काठमाडौँ – विगत केही समयदेखि नेपाल टेलिकमका मोबाइल नम्बरमा विदेशी नम्बरसम्बन्धी समस्याबारे कम्पनी बोलेको छ ।


ADVERTISEMENT


विदेशबाट मिस्डकल आउने र सो नम्बरमा कल गर्दा कल सफल भएपनि कोही नबोल्ने, मेसिनले स्वचालित जवाफ दिने र कल गर्ने ग्राहकको व्यालेन्सबाट पैसा काटिने समस्या देखिँदै आएको थियो ।


ADVERTISEMENT

# # #


यस्तै कम्पनीको मोबाइल सेवाका ग्राहकहरुको मोबाइलबाट अटो डायल हुने, अटो डायल भएका ग्राहकको मोबाइलमा कल लग नदेखिने र बाह्य कल सफल भएको अवस्थामा पैसा काटिने हुन्थ्यो । तर, यस्तो समस्या ग्राहकको मोबाइलमा रहेको कुनै एप वा वेबसाइटको माध्यमबाट हुनसक्ने टेलिकमले शंका गरेको छ ।

टेलिकमले आफ्ना ग्राहकलाई आफ्नो मोबाइल सेटमा अनावश्यक र शंकास्पद एपहरु इन्स्टल नगर्न वा हटाउनु हुन अनुरोध गरेको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको कम्पनीले जनाएको छ ।

जारी विज्ञप्तीमा भनिएको छ, ‘सामान्यतया कम्पनीका उपकरणबाट यस्ता अनधिकृत कलहरु नहुने भएता पनि कम्पनीका ग्राहकवर्गको सुविधाका लागि सम्भवतः कुनै एप तथा वेबसाइटमार्फत हुनसक्ने यस्ता अनधिकृत कार्यका सम्बन्धमा कम्पनीका तर्फबाट आवश्यक विश्लेषणको कार्य भइरहेको छ ।’

अनधिकृत र अनावश्यक कल हुनसक्ने अवस्थाबाट बच्नका लागि ग्राहकवर्ग पनि सतर्क रहनु आवश्यक रहेको टेलिकमको भनाई छ र कम्पनीले उपलब्ध गराउने लकिङ कोड प्रयोग गरी आवश्यक परेको समयमा आइएसडी सेवा खोली कल गर्ने र आवश्यक नहुने समयमा सो सेवा पुनः बन्द गर्न सकिने विकल्प उपयोग गर्न समेत टेलिकमले आग्रह गरेको छ ।