएका छन् । ‘राणाकालीन दरबार उच्च कोटीका घर हुन्,’ प्राचीन दरबारको अध्ययन गरिरहेकी चन्दा राणा भन्छिन्, ‘आउदा देखाउन पनि यसको संरक्षण गर्नु पर्छ । यसलाई सक्ने जति जोगाउनु पर्छ । तर मास्न षडयन्त्र भइरहेको छ । इन्जिनियरिङ खर्च बढी लाग्छ भनेर यसलाई भत्काउने प्रपन्च रच्न सक्छन् । त्यही भएर हामी यसलाई कसरी जोगाउने भनेर खबरदारी गरिहेका छौं ।’ -आजको कान्तिपुरबाट