काठमाण्डौं- नेपाल-भारत संयुक्त अनुगमन संयन्त्रको दोस्रो बैठक कात्तिक २२ गते काठमाडौंमा आयोजना हुने भएको छ । भारतको सहयोगमा नेपालमा निर्मित परियोजना कार्यान्वयनमा देखिएका समस्या पहिचान गरी समाधानका लागि ठोस निर्णय लिन बैठक बस्न लागेको हो ।


ADVERTISEMENT


भारतीय लगानीमा निर्माण सुरु भएका दर्जनौं परियोजना अझै सम्पन्न भएका छैनन् । कतिपय परियोजना भारतका सर्तका कारण अघि बढेका छैनन् । पञ्चेश्वर बहुउद्देश्यीय परियोजना निर्माणका लागि २० वर्षअघि दुई देशबीच सहमति भए पनि भारतले महाकाली नदीको पानी समान रूपमा बाँडफाँट गर्न मानेको छैन ।


ADVERTISEMENT

# # #


जलविद्युत् र सिँचाइका लागि उपयोग हुने पानीमा भारतले बढी दाबी गरेका कारण हालसम्म पनि पञ्चेश्वरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुन सकेको छैन । ‘भारतलाई बढी लाभ हुनेगरी पञ्चेश्वर परियोजना अघि बढ्न सक्दैन ।

दुवै पक्षलाई समान लाभ हुने परियोजना अघि बढाउन भारत अहिलेसम्म तयार देखिएको छैन, ऊर्जा मन्त्रालयका एक अधिकारीले भने । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा पञ्चेश्वरको डीपीआर एक महिनामा तयार गर्ने सहमति भएको थियो । ‘भारतीय सर्तका कारण यो परियोजनाको डीपीआर तत्काल बन्न सम्भव छैन । भारत आफ्नो अडानबाट ब्याक हुन तयार छैन, ती अधिकारीले भने । बैठकमा अरुण तेस्रो परियोजना, माथिल्लो कर्णाली परियोजना, हुलाकी राजमार्ग र नेपाल भारत सीमापार रेल परियोजना निर्माणमा भइरहेका प्रगति र ती परियोजनामा देखिएका समस्याबारे छलफल हुने भएको छ ।

भारतीय लगानीमा ऊर्जा, जलस्रोत, पूर्वाधार, पर्यटनलगायत क्षेत्रमा सञ्चालित परियोजनाको अनुमगन गर्न, परियोजनामा देखिएका समस्या सम्बोधन गर्न र तिनको समयबद्धरूपमा छिटो हल गर्न उक्त संयन्त्र बनेको थियो ।
परराष्ट्र सचिव शंकरदास बैरागी र नेपालस्थित भारतीय राजदूतले संयन्त्र बैठकको सहअध्यक्षता गर्छन् । परराष्ट्र, वाणिज्य, ऊर्जा, अर्थ र भौतिक योजना मन्त्रालयका प्रतिनिधि नेपालका तर्फबाट सहभागी हुन्छन् भने भारतका तर्फबाट भारतीय दूतावासका प्रतिनिधि सहभागी हुने गरेका छन् । -आजको अन्नपूर्णबाट