काठमाण्डौं- अटोमेटिक पेस्तोल र ५१ राउन्ड गोलीसहित १५ गते राजधानीमा दुई भारतीय पक्राउ परेको भोलिपल्टै पोखराबाट पनि तीन जना भारतीय नै पक्राउ परे । पोखरामा पक्राउ परेका उनीहरू भारतमा हत्या, अपहरण र असुलीमा विभिन्न मुद्दा खेपिरहेका व्यक्ति भएको प्रहरीको भनाइ छ ।


ADVERTISEMENT


राजधानीको कमलादीस्थित हेरिटेज प्लाजामा रहेको ज्याक डेनिस डान्स बारमा गोली चलाएपछि भारत लुधियानाका जसवीर सिंह र देवेन्द्र सिंह पक्राउ परेका थिए । प्रहरीले उनीहरूबाट अटोमेटेड पेस्तोल, ५१ थान ७ दशमलव ६५ एमएमको गोली र ७५ हजार भारु बरामद गरेको थियो । स्रोतका अनुसार पोखराबाट पक्राउ परेका भारतीयविरुद्ध भारतको राजस्थान प्रहरीमा थुप्रै मुद्दा छन् । राजस्थान प्रहरीकै सूचनाका आधारमा उनीहरू पोखराबाट पक्राउ परेका थिए । काठमाडौंबाट पक्राउ परेका दुई भारतीय भने कुन उद्देश्यले त्यत्ति धेरै गोलीसहित नेपाल छिरेका थिए भन्नेबारे प्रहरीले खुलासा गरेको छैन । चुनावका बेला हतियारसहित र हतियाररहित भारतीय अपराधी धमाधम पक्राउको घटनाले सुरक्षा निकायको नेतृत्व तहलाई नै गम्भीर बनाइदिएको छ । नेपाल प्रहरीको प्रतिआतंकवाद सेलमा कार्यरत एक अधिकारीका अनुसार चुनावी सुरक्षाका निम्ति यो नयाँ चुनौती हुन सक्छ ।


ADVERTISEMENT

# # #


यसअघि २२ असोजमा पनि काठमाडौंको जोरपाटीबाट भारत रक्सौलका सार्प सुटर दीपकुमार श्रीवास्तव र रञ्जनकुमार यादव पक्राउ परेका थिए । प्रहरीको आतंकवाद हेर्ने विशेष ब्युरोको टोलीले उनीहरूलाई समातेको थियो । हतियारसहित पक्राउ परेका उनीहरू ‘कुनै योजनासाथ कसैको हत्याका निम्ति काठमाडौं आएको हुन सक्ने’ प्रहरीको अनुमान छ । एक महिना अवधिमा हतियारसहित र हतियाररहित ७ भारतीय पक्राउको पछिल्लो घटनाले अवराधीले खुला सीमाको दुरुपयोग कसरी गरिरहेछन् भन्ने देखाउँछ । पछिल्ला वर्ष नेपालमा अपराध गरेर भारतका विभिन्न सहरमा लुक्ने र उतैका भाडाका सार्प सुटर प्रयोग गरेर नेपालमा धन्दा चलाउनेहरूको समूह सक्रिय देखिन थालेका छन् ।

गत पुसमा रूपन्देहीमा एमाले भ्रातृ संगठन युवासंघ जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्यापछि मनोज पुन समूह चर्चामा आएको थियो । भारतमा बसेर फिरौती र असुली धन्दा चलाइरहेको उक्त समुहले नै हत्या गरेको निष्कर्ष प्रहरीको थियो । त्यसयता यही समूहले गत चैतमा गौरीघाटमा गुन्डा दावा लामामाथि गोली प्रहार गरेको थियो । उच्च प्रहरी अधिकारीका अनुसार भारतीय आपराधिक समूहसँग नेपालका आपराधिक समूहको सम्बन्ध बन्न सक्ने खतरा सबैभन्दा धेरै छ । ती अधिकारीले भने, ‘अन्तरदेशीय आपराधिक समूहहरूको सम्बन्धका कारण हतियारसहित नेपाल भित्रिने भारतीयको संख्या बढ्न सक्छ ।’

हतियारसहित नेपाल छिर्नेहरू सुरक्षा चुनौती हुन सक्ने भन्दै नेपाली सेनाभित्र पनि छलफल चलेको छ । स्रोतका अनुसार बिहीबार जंगीअड्डामा बसेको नेपाली सेनाका पृतनापतिहरूको चुनावी सुरक्षा केन्द्रित छलफलमा समेत भारतीय सार्प सुटरको बढदो आगमन र खुला सीमाबारे कुरा उठेको थियो । पृतनापतिहरूले हतियारसहित सजिलै नेपाल छिर्ने सार्प सुटरसमेत चुनावी सुरक्षाका निम्ति चुनौती भएको कुरा उठाएको स्रोतले बतायो । काठमाडौंमा हतियारसहित भारतीय पक्राउपछि गृह मन्त्रालयले खुला सीमा हुँदै भारतबाट आउने अपराधी चुनावी सुरक्षाका लागि चुनौती हुन सक्ने आकलन गरेको छ । स्रोतका अनुसार काठमाडौंमा हतियारसहित भारतीय पक्राउको घटनापछि मन्त्रालयले प्रहरी अधिकारीलाई नाकाहरूमा कडाइ गर्न निर्देशन दिएको छ ।

पूर्वडीआईजी हेमन्त मल्लले खुला सीमाको फाइदा उठाउँदै भारतीयहरू हतियारसहित नेपाल पस्ने गरेको बताए । सुरक्षा जाँचमा कडाइ, प्रभावकारी सुराकी र अनुसन्धान नभएसम्म समस्या नरोकिने उनको भनाइ छ । मल्लले भनेजस्तै काठमाडौंमा भएका ठूला हत्यामा भारतीय सार्प सुटर प्रयोग भएका पनि छन् । २०६७ फागुनमा भारतीय सार्प सुटर मनमित सिंह भाटिया केन्द्रीय कारगार छिरेर कैद भुक्तान गरिरहेका युनुस अन्सारीमाथि गोली दागेका थिए । २०६८ असोज ९ गते काठमाडौंको घण्टाघर नजिकै इस्लामी संघ नेपालका महासचिव फैजान अमद अन्सारीको गोली हानी हत्या गर्ने काममा भारतीय कन्ट्रयाक्ट किलरको प्रयोग भएको प्रहरी निष्कर्ष थियो ।

भारतीय भाडाका अपराधी प्रयोग गरेर नेपालमा गराइएका हत्यालगायत घटनाको फेहरिस्त लामै छ । पूर्वडीआईजी मल्लका अनुसार हतियारसहित नेपालमा समातिएकाहरूले के टार्गेट गरिरहेका थिए र तिनीहरू कस्तो समूहबाट परिचालित हुन् भनेर राम्ररी अध्ययन गर्न जरुरी छ । घटनापछि छानबिन समिति बनाउने र रिपोर्ट तयार पार्ने कामबाट मात्रै केही नहुने उल्लेख गर्दै उनले भने, ‘विद्यमान सुरक्षा योजनामाथि नै पुनर्विचार गर्नुपर्ने हुन सक्छ ।’-आजको कान्तिपुरबाट