काठमाण्डौं- लेबनानमा १० वर्षदेखि घरेलु श्रमशोषणमा रहेकी नेपाली युवतीलाई त्यहाँको प्रहरीले उद्धार गरी नेपाल फर्काएको छ । मालिकद्वारा घरमै लुकाएर राखिएकी कालिका गाउँपालिका, रसुवाकी ३१ वर्षीया सोनाम मोक्तानलाई लेबनान प्रहरीले उद्धार गरी नेपाल पठाएको हो । मोक्तान रित्तै घर फर्किएकी छन् । उनले तलबबापत मात्र ३३ हजार अमेरिकी डलर (झन्डै ३४ लाख ६४ हजार रुपैयाँ) पाउनुपर्ने थियो । लेबनानी मानव अधिकारवादीको चर्को दबाबपछि प्रहरीले मालिकको घरबाट सोनामलाई उद्धार गरेको थियो । सोनामलाई मालिक (स्पोन्सर) ले भिसा नलगाई गैरकानुनी हैसियतमा राखेको थियो । उनलाई दुई सातासम्म डिपोर्टेसन सेन्टरमा राखेर नेपाल पठाइएको हो ।


ADVERTISEMENT


लेबनानी अधिकारवादीले गैरकानुनी हैसियतमा राख्ने मालिकलाई कारबाही नगरेको र घरेलु कामदारलाई दुई सातासम्म डिपोर्टेसन सेन्टरमा थुनामा राखेको भन्दै प्रहरीको समेत आलोचना गरेका थिए । सोनाम सन् २००७ मा लेबनान गएकी थिइन् । उनी लेबनानको जुविलस्थित डा. वुट्रोस आवुजोनका घरमा काम गर्दै आएकी थिइन् ।


ADVERTISEMENT

# # #


पीडितका परिवारले दुई वर्षअघि सोनामको खोजी गर्न परराष्ट्र मन्त्रालय र लेबनानस्थित अधिकारवादी संस्थाहरूलाई अनुरोध गरेका थिए । अधिकारवादीहरूले सोनामको अवस्था र मालिक पत्ता लगाएर उद्धार गरी नेपाल पठाउन जनरल सुरक्षा महानिर्देशनालयलाई निरन्तर दबाब दिएका थिए । इजिप्टस्थित नेपाली दूतावासले पनि सोनामका विषयमा लेबनान सरकारको ध्यानाकर्षण गराएको थियो । सोनामको खोजी हुन थालेपछि स्पोन्सर आवुजोनले आफ्नो घरबाट भागेको भन्दै भाइ हसनका घरमा लुकाएर राखेका थिए ।

‘मलाई आमा, भाइसँग नियमित सम्पर्क गर्न पनि दिँदैनथे । वर्षमा एक–दुई पटक मात्रै कुरा गर्न दिइन्थ्यो । भूकम्पपछि पनि फोन गर्न दिएन, तेरा सबै आफन्तको मृत्यु भयो भन्दै नेपाल नफर्कन दबाब दियो,’ काठमाडौं आइपुगेपछि सोनामले सुनाइन्, ‘म जाने ठाउँ पनि थिएन । किनकि मेरो राहदानी थिएन । मालिकले अब नेपाल जान पाउँदिनस् भन्थ्यो । अब नेपाल आउन नपाउने भएँ भनेर दुस्खी भएर बसेकी थिएँ ।’

सोनामले नेपाल फिर्ने बेला मालिकले एक हजार डलर दिएको बताइन् । तर त्यो पैसा पनि उनले घर ल्याउन पाइनन् । ‘त्यसमध्ये ९ सय डलर विमानस्थलमा चेक गर्ने प्रहरीले लिइदियो,’ उनले भनिन्, ‘नेपाल आइपुग्दा एक सय डलर मात्रै हातमा भयो ।’ उनको सुरुको करारपत्रमा मासिक एक सय ३० डलर तलब पाउने उल्लेख छ । नियमअनुसार दुई–दुई वर्षमा तलब वृद्धि भई आउने बेलासम्म मासिक ३ सय डलर पुगेको थियो । परिवारका अनुसार सोनामका मालिकले दस वर्षमा ४५ सय डलर मात्रै पठाइदिएका छन् । आवुजोनले भने आफूले सोनामलाई पाउनुपर्ने पूरै तलब नियमित पठाइदिएको दाबी गरेका छन् । ‘सोनामको राहदानी नवीकरण भएन । इजिप्टमै गएर राहदानी अडकियो,’ सोनामका मालिक आवुजोनले भने, ‘मैले दिनुपर्ने तलब, बोनस सबै दिइसकेको छु ।’

सोनामले आफूले पाउने तलब दिलाइदिन परराष्ट्र मन्त्रालयको त्रिपुरेश्वरस्थित कन्सुलर विभागमा निवदेन दिएकी छन् । ‘सोनाम अझै डराएकी छन् । सबैसँग खुलेर बोल्न सक्तिन,’ नेपाल ल्याउन दुई वर्षदेखि काम गरिरहेका सञ्जय ब्लोनले भने । सोनामलाई लेबनानबाट उद्धार गर्न स्थानीय अधिकारवादीसँग समन्वय गरेका दीपेन्द्र उप्रेतीले अदालतमा मुद्दा हाले तलबसहित क्षतिपूर्ति पाउने अवस्था रहेको बताए । ‘दूतावासले वकिल नियुक्त गरे सोनामले बाँकी तलब पाउने स्थिति छ,’ उनले भने ।

लेबनान मामिला हेर्ने इजिप्टस्थित नेपाली राजदूत झवीन्द्र अर्यालले सोनामले पाउनुपर्ने तलबसहितको क्षतिपूर्तिबारे लेबनानी निकायसँग सोधपुछ भइरहेको बताए । ‘सुरक्षा महानिर्देशनालयको कार्यालयमा सोनामले सबै तलब पाइसकेको भनेर हस्ताक्षर गरेको कागज छ । नपाएको भए दिलाउन थप प्रयास गर्नेछौं,’ राजदूत अर्यालले कान्तिपुरलाई भने । सोनामकी आमा छिर्तु मोक्तानले माया मारिसकेकी छोरीको आगमनले निकै खुसी तुल्याएको बताइन् । ‘यो जुनीमा सोनामलाई भेट्न जुर्दैन जस्तो लागेको थियो,’ २७ अक्टोबर काठमाडौं आइपुगेकी सोनामलाई सुम्सुम्याउँदै उनले भनिन्, ‘जजसले मेरी छोरीलाई पठाउन सहयोग गरे, म उहाँहरूप्रति ऋणी छु । मेरो धन्यवाद छ ।’ -आजको कान्तिपुरबाट